उदयपुरकी कृशला चौधरीको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कार्बाही गर्न क्रान्तिकारीकाे माग

उदयपुरकी कृशला चौधरीको हत्याको निष्पक्ष छानबिन गरी दोषीलाई कार्बाही गर्न क्रान्तिकारीकाे माग

अखिल (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिले त्रियुगा नगरपालिका– ६ मोहनपुरकी १६ वर्षीया किशोरी कृशला चौधरीको हत्याको घटनाको जिष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कार्बाही गर्न जोडदार माग गरेको छ ।

अखिल (क्रान्तिकारी) सगरमाथा क्षेत्रीय समन्वय समितिका संयोजक दर्शन कुमार नेपालीले एक प्रेस विज्ञप्ती जारी गरी मृतक कृशला चौधरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकूल परिवारजनप्रति गहिरो समवेदना व्यक्त गर्दै मानवता विरोधी उक्त घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई हदैसम्मको कार्बाहीको जोडदार माग गरेका छन् ।

यही साउन १३ गतेदेखि बेपत्ता भएकी कृशलाको १९ गते मोहनपुरको राजदेवी सामुदायिक वनमा केही समुहले जर्बजस्ती करणी गरी विभत्स ढंगले गरिएको मानवता विरोधी घटनाको विज्ञप्तीमा घोर निन्दा एवम् भत्र्सना गरिएको छ । विज्ञप्तीमा भनिएको छ, –‘संसदीय दलाल पूजीवादी राज्य व्यवस्थाले कानुनी राज्यको वकालत गरिरहदा हाम्रा चेलीबेटीहरु बलात्कार, हत्या जस्ता जघन्य अपराधको सिकार बनिरहेका छन् निर्मला पन्त, सम्झना कामी, भागिरथी भट्ट, सुजीता भण्डारी लगायत सयौँ घटनाहरु प्रतिनिधिमूलक घटना हुन् । यस्ता खालका घटनाहरु न्यूनीकरणका लागि राज्यले उचित पहलकदमी लिनुपर्दछ ।’

उता कृशलाको हत्या रहस्यमय रहेको र अनुसन्धान निकै जटिल भएकाे भन्दै प्रहरीले विभिन्न कोणबाट कडाइका साथ अनुसन्धान सुरु गरेको बताएकाे छ । कृशला हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले तीन जनालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।
कृशलाका बुबा प्रेम चौधरीका अनुसार छोरी १३ गते जङ्गलमा घाँसदाउरा गर्न गएकी र सोही समयदेखि अचानक हराएकी थिइन् । खोजी गर्ने क्रममा साउन १९ गते स्थानीय राजदेवी सामुदायिक वनमा उनको बिभत्स अवस्थामा शव फेला परेको हो ।

जङ्गलमा घाँसदाउरा गर्न गएका बेला केही समूहले जबर्जस्ती करणी गरेर उनको विभत्स ढङ्गले हत्या गरेको हुन सक्ने मोहनपुरका स्थानीयवासी खगेन्द्र कटुवाल बताउँछन् ।
प्रहरीका अनुसार कृशलाको शवको यौनाङ्ग क्षतविक्षत भएर डढेको, शरीरका धेरै भाग डढेर कालो भएको, दाँत भाँच्चिएको चिन्न नसक्ने अवस्थामा भेटिएको थियो । हत्याका विषयमा अहिले प्रहरीले गम्भीर ढङ्गबाट अनुसन्धान सुरु गरेका कारण केही समयभित्रै सत्यतथ्य बाहिर ल्याउन लागेको उदयपुर प्रहरीले बताएको छ ।
अहिलेसम्म अनुसन्धानका क्रममा तीन जनालाई पक्राउ गरिएको र आवश्यकतानुसार अन्य सबैको अनुसन्धान हुँदै जाने पनि प्रहरीले बताएको छ । कृशलाको हत्या विषयमा तथ्य कुरा र हत्यारा पत्ता लगाउन शव र शरीरका अन्य भागको समेत फोरेन्सिक परीक्षणका लागि स्वास्थ्य प्रयोगशाला पठाइएको प्रहरीले बताएको छ ।
हत्यामा संलग्न अरु चाँडै पक्राउ पर्ने र केही व्यक्तिलाई अनुसन्धान दायरामा ल्याइएका कारण हत्यारालाई पत्ता लगाएर कारबाही गरिछाड्ने उदयपुरका प्रहरी प्रमुख सुवासचन्द्र बोहोराले प्रतिबद्धता गरे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :