मजदुर सङ्गठनको कार्यभार

अखिल नेपाल क्रान्तिकारीको ट्रेड युनियन महासङ्घ नेपाल कम्युनिस्ट पार्टीको भ्रातृ सङ्गठन भएकाले सैद्धान्तिक, वैचारिक, राजनीतिक रूपमा एकीकृत जनक्रान्तिको कार्यदिशामार्फत वैज्ञानिक समाजवाद स्थापनाको महान् उद्देश्यमा गोलबन्द भई मजदुर आन्दोलनलाई कसरी सशक्त बनाउन सकिन्छ भनी गहन अध्ययन तथा अन्वेषण गर्दै अगाडि बढिरहेको छ ।

क्रान्तिकारी मजदुर आन्दोलनको मुख्य कार्यभार भनेको श्रम क्षेत्रमा भइरहेको उत्पीडन, विभेद र अधिकारको प्रश्नलाई घनीभूत बनाउँदै राज्यसत्ताले थोपरिरहेको श्रमिक अर्थात् मजदुरविरोधी गतिविधिविरुद्ध निर्णायक सङ्घर्षका लागि खडा भएको सङ्गठनका रूपमा बुझ्नु पर्दछ । एक जुझारु मजदुरपक्षीय सङ्गठन हुनुको नाताले यस सङ्गठनमा आबद्ध मजदुर नेतृत्वले थप चनाखो बन्दै आमशोषित–पीडित मजदुर वर्गलाई सङ्गठनमा गोलबन्द बनाउन जरुरी छ । सैद्धान्तिक रूपमा लुटेरा, दलाल पुँजीवादले थोपरेको श्रमविरोधी हतकण्डालाई परास्त गर्न र श्रमिक वर्गलाई पुँजीपति बर्गले एक मालका रूपमा प्रयोग गरिरहेको अवस्थालाई वैज्ञानिक समाजवादी राज्यव्यवस्थाद्वारा सबै विभेद अन्त्य गराउन आवश्यक छ । यो भूमिकामा सशक्त पहलकदमी लिनुपर्ने मजदुर सङ्गठनको पहिलो कार्यभार हो । त्यसैले मजदुर सङ्गठन कस्तो बनाउने, यसको साङ्गठनिक संरचना कस्तो हुने भन्नेबारेमा हामीले गम्भीर समीक्षा गर्दै अगाडि बढ्नुपर्ने छ ।

नेपालका सन्दर्भमा जतिसुकै राजनीतिक परिवर्तन भएको दाबी गरे पनि सामाजिक तथा आर्थिक रूपान्तरण हुनसकेको छैन । यो देशमा एकात्मक सामन्ती व्यवस्थामा होस् वा हाल चलिरहेको दलाल संसदीय व्यवस्थामा होस्, नेपालमा औद्योगिक पुँजीवाद, राष्ट्रिय पुँजीवादको विकास कहिल्यै हुन सकेन । फलस्वरूप समान्तवादी उत्पादन सम्बन्धको ठाउँमा दलाल पुँजीवादले आफ्नो वर्चस्व कायम गरेको छ । हिजोका सामन्त, सूदखोर, नोकरशाहहरूले नै नेपालको अर्थतन्त्रमा एकखालको प्रभुत्व जमाइरहेका छन् । वस्तुको उत्पादन र सेवामा दलाल पुँजीवाद हाबी भएको छ भने उपभोग्य मूल्य र विनिमय मूल्यमा व्यापक उतारचढाब छ । उत्पादन शक्ति र उत्पादनको साधनमाथि एकाधिकार कायम छ । यो शताब्दीमा विभिन्न आधुनिक उपकरण तथा प्रविधिद्वारा मजदुरको श्रममाथि व्यापक हस्तक्षेप र कटौती भैरहेको छ । हाम्रोजस्तो अल्पविकसित मुलकमा टुक्रे उत्पादनप्रणालीका कारण मजदुर चेतनामाथि खेलबाड गर्नेदेखि लिएर अस्तव्यस्त श्रम क्षेत्रबाट मुठीभरका दलालहरूले नाफा कुम्ल्याइरहेका छन् । श्रम ऐन, कानुनको दायरा सङ्कुचित भएको छ । श्रम क्षेत्रमा क्रियाशील ट्रेड युनियनहरूको बर्गसमन्वयकारी चरित्रका कारण श्रमिकहरू सङ्गठनप्रति रुचि देखाउन छाडेका छन् । यसको नकारात्मक असर क्रान्तिकारी मजदुर सङ्गठनमा पनि पर्न गएको छ । यद्यपि हाम्रो पार्टीको सचेत पहलका कारण विघटित, विसर्जित मजदुर सङ्गठन पुनर्जीवन दिँदै अथक प्रयत्नबाट फेरि आशा पलाउन थालेको छ जसको कारण मजदुर हितविरोधी सङ्गसङ्गठनहरू यतिखेर श्रम क्षेत्रमा नाङ्गिएका छन् तथापि हाम्रो सङ्गठनको थप दायित्व बढेको र श्रमिकको आशा र भरोसा हामीप्रति अगाध भएकाले हामीले आमशोसित–पीडित श्रमिक वर्गको हितमा इमानदारीपूर्वक काम गर्न कर्तव्यनिष्ठ भई अनुशासित बन्न आबश्यक छ ।

क्रान्तिकारीपना आफ्नो जीवनव्यवहारमा देखिने कुरा हो । अनुशासनहीनताले वर्गविरोधीहरूको क्याम्पमा पुर्याउँछ । तथ्यबाट सत्य पत्ता लगाउने माक्र्सवादी दर्शनको सान्दर्भिकता भनेको कार्यकर्ताको जाँचपडताल पनि हो । श्रमिक सर्वहारा वर्गको मुक्तिको दर्शन माक्र्सवाद लेनिनवाद माओवादमा विकास भई आजको युगसम्म आइपुग्दा लाखौँ कम्युनिस्टका अनुयायी जोदाहाहरूले मुक्ति र स्वतन्त्रताका लागि बलिदान गरे तर कम्युनिस्ट पार्टीका नीति, सिद्धान्तविपरीत छद्म अवसरवादीहरूले क्रान्तिकारी नेतृत्वविरुद्ध मिथ्या, झूट र भ्रम उत्पन्न गरी प्रतिक्रियावादी सत्तालाई जानअन्जान मलजल गर्ने दुस्साहस गर्छ भने निर्मम सङ्घर्षबाट रूपान्तरणको प्रक्रियामा अगाडि बढ्नुपर्छ । तसर्थ लेनिनवादी सङ्गठानत्मक सिद्धान्त, विधि, पद्धतिभन्दा विपरीत स्वेच्छाचारी बन्ने छूट हामीलाई क्रान्तिकारी मजदुर सङ्गठनमा कहिल्यै छैन र हुँदैन पनि । सामूहिक नेतृत्वप्रणालीको विकासमा जोड दिँदै सांस्कृितक रूपान्तरण र पारदर्शी जीवन कम्युनिस्ट पार्टीको सदस्यको नैतिकताभित्र पर्छ । जिम्मेवारीबोधका साथ आफ्नो सङ्गठनप्रति जबाफदेही बनौँ । यो आजको टड्कारो आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :