महिला मुक्तिका विषयमा

अनुवाद : अनिल शर्मा

महिला मुक्तिका विषयमा

कन्फ्युसियसले भनेका थिए, ‘नारीहरू र दलितहरूलाई पाल्न गाह्रो हुन्छ । तपाईंले उनीहरूलाई नजिक पर्न दिनुहुन्छ भने उनीहरूले तपाईंप्रति कुनै सम्मानभाव प्रकट गर्ने छैनन् र उनीहरूलाई टाढा राख्नुभयो भने गनगन गरिरहनेछन् ।’

कन्फ्युसियसले महिलाहरू र दलितहरूलाई एउटै दृष्टिले हेरेका छन् । महिलाहरूको कुरा गर्दा कन्फ्युसियसले आफ्नी आमालाईसमेत महिलाभित्र राखेका छन् कि छैनन् भन्ने कुराचाहिँ स्पष्ट छैन । यद्यपि कन्फ्युसियसका कट्टरपन्थी अनुयायीहरू आफ्नी आमालाई सम्मान गर्थे तर ती आमाहरूलाई आज पनि चीनमा अपहेलना गरिन्छ जो उनीहरूकी आमा होइनन् ।

अनुवाद : अनिल शर्मा

सन् १९११ को क्रान्तिपछि राज्यसत्तामा साझेदारीका क्रममा कुमारी सेन पेजनले संसद् भवनको ढोकामा एकजना सुरक्षा पालेलाई धक्का दिएकी थिइन् । मलाई के आशङ्का छ भने त्यो पाले आफैँ लडेको हुनुपर्छ र कुनै पुरुषले उसलाई ठेलेको हुन्थ्यो भने उसले कतिपटक मुक्याउँथ्यो होला ! यद्यपि नारी हुनुको यो एउटा फाइदा छ । त्यसैगरी आज कतिपय महिलाहरू आफ्नो धनी श्रीमान्सँग टाँसिएर फोटो खिच्छन् । यो महिला हुनुको दोस्रो फाइदा हो । त्यसबाहेक अरू नयाँ कामहरू पनि छन् । प्रबन्धकहरू कारखानामा महिला कर्मचारी राख्न रुचाउँछन् किनकि उनीहरूलाई थोरै तलबमा कज्याउन पाइन्छ र उनीहरू भनेजसरी काम गर्छन् । त्यसका साथै उनीहरूले ‘सजाउने फूलदानी’ भन्दै यस्तो सम्मानजनक घोषणा गरिन्छ, ‘तपाईंको सेवा नारीहरूद्वारा गरिनेछ ।’ यो पनि महिला हुनुको एउटा फाइदा नै हो । तर पुरुषहरू त्यो उचाइसम्म पुग्न चाहन्छन् भने लोग्नेमान्छे भएर सम्भवै छैन । उनीहरूले कमभन्दा कम कुकुरको भूमिका त निर्वाह गर्नैपर्छ ।

यो चार मई आन्दोलन र त्यसपछि चलेका नारी मुक्ति आन्दोलनको सफलताको परिणाम हो । यद्यपि हामीले कामकाजी महिलाहरूको तितो अनुभव र महिलाहरूको कुरा काट्नेहरू देखिरहेका हुन्छौँ । घरको चौघेरा नाघेर समाजमा आउँदा उनीहरूलाई के फाइदा भयो ! मान्छेहरूको हाँसो, ठट्टा र अमर्यादित चर्चाहरू सिवाय ।

यो कुन कारणले भने आजसम्म महिलाहरू अरू कोहीद्वारा ‘पालिएका’ ठानिन्छन् । अर्कोले तपाईंलाई ‘पाल्छन्’ भने तपाईंले उसको गाली र अपमान सहनैपर्छ । हामीले देख्यौँ कन्फ्युसियसले उनीहरूलाई गाली गरे । त्यो के कारण भने उनले महिलाहरूलाई ‘राख्नु’ कठिन ठाने । अर्थात् न त उनीहरूलाई ‘नजिक’ राख्नु नै राम्रो हुन्छ, न त ‘टाढा’ राख्नु नै । पुरुष श्रेष्ठतामा विश्वास गर्ने सबै मान्छेहरूको यस्तै गुनासो हुन्छ र त्यही चिन्तन नै महिलाहरूमाथि हिंसाको कारण हो । जबसम्म ‘पाल्नेवाला’ र ‘पालिनेवाला’ बीचको पर्खाल ढालिन्न तबसम्म यस्तो गुनासो र वेदनाहरूको कहिल्यै अन्त्य हुनेछैन ।

यो जडता समाजमा नयाँ रङमा आइरहन्छ । वास्तविकता के हो भने केही पनि परिवर्तन भएको छैन । तपाईंले पिँजडामा कैद गरेको कुनै सानो चरालाई बाँसको पिँजडामा राखिदिनुभयो भने के भन्न सकिन्छ भने अब भने परिस्थिति बदलिएको छ । यद्यपि त्यसबेला पनि त्यो चरो मान्छेको खेलौना नै रहिरहेको हुन्छ र अर्काको दया र आदेशमा निर्भर रहन्छ । ‘भोजन स्वीकार गर र आदेश पनि’ वास्तविकता त्यही हो । त्यसकारण जबसम्म महिलालाई पुरुषसरह आर्थिक अधिकार प्राप्त हुँदैन तबसम्म महिला मुक्तिका सम्पूर्ण कुरा बकबास हुन् । के कुरा साँचो हो भने महिला र पुरुषबीचमा धेरै नै शारीरिक र मानसिक अन्तरहरू छन् । जसरी पुरुष–पुरुष र महिला–महिलाको बीचमा हुन्छ । यद्यपि त्यसको स्तर बराबर हुनुपर्छ । जब उनीहरूको बीचमा समान दर्जा कायम हुन्छ तब पुरुष सही रूपले पुरुष र महिला सही रूपले महिला हुन्छ । त्यस्तो अवस्थामा बल्ल गुनासाहरू र पीडाहरूको अन्त्य हुनसक्छ ।

वास्तविक मुक्तिभन्दा अगाडि सङ्घर्ष अनिवार्य छ । मेरो भनाइको अर्थ के होइन भने महिलाहरूले पुरुषसरह हतियार उठाउनुपर्छ अथवा बच्चालाई केवल एउटै छातीको दूध चुसाउनुपर्छ र अर्कोको जिम्मेवारी पुरुषमाथि थोपर्नुपर्छ । मेरो भनाइको अर्थ यति मात्र हो, हामीले तत्कालिक स्थितिबाट सन्तुष्ट नभईकन विचारहरूको, आर्थिक क्षेत्रहरूमा निरन्तर सङ्घर्ष चलाउनुपर्छ । समाजको मुक्तिसँगै हाम्रो मुक्ति पनि जोडिएको हुन्छ । त्यसको साथमा हामीले वर्तमानमा महिलामाथि भइरहेका भेदभावका विरुद्ध पनि लड्नुपर्छ ।

मैले महिलाका समस्याहरूका विषयमा गम्भीरतापूर्वक अध्ययन गरेको छैन । त्यसैले जब मलाई यो विषयमा विचार राख्न भनिन्छ, म केवल निजी सोचाइ मात्र राख्न सक्छु ।

स्रोत : कला, साहित्य र संस्कृति, लु सुुन

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :