नेकपा महासचिव विप्लवद्वारा व्यवस्था परिवर्तनका विषयमा खुल्ला बहसका लागि अपिल

नेकपा महासचिव विप्लवद्वारा व्यवस्था परिवर्तनका विषयमा खुल्ला बहसका लागि अपिल

चितवन : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले वैज्ञानिक समाजवाद र दलाल संसदिय व्यवस्थाका विषयमा खुल्ला छलफल गर्नुपर्ने र त्यसको लागि तयार रहन सम्पूर्ण राजनीतिक दल, बुद्धिजिवी, कर्मचारी, शिक्षक, व्यवसायी लगायत आम जनसमुदायमा अपिल गरेका छन् ।

शनिबार नेपाल कम्युनिस्ट पार्टी चितवनले आयोजना गरेको सहिद परिवार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेपालका सबै राजनीतिक दलको अन्तिम लक्ष्य समाजवाद भन्ने तर प्राप्तिको लागि बहस छलफल गर्न समेत तयार नहुने भन्दै जनताको आँखामा छारो हाल्ने र भ्रम सिर्जना गर्ने यसप्रकारको काम बन्द गर्न आग्रह समेत गरे । उनले संसदीय व्यवस्थाको उच्चतम विकल्प वैज्ञानिक समाजवादका विषयमा बहस तथा जनमत संग्रहका लागि तयार रहन अपिल गरेका हुन् ।

उनले हालको संसदीय व्यवस्था पूर्ण रुपमा असफल भएको भन्दै आफूहरु असफल दलाल संसदीय व्यवस्थामा कुनै पनि हालतमा नजाने र वैज्ञानिक समाजवादका लागि निरन्तर बहस र संघर्ष गरिरहने समेत बताएका छ्न् । उनले भने, -‘संसदीय व्यवस्था दलाल पुँजीवादीहरुको व्यवस्था भएकोले ४० वर्षदेखि चलेपनि पूर्ण रुपमा असफल भएको र यही व्यवस्थाका कारणले आज जनताले दुख पाइरहेको, देशमा वैदेशिक हस्तक्षेप बढेको, दिनदहाडै राष्ट्रिय स्वाधिनता र अस्मिता लुटिएको, महंगी भ्रष्टाचारमा व्यापक बुद्धि भइरहेको, देशले गरिबी भोग्नु परिरहेको र नेपाली युवायुवती खाडीमा बेचिनु परेको छ, त्यसैले हामी यो असफल दलाल संसदीय व्यवस्थामा जाँदैनौ र यो व्यवस्था परिवर्तन गरि जस्तो सुकै मूल्य चुकाएर भए पनि जनताको र सहिद परिवारहरुले खोजेको जस्तो वैज्ञानिक समाजवाद ल्याउने छौं र वैज्ञानिक समाजवाद ल्याउन दलाल संसदीय व्यवस्था बदल्न सबै एकजुट भएर लागौं ।’

महासचिव विप्लवले आफूहरु शान्तिपूर्ण बाटोबाट नै वैज्ञानिक समाजवाद ल्याउन खोजेको र त्यसको लागि जनमत संग्रहको प्रस्ताव ल्याएको तर यस विषयमा छलफल गर्न कुनै राजनैतिक दलहरु तयार नभएको बताएका छ्न् । उनले भने, -‘हामीले शान्तिपूर्ण बाटोबाट यस दलाल संसदीय व्यवस्थाको विकल्प स्वरुप वैज्ञानिक समाजवाद ल्याउन चौतर्फी बहस चलाउनुका साथै वैज्ञानिक समाजवाद र संसदिय व्यवस्थाका बिच जनमत संग्रहको प्रस्ताव ल्यायौँ तर जनताको आँखामा छारो हाल्ने किसिमले बाहिर समाजवाद/ समाजवाद भन्ने अनि संसदीय व्यवस्थालाई नै उत्कृष्ट व्यवस्था मान्नेहरु बहसमा भाग लिन तयार भएनन् ।’

उनले संसदीय व्यवस्था अनुरुप नेता र पार्टी चुन्ने चुनाव बारम्बार भएको तर त्यसले देशको उचित राजनैतिक निकास दिनुको उल्टो देश झन् राजनैतिक अस्थिरतामा फस्नुको साथै विस्तारवाद र साम्राज्यवादको क्रिडा स्थल बन्न पुगेको भन्दै अब नेता र पार्टी चुन्ने चुनाव नभइ व्यवस्था छान्ने जनमतसंग्रह हुनुपर्ने र जनताले आफूले खोजेको जस्तो व्यवस्था आफै छान्न पाउनु पर्ने समेत बताए ।

साथै उक्त कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव विप्लवले ओली सरकारले नेपाल कम्युनिस्ट पार्टीलाई प्रतिबन्ध लगाउनु गलत भएको बताएका छ्न् । उनले सर्वोच्च अदालतले समेत दोषी ठहर गरेको एनसेललाई कारबाही गर्नु, नेपाली युवायुवतीलाई विदेशमा पुर्याएर अलपत्र पार्ने, चेलीबेटी बेचविखन गर्ने मानवतस्करीलाई कारबाही गर्दा, ललिता निवासको सरकारी जमिन बेचबिखन गर्नेलाई कारबाही गर्दा र भ्रष्टाचारीलाई जनताको चाहाना अनुसार जनकारबाही गर्दा प्रतिबन्ध लगाउनु सरकारको गल्ती भएको बताएका हुन् । उनले क्रान्तिमा लागेर नेताकार्यकर्ता मारिन सक्ने, गिरफ्तार पर्न सक्ने तर क्रान्ति र विचार कहिल्यै पनि नसकिने, नमर्ने बताएका छ्न् । उनले भने, -‘सरकारले हामीलाई प्रतिबन्ध लगाएर १/२ महिनामा सकाउँछौ भन्ने घमण्ड देखायो तर क्रान्तिमा लागेका नेता कार्यकर्ता मारिन सक्छन्, गिरफ्तारमा पर्न सक्छन् तर क्रान्ति र विचार कहिल्यै कसैले मार्न सक्दैनन् ।’

आफ्ना करिब सवा सय नेता कार्यकर्ता अझै पनि जेल हिरासतमा रहेको भन्दै विप्लवले उनीहरुलाई तत्काल रिहा गरी सरकारसँग भएको ३ बुँदे सहमति कार्यान्वयनमा इमान्दारी देखाउन आग्रह गरे । यसैबिच वार्ताकै विषयमा बाहिर छरिएका भ्रमहरुमा विश्वास नगर्न सम्पूर्ण नेता कार्यकर्ता र शुभचिन्तकहरुमा आग्रह गर्दै पार्टी र सरकार बिच भएको तीन बुँदे सहमतिबारे प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :