एकीकृत जनक्रान्तिले संसद्‌वादलाई जित्छ, वैज्ञानिक समाजवाद एक मात्र विकल्प : कञ्चन

एकीकृत जनक्रान्तिले संसद्‌वादलाई जित्छ, वैज्ञानिक समाजवाद एक मात्र विकल्प : कञ्चन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले एकीकृत जनक्रान्तिले संसद्‌वादलाई जितेर वैज्ञानिक समाजवाद स्थापना हुने बताएका छन् । यसका लागि क्रान्तिकारीहरूको नेतृत्वमा कम्युनिस्टहरूबीच ध्रुवीकरण हुनुपर्ने पनि उनको धारणा छ । नेकपा नेता कञ्चनले नेपालका कम्युनिस्टहरूमा संसद्‌वादी र क्रान्तिकारी गरी दुई प्रवृत्ति रहेकाले क्रान्तिकारीहरूको नेतृत्वमा हुने ध्रुवीकरणले क्रान्तिलाई विजयमा पुर्याउने पनि प्रस्ट पारेका छन् ।

काठमाडौँको अनामनगरस्थित संवाद डबलीमा आयोजित ‘कम्युनिस्टहरूबीच ध्रुवीकरण : आवश्यकता र चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा नेकपा नेता कञ्चनले संसद्‌वादी र क्रान्तिकारी कम्युनिस्ट शक्तिहरूमध्ये क्रान्तिकारीको नेतृत्वमा ध्रुवीकरण हुनुपर्ने र संसद्‌वादी कम्युनिस्टहरूको नेतृत्वमा हुने ध्रुवीकरण देश र जनताको हितमा नहुने धारणा पनि राखे ।

नेकपा नेता कञ्चनले भने, ‘क्रान्तिले जिते क्रान्तिकारी कम्युनिस्टहरूको नेतृत्वमा ध्रुवीकरण हुन्छ, संसद्‌वादले जिते संसद्‌वादी कम्युनिस्टहरूको नेतृत्वमा ध्रुवीकरण हुन्छ । एकले अर्कालाई खाएपछि मात्रै ध्रुवीकरण हुन्छ । हामी चाहन्छौँ क्रान्तिले जित्नुपर्छ र क्रान्तिकारीहरूको नेतृत्वमा कम्युनिस्टहरूबीच ध्रुवीकरण हुनुपर्छ ।’ नेता कञ्चनले आफ्नो पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशाले संसद्‌वादलाई जित्ने र क्रान्तिकारीहरूको नेतृत्वमा ध्रुवीकरण हुने पनि प्रस्ट पारे ।

उपलब्धिको रक्षा गर्ने भन्दै केही संसद्‌वादी कम्युनिस्टहरू दलाल संसदीय व्यवस्थाको रक्षामा लागेको सन्दर्भ उठाउँदै नेता कञ्चनले उपलब्धिको रक्षा सामान्य नियम भएको तर यसलाई संसद्‌वादीहरूले सिद्धान्त नै बनाएको बताए । नेता कञ्चनले संसद्‌वादी कम्युनिस्टहरूले भन्ने गरेको समाजवाद बच्चाहरूले गाउने ‘टालटुली बटुली’ जस्तै भएको पनि प्रस्ट पारे । अब गणतन्त्रलगायत उपलब्धिबाट पछि हट्न कोही नसक्ने भन्दै उनले राजावादीहरूले पनि कम्युनिस्टहरू मिलेर समाजवाद ल्याउँछन् भन्ने डरले राजसंस्थाको कुरा गर्ने गरेको बताए ।

कार्यक्रममा नेता कञ्चनले दुईतिहाइ बहुमत ल्याएर पनि संसद्‌वादी कम्युनिस्ट पार्टीहरूले जनताका पक्षमा काम गर्न नसकेकाले यो व्यवस्था नै असफल भएको बताए । कम्युनिस्टको दुईतिहाइको सरकारमा पनि जनताले शिक्षा, स्वास्थ्य, न्याय किन्नुपर्ने अवस्था कायमै रहेको र अहिलेको व्यवस्था प्रतिगामी भएकाले वैज्ञानिक समाजवादी व्यवस्थामा जानुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :