रोल्पामा कोरोना नियन्त्रणबारे सर्वपक्षीय अन्तरक्रिया

रोल्पामा कोरोना नियन्त्रणबारे सर्वपक्षीय अन्तरक्रिया

सुनछहरी : नेपाल कम्युनिस्ट पार्टी रोल्पा सुनछहरीको आयोजनामा कोरोना नियन्त्रणका विषयमा सर्वपक्षिय अन्तरक्रिया सम्पन्न भएको छ । गाउँपालिको केन्द्र पोबाङमा नेकपा रोल्पाका जिल्ला सेक्रेटरी दिनेशविक्रम चन्दको नेतृत्वमा सम्पन्न कार्यक्रममा गाउँपालिकास्थित विभिन्न राजनीतिक दल, सरकारी तथा गैरसरकारी सङ्घसंस्था, सुरक्षा निकाय र स्थानीय बासिन्दाको सहभागिता रहेको नेकपाले जनाएको छ ।

नेकपा सुनछहरीका इन्चार्ज तथा अभियान कमान्डर हेमन्तको अध्यक्षता र सञ्चालनमा सम्पन्न अन्तरक्रियामा नेकपा रोल्पाका सेक्रेटरी दिनेशविक्रम चन्द, नेकपा (एमाले) का सुनछहरी संयोजक मनोज घर्तीमगर, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि झपेन्द्र घर्तीमगर, सुनछहरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुनबहादुर पुन, स्वास्थ्यचौकी पोबाङका इन्चार्ज जनक गिरी, इलाका प्रहरी कार्यालय पोबाङका इन्चार्ज सूर्यलाल गुरुङ, शिक्षा शाखा पोबाङका प्रतिनिधि नारायण गिरी, कृषि शाखाका संयोजक शिवकुमार झा, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोबाङका सभापति खिमबहादुर बिष्ट, नेपाल मगर सङ्घ सुनछहरीका अध्यक्ष रणबहादुर घर्तीमगर, दीपज्योति बचत तथा ऋण सहकारी संस्था लि..पोबाङका सचिव वीरबहादुर बिष्टलगायतले कोरोना नियन्त्रणका विषयमा बोलेका थिए ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रमअनुसार नै देशैभर अन्तरक्रियाका रूपमा कोरोना नियन्त्रणबारे छलफल भइरहेको छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी रोल्पाले कोरोना नियन्त्रणका लागि सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको थियो । ‘कोभिड नियन्त्रण एकीकृत जनसुरक्षा अभियान’ अन्तर्गत परिवर्तन गाउँ समिति ३ बागमारामा सर्वपक्षीय अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको नेकपा रोल्पाले जनाएको छ ।

कार्यक्रममा विभिन्न राजनीतिक दलहरू, स्थानीय जनप्रतिनिधिहरू, स्वास्थ्यकर्मी, शिक्षक, सुरक्षाकर्मी तथा व्यवसायीहरू उपस्थित थिए । शुक्रबार सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा रोल्पा जिल्ला इन्चार्ज सुवास प्रमुख अतिथि थिए भने रोल्पा जिल्ला सेक्रेटरी दिनेशविक्रम चन्द ‘मानव’ अतिथि रहेका थिए । उक्त कार्यक्रमलाई अभियान कमान्डर वीरबल वलीको अध्यक्षता र सञ्चालन गरेका थिए ।

त्यसैगरी शनिबार माडी गाउँ समितिको आयोजनामा घर्तीगाउँमा पनि कोरोना नियन्त्रणका विषयमा सर्वपक्षीय अन्तरक्रिया सम्पन्न भएको जानकारी नेकपा रोल्पाका सेक्रेटरी दिनेश चन्दले दिएका छन् । कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य सुवास, माडी गाउँपालिका उपाध्यक्ष धनीकला बुढा, नेपाली काङ्ग्रेसका प्रतिनिधि गणेश घर्ती, माओवादी केन्द्रका प्रतिनिधि शेरबहादुर बुढा, नेकपा एमालेका प्रतिनिधि विजय घर्ती, प्रशासनिक प्रमुख गणबहादुर विक, घर्तीगाउँ स्वास्थ्य इन्चार्ज जयकुमार बुढालगायत विभिन्न निकायका पदाधिकारीहरूको उपस्थिति थियो । माडी गाउँ समितिको अन्तरक्रिया कार्यक्रमलाई अभियान कमान्डर देवबहादुर वली ‘दिनेश’ ले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :