नेकपाका नेता लिम्बुसहित ४ जना रिहा

अम्बिका चन्द / काठमाडौं, साउन २५ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य एवं मेची ब्युरो इन्चार्ज सन्तकुमार लिम्बु ‘सुमन’ बुधबार रिहा हुनुभएको छ । उहाँसँगै झापा सेक्रेटरी तारा थापा, दिलिप थापा र ताराबहादुर थापा ‘प्रशान्त’ पनि रिहा हुनुभएको छ । उहाँहरु चारैजना आज रौतहटबाट रिहा हुनुभएको हो । सन्तकुमार लिम्बु र तारा थापालाई साधारण तारेखमा रिहा गरिएको छ भने दिलिप थापा र ताराबहादुर थापालाई २५ हजार धरौटीमा रिहा गरिएको छ ।

सन्तकुमार लिम्बु र झापा सेक्रेटरी तारा थापालाई प्रहरीले झापाको गरामुनीबाट जेष्ठ ३१ गते घरमा खाना खाइरहेका बेला प्रहरीले पक्राउ गरेको थियो । पक्राउ पछि दुवै जनालाई केहि समय झापामै राखेर थप अनुसन्धानको लागि भन्दै असार १९ गते रौतहट लगिएको थियो । यस्तै दिलिप थापा र ताराबहादुर थापालाई भने प्रहरीले जेठ २३ गते रौतहटको चन्द्रनिगाहपुरबाट पक्राउ गरेको थियो ।

पक्राउ गरिएका चारै जनालाई रौतहट प्रहरीले संगठित अपराध र विष्फोटक पदार्थ सम्बन्धी मुद्दा लगाएको थियो । उहाँहरुलाई लगाएको मुद्दामा वकिलहरु एकराज भण्डारी र अनन्त अधिकारीले बहस गर्नुभएको थियो ।

नेकपाले सञ्चालन गरेको स्थानीय निकायको चुनाव खारेजी अभियानको क्रममा उहाँहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउको विषयलाई लिएर नेकपाले आफना राजनैतिक कार्यक्रमहरुमा सरकारले हस्तक्षेप गरेको भन्दै तुरुन्त रिहाईको माग गर्दै असार २ गते नेपाल बन्दसमेत गरेको थियो ।

२०७४ साउन २५ गते ५ : २९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :