स्टालिनलाई रुसी जनता अझै किन माया गर्छन् ?

म युवावस्थामा हुँदा रुसमा स्टालिनको कुनै चर्चा थिएन । क्रेमलिनमा उनका अग्रज लेनिनको तस्बिरलाई विद्यालय पोसाकमा लगाइने बिल्लादेखि लिएर ठूलाठूला सालिक बनाएर सर्वत्र सजाइएको हुन्थ्यो । हत्केला देखाएर उचालिएका ती सालिकका हातहरूले हामीलाई गौरवमय समाजवादी भविष्यका लागि केही गर्न अभिप्रेरित गर्दथ्यो । येसुका चेला पिटरलाई लेनिनले उछिनेको ठहर गरी मेरो जन्मभूमिको नाम पिटर्सबर्गबाट लेनिनग्रादमा फेरियो । दोस्रो विश्वयुद्धको एउटा काहालीलाग्दो युद्धक्षेत्रलाई स्टालिनका नाममा स्टालिनग्राद भनेर नामकरण गरिएको थियो । तर जुँगे तानाशाहका कैयन अपराधहरू सामुन्नेमा आएपछि उक्त सहरको नाम १९६१ मा फेरि भोल्गोग्राद राखियो ।

रुसी नेता निकिता ख्रुस्चेबले १९५६ को गोप्य भाषणमा स्टालिनको मानहानि गर्ने काम गरे । उनले स्टालिनलाई ‘क्रान्तिकारी वैधानिकताको घोर उल्लङ्घन गरेको’ आरोप लगाए र ‘भौतिक सफाया’ को क्रममा तीन करोडको हाराहारीमा मान्छे मारेर आतङ्क मच्चाएको भनेर उल्लेख गरे । १९७० को दशकमा मस्कोमा हुर्केकी पत्रकार एवम् कार्यकर्ता मासा गेसेन (हाल अमेरिका) को भनाइअनुसार, ‘विद्यालयमा छँदा उनलाई स्टालिनबारे पटक्कै केही थाहा भएन । स्टालिन छँदै थिएनन् जस्तो गरेर स्टालिनयुगको नामोनिशान मेटिएको थियो ।’

तर अहिले समय फर्काइएको छ । गएको ग्रीष्मऋतुमा ख्रुस्चेबकी पनातिनी निना ख्रुस्चेबा दक्षिणी रुसमा पर्ने समारा सहर घुमेर आइन् । १९४२ मा जर्मन सेना पूर्वतर्फ अघि बढ्ने क्रमको लडाइँमा सोभियत सङ्घ हार्दैछ भत्रे ठानेर भोल्गा नदीको किनारमा स्टालिनका निम्ति एउटा सुरुङ निर्माण गरिएको रहेछ । १९९१ सम्म उक्त सुरुङबारे कसैलाई कुनै जानकारी गराइएको थिएन । तर अहिले यसलाई रुसी कलाको गौरवपूर्ण नमुनाका रूपमा लिइएको छ । यात्राविवरण दिने एक अमेरिकी कम्पनी ट्रिप एड्भाइजरको एक प्रयोगकर्ताको शब्दमा “सुरुङभित्र पसेपछि आकस्मिक खतराको भावनालाई पुनः सिर्जना गर्नको निम्ति बालिएको टल्कने रातो बत्ती र चेतावनीयुक्त आवाज अत्यन्त प्रिय लाग्यो ।”

सुरुङ संग्रहालयको अर्को एउटा कुराले ख्रुस्चेबालाई ठेस पु¥यायो । त्यो के भने जसको निम्ति यो सुरुङ बनाइयो उसप्रति मानिसमा अचम्मको सकारात्मक दृष्टिकोण रहेछ । मन्हाटन (अमेरिका) को सामाजिक शोधसम्बन्धी नयाँ विद्यालयमा पढाउने ख्रुस्चेबाले मस्कोमा आएर भनिन्, “नरसंहार गरेर पनि नायक बत्रे व्यक्ति प्रभावशाली हुँदै थियो । उसले मलाईसमेत प्रभाव पा¥यो ।”

सोभियत सङ्घमा हुर्केबढेका हामीलाई यो कुराले त्यतिकै अचम्मित बनाइरहेको छ, जस्तो कि धेरै अमेरिकी जनता डोनाल्ड ट्रम्पको निर्वाचनबाट अचम्मित छन् । आलोचकहरूका निम्ति अमेरिकामा अप्ठ्यारो परिस्थिति सिर्जना भएको छ भने रुसमा स्वेच्छाचारिता बढ्दै गएर झन् अप्ठ्यारो भएको छ । जति मूर्ख भए पनि ट्रम्पले श्रमशिविरचाहिँ अहिलेसम्म खोलेको छैन ।

स्टालिनप्रतिको सम्मान समाराको सुरुङमा भन्दा पनि धेरै विस्तार भएको छ । भ्लादिमिर पुटिनले स्टालिनलाई रुसमा अस्वाभाविक रूपले पुनर्जीवित गर्दैछन् । स्टालिनले गरेका अपराधहरूलाई बिर्सेर उनले दोस्रो विश्वयुद्धमा सेनाप्रमुख भएर निर्वाह गरेको भूमिकालाई महान् बताएर बढाइचढाइ गरिएको छ । यसको पछाडि स्टालिनलाई पुनस्र्थापित गर्ने पुटिनको विशेष योजना रहेको छ, जसलाई आलोचकहरूले खतरनाक स्टालिनवादी प्रवृत्ति भनेर आलोचना गरेका छन् ।

यी दुई शक्तिशाली व्यक्तिहरूको भाग्य अन्योन्याश्रित तवरले जोडिन पुगेको सन्दर्भमा ‘ लवादा केन्द्र’ नाम गरेको रुसको एउटा विश्वासिलो गैरसरकारी संस्थाले १६०० रुसीहरूमा एउटा नयाँ मत सर्वेक्षण गरेको थियो । त्यसमा स्टालिनलाई विश्वइतिहासमा नै सबैभन्दा महत्वपूर्ण व्यक्ति मानिएको छ र पुटिन रुसी कवि अलेक्सान्द्र पुस्किनसँग बराबरीमा आएकाले दोस्रो महत्वपूर्ण व्यक्ति भएका छन् । यो वर्षको सुरुमा ‘लवादा केन्द्र’ ले गरेको अर्को मत सर्वेक्षणले ४६ प्रतिशत रुसी जनताले स्टालिनलाई अनुमोदन गरेको देखायो । यो समर्थन पुटिन सत्तामा आएपछि विगत १६ वर्षको अवधिकै सबैभन्दा उच्च हो । यी प्रवृत्तिहरू यद्यपि नयाँ थिएनन् तर यसले यो वर्षभरि नै चिन्ताग्रस्त बनाएको छ किनकि रुस पश्चिमाहरूप्रति असहिष्णु हुँदैछ र आणविक युद्ध अब चलचित्रका विषय मात्र रहेनन् । त्यसमा पनि स्टालिनको शक्ति, निर्ममता, राष्ट्रवाद, सैन्यवादमा गर्व गर्ने पुटिन प्रवृत्तिले नै ट्रम्पको पुटिनमोहलाई मलजल गर्दैछ ।

पुटिनको अनुपस्थितिमा स्टालिनको पुनरागमन असम्भवप्रायः छ । उनको ‘नियोजित प्रजातन्त्र’, लेखिका गेसेनको शब्दमा “पुरानो तानाशाही” शासन प्रणालीमा फेरिएको छ । स्टालिनको रक्तरञ्जित अतिवादलाई बिर्सेर उनलाई पुनस्र्थापित गरिँदैछ । लेखिकाका अनुसार ‘राज्यआतङ्कको गलत प्रयोगबाट पुटिनले तानाशाही समाजको पुनरुत्पादन गरेका छन्, जसले मानिसलाई तानाशाही सामाजिक संरचना सञ्चालन गर्ने आधार तयार भएको कुराको सम्झना गराएको छ ।’

२००९ मा मस्कोको केन्द्र भागमा रहेको कुर्सकाया नामको व्यस्त स्टेसनमा स्टालिनका वाणीहरू लेखिएको कुरालाई ख्रुस्चेबाले इङ्गित गर्दै भनेकी छन्, त्यहाँ यस्ता अनेकौँ लक्षणहरू देखिएको थियो । अमेरिकी प्रकाशन ब्लुमबर्गले २०१३ मा भनेअनुसार रुसमा माध्यमिक विद्यालयको इतिहासको पाठ्यक्रमको नयाँ निर्देशिकाले, “स्टालिनको शासनलाई सन्तुलित ढङ्गले देखाउन खोजेको छ । उनीहरूले स्टालिनलाई रुसमा आधुनिकीकरण गर्ने व्यक्ति भनेका छन्, जसले रुसमा औद्योगीकरणलाई द्रुत गति प्रदान ग¥यो, सोभियत सङ्घमा वैज्ञानिक उपलब्धि हासिल गर्ने आधार तयार पा¥यो र दोस्रो विश्वयुद्धमा रुसलाई विजयी बनायो”, यद्यपि उनीहरूले त्यहाँ स्टालिनले गरेको “आम छट्नी” को कुरा र उनी “अनिवार्य श्रम” मा विश्वास राख्ने व्यक्ति हुन् भनेर पनि उल्लेख गरेका छन् ।

गत महिना ‘कुताफिनमस्को स्टेट ल युनिभर्सिटी’ ले स्टालिनको सम्मानमा कुँदिएको भित्ते–पट्टिलाई पुनस्र्थापित गरिएको कुरा ग¥यो, जसलाई १९५६ मा ख्रुस्चेबले स्टालिनको निन्दा गरेको केही समयपछि हटाइएको थियो । हेनरी रेजनिक नामका एक प्राध्यापकले उक्त कार्यको विरोधमा स्टालिनलाई, ‘कानुनलाई चिहानमा गाड्ने व्यक्ति’ भनेर आरोप लगाउँदै आफ्नो पदबाट राजीनामा दिए । इतिहास बदल्ने यो काम १९३० को दशकको छट्नी र हिरासतमागरिने सोधपुछलाई सम्झने रुसका पुराना पुस्ताका मान्छेहरू मरेर गएकाले सजिलो भयो । सञ्चारका साधन स्वतन्त्र नभइदिनाले गर्दा पुराना कुरालाई फूलबुट्टा भरेर सत्य बनाउन खोज्ने क्रेमलिनलाई रोक्ने प्रयत्न गर्न सकिएको छैन ।

अमेरिकाको नर्थ वेस्टर्न युनिभर्सिटीका एक रुसी विद्वान् गेरी साउलमोरासनले मलाई भने, ‘रुसीहरूले आफ्नो राष्ट्रिय गौरवलाई दिने गरेको विशाल महत्वलाई अमेरिकीहरू बुझ्दैनन् ।’ उनी भन्छन्, ‘ हाम्रो निम्ति रुसको विशेष महत्व छ । व्यक्ति जन्मन्छ र मर्छ तर रुस रहिरहन्छ ।’ १९९० को दशकमा बोरिस येल्तसिनले प्रजातन्त्रलाई अव्यवस्थित तवरले हुर्काउने काम गरे । राष्ट्रिय महानताका नाममा यो उपयोगितावादी विशृङ्खलित फड्को थियो, जसले सोभियत सङ्घप्रतिको मोहलाई बढाउने काम ग¥यो । त्यसैले पुटिनले पुरानै रुसी मातृभूमिको पुनरागमन गराउने संकेत गरेका छन् ।

रुसी जनताको प्रजातन्त्रसँगको रतिक्रीडा एक दशकभन्दा पनि कममा सीमित रह्यो । तुलनात्मक रूपमा पुटिनको युवाजोश देख्दा तत्कालका लागिप्रजातन्त्रका तीदिन फेरि आउने सम्भावना देखिँदैन । पुटिनले समलिङ्गीहरू, उदारवादीहरू र विदेशीहरूमाथि गर्ने प्रहारले मलाई झस्काइरहने हुँदा मैले प्रजातान्त्रिक रुसको सपना सुदूर भविष्यको विषय देखेर मोर्सनलाई सोधें, ‘के रुसमा प्रजातन्त्र सम्भव छ ?’
मोर्सनले एकछिन घोरिएर भने, ‘म यो प्रश्नको जबाफ दिन असमर्थ छु ।’
रुसी जनता अरू देशमा जस्तै प्रजातन्त्र ल्याउन सक्षम हुन सक्लान् तर विगत दुई दशकदेखिको घिनलाग्दो तानाशाही शासनले गर्दा जनता सन्त्रस्त छन् र आर्थिक पुनरुत्थानको भ्रमपूर्ण सोचाइले गर्दा त्यहाँ शान्ति छाएको देखिन्छ । उनीहरू अझै पनि इतिहासले सिकाएको असजिलो तर बच्न नसकिने पाठलाई बिर्सेर फेरि पनि क्रेमलिनको शक्तिमा विश्वास गरिरहेका छन् ।
अनुवाद : रमेश शर्मा
स्रोत : h t t p : / / w w w . n e w s w e e k . com/2017/07/21/why-russia-still-loves-stalin-633086.html,यसको शीर्षक हामीले दिएका हौँ ।)

२०७४ साउन २६ गते १० : ५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :