माके कांग्रेस गठबन्धन इतिहासकै प्रतिगामी : विप्लव

अम्बिका चन्द / काठमाडौं, साउन २५ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले माओवादी केन्द्र र कांग्रेसबीच चुनाव र सत्ताको लागि गरिएको गठबन्धनलाई इतिहासको सबभन्दा खराब र प्रतिगामी गठबन्धन हो भन्नुभएको छ । उक्त गठबन्धनलाई उहाँले च्याङकाईसेक र चाङक्वोथाओ, जर्मन सरकार र सिदेमान, फ्रेन्च सरकार र मिलेरा गठबन्धनको संज्ञा दिनुभएको छ । साथै महासचिव विप्लवले दुई छिमेकी भारत र चीन एवं, रुस र अमेरिकाबीचको अन्र्तविरोध अर्थपूर्ण भएको पनि बताउनुभएको छ । चितवनको भरतपुरमा सोमबार शुरु भई बुधबार समापन भएको पार्टीको तिन दिने केन्द्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव विप्लवले यस्तो बताउनु भएको हो ।

प्रशिक्षण कार्यक्रममा आफ्ना नेता–कार्यकर्ताहरुलाई प्रशिक्षित गर्दै विप्लवले क्रान्तिलाई घनिभूतरुपमा अघि बढाउने क्रममा कतिपय अवसरवादी कार्यहरुलाई किनारा लगाउनुपर्ने भन्दै अब लडाईको केन्द्रविन्दु दलाल संशोधनवाद, संसदवाद र अवसरवाद रहेको पनि उहाँले प्रष्ट पार्नुभएको छ । उहाँले क्रान्तिको लागि अनुकुल वातावरण बन्दै गइरहेको र खराब प्रवृतिका विरुद्ध निकै निर्मम ढंगले लड्ने पनि बताउनु भएको छ । प्रशिक्षण कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य तथा आर्थिक विभाग प्रमुख खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले अहिले नेपालमा वर्गसंघर्ष एकतह माथि उठेको विश्लेषण गर्नुभएको छ । साथै उहाँले प्रचण्ड देउवा सरकारले चुनावरुपी प्रतिक्रान्ति गरेको बताउनुभएको छ । यस्तै अर्का स्थायी समिति सदस्य एवं स्कुलिङ्ग विभाग प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’ले क्रान्तिको लागि पार्टी संगठनभित्र सबभन्दा पहिले विश्व दृष्टिकोणको समस्या हल गर्नुपर्ने बताउनुभयो । उहाँले पार्टी क्रान्तिकारी बनाइराख्नको लागि वैचारिक प्रतिबद्धताले मात्र नपुग्ने हुँदा दर्शनमा विकास गर्नुपर्ने, संगठनमा सुद्धीकरण, सुदृढिकरण, सांस्कृतिक रुपान्तरण र कार्यशैली सुधार गर्नुपर्ने कुरामा जोड दिनुभएको छ ।

तस्विर : भीम चापागाईं

देशभरीका ३ सय बढि जिल्ला र क्षेत्रीय स्तरका नेता कार्यकर्ताको सहभागिता रहेको उक्त प्रशिक्षण कार्यक्रममा स्थायी समित सदस्य सन्तोष बुढामगर, सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारेकाका’, सचिव चित्रबहादुर आले ‘पवन’लगायतका केन्द्रीय नेताहरुको टिम सहभागी थियो । प्रशिक्षणमा पार्टीका जिल्ला, विभिन्न विभाग र जनवर्गीय संगठन गरी अठासी जना प्रतिनिधिहरुले आफ्नो क्षेत्रको रिपोर्ट प्रस्तुत गरेका थिए । पार्टी महासचिव विप्लवको अध्यक्षतामा सम्पन्न प्रशिक्षण कार्यक्रमको सञ्चालन पोलिट ब्युरो सदस्य अनिल ‘विरही’ले गर्नुभएको थियो ।

२०७४ साउन २५ गते ६ : ५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :