केन्द्रीय प्रशिक्षणमा के भयो ?

तस्विर : भीम चापागाईं

रातो खबर संवाददाता / काठमाडौं, साउन २६ : पहिलो र दोस्रो स्थानीय तहको निर्वाचनमा देशभरिबाट ५ सयभन्दा बढीको गिरफ्तारी, त्यत्तिकै सङ्ख्यामा झुट्टा मुद्दा खेपेको र २ जनाको सहादतसहित चुनाव खारेज अभियान सम्पन्न गरेको लगत्तै नेकपाको चितवनमा राष्ट्रिय स्तरको केन्द्रीकरण भएको छ । साउन ९ देखि १३ सम्म भक्तपुरमा सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले राज्य समितिस्तरको प्रशिक्षण सम्पन्न गर्ने निर्णय गरेअनुसार सो भेला सम्पन्न भएको जानकारी नेकपा स्रोतले दिएको छ । पार्टी महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्थायी समतिका सदस्यहरू खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, हेमन्तप्रकाश ओली ‘सुदर्शन’ र सन्तोष बुढामगरले सहभागीहरूलाई प्रशिक्षण दिएको बताइएको छ । कार्यक्रमको सुरुमै आआफ्नो क्षेत्रको चुनावकेन्द्रित प्रतिवेदन लिखित तथा मौखिक रूपमा बुझाएका थिए । प्राप्त प्रतिवदेन, जिज्ञासा र सूचनाका आधारमा पार्टी महासचिव विप्लवले निर्देशनात्मक प्रशिक्षण दिनुभएको थियो ।

कार्यक्रममा प्रस्तुत प्रतिवेदन (रिपोर्टिङ) रोचक तथा महत्वपूर्ण भएको स्रोतको दाबी छ । जस अनुसार नेपाली कांग्रेस र नेकपा (माके बाट मकवानपुरमा २ सय युवा नेकपामा हालै प्रवेश गरेका छन् । उता रोल्पामा प्रजिअ र प्रहरी प्रमुखले नै रोल्पा जिल्लामा चुनावको विरुद्धमा शान्तिपूर्ण कार्यक्रमसमेत निषेध गर्न गृह मन्त्रालयको निर्देशन आएको खुलासा गरेका थिए । त्यसो हुँदाहुँदै पनि जलजला सांस्कृतिक परिवारले रोल्पाका १५ स्थानमा बृहत् सांस्कृतिक जागरण कार्यक्रम सम्पन्न गरेको र त्यसक्रममा १७ जना कलाकार गिरफ्तार गरिएको रोल्पा सेक्रेटरी जागृतिले दिएका थिए । त्यसैगरी मतपत्रमा आगो लगाएको आरोपमा एकजना सहिद परिवारका सदस्यलाई चुनाव सकिएपछि गिरफ्तार गरिएको थियो । त्यसअघि नै ३ जना केन्द्रीय नेतासहित दर्जनभन्दा बढी प्यूठानबाट गिरफ्तार भैसकेका थिए ।

जिल्लाको प्रतिवेदन प्रस्तुति बिम्बात्मक थियो । त्यो मञ्चमा झाँकी जस्तो भान हुन्थ्यो । हिमाल, पहाड, तराई र प्रवास एकै स्थानमा अन्तरघुलित भएका थिए । मध्यतराईका प्रतिनिधिहरूले जयगोविन्द शाह, रामवृक्ष यादव, ऋषि देवकोटा आजादलगायत अग्रजहरूको बारम्बार स्मरण गर्दा कार्यक्रम कक्ष भावुक बनेको थियो । रोचक प्रसङ्ग के थियो भने २०३४ सालमा मध्यतराईमा ‘भकारी फोर’ आन्दोलनका नेताहरू ईश्वरी दाहाल ‘असारे’ र चित्रबहादुर आले मञ्चासीन थिए । ब्रसेल्सदेखि दिल्ली हुँदै काठमाडौँसम्म नेकपा (माके सहित विभिन्न समूहबाट नेकपा प्रवेशको लहर चलेको बताइएको थियो । भदौ २५ गते नेकपाले काठमाडौँमा केन्द्रीय स्तरबाट नै प्रवेश गराउने निर्णय गरिसकेको छ । जसमा माओवादी केन्द्रका दर्जनौँ नेता नेकपामा ध्रुवीकृत हुनेछन् ।

चुनाव परिणाम, पार्टीको प्रभाव, संसदीय दलहरूको स्थिति, पार्टी जीवनका समस्या र जनमनोविज्ञानमा केन्द्रित रहेर सहभागीले धारणा राखेका थिए । प्रशिक्षणका क्रममा ‘ प्रचण्ड र बाबुरामलाई आत्मसमर्पण गराएर क्रान्ति रोक्न सकिन्छ भन्ने सोचाइमा देशी–विदेशी प्रतिक्रियावादीहरू थिए । हामीले त्यसलाई पराजित ग¥यौँ । नेकपा (एमाले र नेपाली कांग्रेसको नेतृत्वमा क्रान्तिलाई कुल्चने प्रयास भएको थियो । आज जनयुद्धको रगत सुक्न नपाउँदै प्रचण्ड र देउवाले सहिदको रगत कुल्चने धृष्टता गरेका छन् । हामीले त्यसको प्रतिकार गर्नुपर्छ’, महासचिव विप्लवले भन्नुभएको थियो । संसदीय व्यवस्थाले कथित नयाँ र एकीकृत कर नीतिका नाममा देशभरि राहत होइन, अहत दिएको कारण जनतामा असन्तुष्टि बढ्दै गएको विश्लेषण गरिएको थियो । जनतामा चुनाव सकिएको थोरै समयमा नै नेकपाको चुनावसम्बन्धी धारणाको पक्षमा जनमत बढ्दै गएको आँकलन पनि गरिएको थियो । केन्द्रीय प्रशिक्षण कार्यक्रमले पार्टी नीति र समसामयिक राजनीतिको बुझाइमा एकरूपता ल्याउन र पार्टी पङ्क्तिलाई ऊर्जाशील बनाउन महत्वपूर्ण भूमिका खेलेको सहभागीहरूले बताएका छन् ।
२०७४ साउन २६ गते ७ : ४० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :