हिउँले ढाकिएको पहाड र घाँसे मैदान

हिउँले ढाकिएको पहाड र घाँसे मैदान

(अध्यक्ष क. माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले सञ्चालन गरेको ‘महान् लामो अभियान’ मा चिनियाँ लालसेनाले देखाएको वीरतापूर्ण सङ्घर्ष, साहस र बलिदानका कारण जापानी साम्राज्यवाद र च्याङ काइ सेकको  क्रूर सत्ता परास्त भएको थियो । क्रान्ति र पार्टीको रक्षा गर्दै अध्यक्ष माओ त्सेतुङको अङ्गरक्षक छन छाङ फङले आफ्ना अध्यक्षसँग बिताएका तुफानी ६ वर्षमा भोगेका सङ्घर्ष र बलिदानीका गाथाहरूलाई नेपाली पाठकसमक्ष पुर्याउने उद्देश्यले ‘लामो अभियानमा अध्यक्ष माओका साथ’ पुस्तकबाट यो सामग्री लिइएको छ । यसको अनुवाद देवेन्द्र तिम्लाले गरेका हुन्– सम्पादक)

जुन १९३५ मा तातु नदी पार गरेपछि हामी च्याचिन पहाडको फेंदीमा पुग्यौँ । यस पहाडका गगनचुम्बी चुचुराहरू हिउँले ढाकिएका थिए । जुन महिनाको प्रचण्ड सूर्य अस्ताइसकेको थिएन तर त्यसको ऊष्णता यो हिमसमूहका कारण चिसोजस्तो लागिरहेको थियो ।

हामी यो पहाडको फेँदीमा एक दिन अडियौँ । पहाड चढ्ने बेलामा लगलग कमाउने जाडोबाट आफ्नो रक्षा गर्न अध्यक्ष माओले हामीलाई खुर्सानी र अदुवा जम्मा गर्ने सल्लाह दिनुभयो । भोलिपल्ट बिहानै हामी पहाड चढ्न सुरु गर्यौँ । च्याचिन पहाडको चुचुरोले सूर्यको प्रकाशमा कुनै चमकदार तरबारले आकाशलाई छेकिरहेको जस्तो देखिन्थ्यो । ती सारा चुचुराहरू यसरी चम्किरहेका थिए, मानौँ त्यहाँ हजारौँ सिसाहरू सजाइएको थियो । त्यसको चमकले हाम्रा आँखा तिर्मिराउँथे । पहाडको चुचुरोमा बरफका टुक्राहरू खसिरहेका थिए । त्यो एउटा आलौकिक दृश्य थियो । यस्तो लाग्थ्यो, मानौँ हामी अप्सराहरूको देशमा पुगेका छौँ ।

सुरुसुरुमा त हिउँ ज्यादा बाक्लो थिएन, त्यसैले हामी त्यसमाथि सजिलै हिँड्न सक्यौँ तर करिब २० मिनेटपछि हिउँ ज्यादै बढ्दै गयो । एक पाइलो पनि असावधानीपूर्वक उचालेमा सीधै खोँचमा खस्थ्यौँ र त्यहाँबाट निस्कन घन्टौँ लाग्थ्यो । हिउँ कम भएको ठाउँबाट हिँडेमा त्यहाँ चिप्लिन्थ्यो । एक कदम अगाडि बढे चिप्लेर ३ कदम पछाडि पुगिन्थ्यो । अध्यक्ष माओ हाम्रो अघिअघि हिँडिरहनुभएको थियो । उहाँको ढाड कुप्रो भएको थियो । उहाँलाई हिँड्न गाह्रो भइरहेको थियो । कहिलेकहीँ उहाँ कैयौँ पाइला पछाडि चिप्लिनुहुन्थ्यो । त्यति बेला हामी उहाँलाई हात दिएर सहायता गथ्र्यौं । तर हामीलाई पनि आफ्ना पैताला दह्रोसँग टेक्न गाह्रो भइरहेको थियो । यस्तो अवस्थामा उहाँ हामीलाई बलियोसँग समातेर माथि तान्नुहुन्थ्यो । उहाँले कपास तगेको एउटा पनि कपडा लगाउनुभएको थिएन । केही क्षण हिँडेपछि हिउँले उहाँको खाकी पाइन्ट पूरै भिज्यो र कपडाको कालो जुत्तामा हिउँ टल्कन थाल्यो । उहाँ ज्यादै थाक्नुभएको थियो ।

त्यो उकालोले हामी सबैको दम बढाइरहेको थियो । म घस्रँदै अध्यक्षनजिक गएँ र भनेँ– ‘अध्यक्ष ∕ यो पहाड चढ्न ज्यादै कठिन छ । आउनुहोस् हामी तपाईंलाई सहयोग गर्छौं ∕’ म मुस्किलले उहाँनिर उभिन सकेँ तर उहाँ नरोकिईकन अगाडि बढ्दै भन्नुभयो– ‘हुँदैन, तिमीहरू पनि त्यत्तिकै थाकेका छौ जति म थाकेको छु ।’

हामी पहाडको बीचमा पुग्दा अचानक आँधी–हुरी चल्न थाल्यो । पहाडको चुचुरालाई कालो बाक्लो बादलले छोप्न लाग्यो । हावाको झोक्काले हिउँका टुक्राहरू उड्न थाले र ती निर्दयतापूर्वक हामीवरिपरि घुम्न थाले ।

‘अध्यक्ष, हिउँ पर्नेवाला छ’, मैले चाँडचाँडो केही कदम अगाडि बढेर उहाँको कपडा समात्दै भनेँ ।

उहाँले हावाको सामना गर्दै शिर उठाएर हेर्नुभयो । ‘हो, चाँडै नै हिउँ पर्नेवाला छ । हामी तयार हुनुपर्छ ।’ उहाँका कुरा जसै समाप्त भए, अण्डाजत्रा असिनाका डल्लाहरू हामीमाथि बज्रन थाले । हिउँ र असिनाको यस तुफानी समुद्रमा हाम्रा छाताहरू बेकम्मा भएका थिए । हामीले तत्काल मोमजामा (मैन लगाएको कपडा) लाई छाताका रूपमा प्रयोग गर्यौँ र अध्यक्ष माओलाई बीचमा पारेर उभियौँ । हाम्रो चारैतिर बतास यसरी चलिरहेको थियो मानौँ आकाश–पाताल एक हुँदैछ । हामी मान्छेहरूका आतङ्कपूर्ण कोलाहल, घोडाहरूको हिनहिनाहट र अकस्मात् बिजुलीको भीषण कडकडाहट सुन्थ्यौँ । त्यसै बेला माथिबाट एउटा गर्जन सुनियो ।

‘साथीहरू ∕ डटिरहनुस् ∕ हिम्मत नहार्नुस् ∕ डटिरहनुमा नै विजय छ ∕’ मैले टाउको उठाएर माथि हेरेँ । पहाडको टाकुरामा रातो झन्डा फहराइरहेको थियो ।

‘त्यहाँ को कराउँदैछ ?’ मैले अध्यक्ष माओसँग सोधेँ । ‘प्रचार टोलीका कमरेड’, अध्यक्ष माओले उत्तर दिनुभयो, ‘हामीले उनको यो दृढ भावनाबाट सकारात्मक कुराहरू सिक्नुपर्छ ।’

हिउँ–हुरी जसरी अचानक आएको थियो, त्यसरी नै अचानक शान्त पनि भयो । धपक्क बलेको रातो सूर्य फेरि उदायो । अध्यक्ष माओ मोमजामाबाट बाहिर निस्कनुभयो र हिउँले ढाकिएको पहाडबीच उभिनुभयो । हिउँ अझ पनि उहाँको वरिपरि छरपस्ट भएको थियो । उहाँ जस्ताको तस्तै उभिइरहनुभयो ।

‘किन, यो भिडन्त कस्तो लाग्यो ?’ उहाँले सोध्नुभयो’, ‘कोही घाइते त भएनन् नि ?’

‘कोही पनि घाइते भएको खबर आएको छैन । केवल लाओ थ्वी आफ्नो घोडामा आएर एउटा असिनाले लागेर उनको हात सुनिएको छ ।’

अध्यक्ष माओले मेडिकल अर्दली चुङ फु–छाङलाई तत्काल लाओ थ्वीको हातमा मलम लगाउन भन्नुभयो । तर लाओ थ्वी मुस्कुराउन लागे । उनी मलम लगाउन अस्वीकार गरेर घोडा चढी अगाडि बढे । म चङ स्येन–चीसँगै हिँडिरहेको थिएँ । मैले उसलाई व्यङ्ग्य गर्दै भनेँ, ‘हालखबर के छ साथी ?’

उनले अध्यक्षतर्फ इशारा गर्दै भने, ‘उहाँले यो सब सहन सक्नुहुन्छ भने हामी पनि त सहन सक्छौँ ।’ उनले हिउँमा भित्रसम्म गडेको आफ्नो खुट्टा हेरेर मजाक गर्दै भने, ‘यो तमासा त हेर्नुस् ∕ मेरो खुट्टा नै जमेको छ ∕’ यो कुरा साँचो थियो । चिसोले कठ्याङ्ग्रिएको हुनाले खुट्टा नै नभएजस्तो लाग्थ्यो ।

जतिजति हामी माथि चढ्दै गयौँ, माथि चढ्न अरू बढी कठिन हुँदै गयो । जब हामी पहाडको फेदीमा थियौँ, त्यस बेला स्थानीय मान्छेहरूले हामीलाई भनेका थिए, ‘जब तिमीहरू पहाडको टाकुरामा पुग्नेछौ तब न त कुरा गर्नु न त हाँस्नु, नत्र भने पहाडका देवताले तिमीहरूको घाँटी थिचेर मार्नेछन् ।’

हामी अन्धविश्वासी थिएनौँ तर तिनीहरूले जुन कुरा भनेका थिए त्यसमा केही त अवश्य नै सत्य थियो । अब मलाई सास फेर्न पनि मुस्किल भइरहेको थियो । यस्तो लाग्थ्यो मानौँ मेरो टाउको जाँतोको दुई पलेटाबीच पिसिइरहेको छ । मेरो मुटुको चाल तीव्र भइरहेको थियो र मलाई हाँस्न त परै जाओस् बोल्न पनि मुस्किल भएको थियो । कस्तो लाग्थ्यो भने मैले मुख खोँले भने अचानक मेरो कलेजो उछिट्टिएर मुखमा आउँछ । मैले अध्यक्ष माओलाई हेरेँ । उहाँ हावा र हिउँको सामना गर्दै दृढतापूर्वक पाइला चलाउँदै अघि बढिरहनुभएको थियो । प्रचार दलका साथीले पहाडको चुचुरोबाट फेरि चिच्याए–

‘साथीहरू, पाइला अगाडि बढाउनुस् ∕ अघि हेर्नुस् ∕ हिँडिरहनुस् ∕

अन्त्यमा हामी हिउँले ढाकिएको पहाडको चुचुरोमा पुग्यौँ । चारैतिर हिउँको सेतो पछ्यौरा बिछ्याइएको थियो । मान्छेहरू तीन–तीन÷चार–चारजनाको समूहमा बसेका थिए । कोही मान्छे कति थाकेका थिए भने उनीहरू आराम गर्न त्यहीँ पल्टिए । जब उनीहरूले अध्यक्ष माओलाई देखे तब धेरै साथीले उहाँलाई बोलाउँदै आए, ‘अध्यक्षले यो सब देख्नुभयो, तब उहाँ तत्काल उनीहरू नजिक जानुभयो र ज्यादै नम्रतापूर्वक बोल्नुभयो, ‘साथीहरू, हामी यहाँ आराम गर्न सक्दैनौँ । यहाँ हावा ज्यादै कम छ । अलिकति बढी मेहनत गर्यौँ भने हामीले तल झर्नासाथ चौथो मोर्चा सेनालाई भेट्टाउनेछौँ ।’

यो सुन्नासाथ हामी जोसियौँ र अव्यवस्थित रूपमा भिरालोबाट तल झर्न थाल्यौँ । शिखरमा पुग्दाको सफलताले हो वा अरू कुनै कारणले हो अचानक मलाई चक्कर लाग्यो । कस्तो लाग्यो भने मेरो पैतालामुनिको अग्लो पहाड काँपिरहेको छ । मेरो आफ्नै शरीर मेरो नियन्त्रणमा रहेन र म बेस्करी काँप्न थालेँ । म लड्खडाउँदै अध्यक्ष माओअगाडि पुगेँ र बोलेँ–‘अध्यक्ष, म …’ वाक्य पूरा नहुँदै म बेहोस भएर ढलेँ । तर म पूर्ण रूपमा बेहोस भएको थिइनँ । मलाई अध्यक्ष माओले दुई हातले सहारा दिएर बोलाउनुभएको कुरा मलाई अझसम्म पनि सम्झना छ । मलाई लाग्यो– म हावामा तैरिरहेको छु । मलाई सास फेर्न कति गाह्रो भइरहेको थियो भने मेरो आवाजसम्म निस्केको थिएन । एकै छिनपछि, अचानक हावाको झोक्काले उडाएर ल्याएको हिउँको एक टुक्रा मेरो अनुहारमा लाग्यो जसले मेरो चेतनाशक्ति फर्कियो र मैले आँखा खोलेँ । चङ स्येन–चीलगायत साथीहरूले मलाई सोध्नुभयो, ‘अवस्था कस्तो छ ?, अब त स्वास्थ्य ठीक छ हैन ?’ म तुरुन्त बल गरेर उठेँ । त्यसपछि हामी अगाडि बढ्यौँ ।

अध्यक्ष माओका खुट्टा पाइलैपिच्छे हिउँभित्रसम्म धसिइरहेका थिए । उहाँ पछाडि फर्की–फर्की ती साथीहरूलाई हेरिरहनुभएको थियो जो अझसम्म पनि चुचुरामा पुग्न सकेका थिएनन् । उनीहरू यति सुस्तसुस्त हिँडिरहेका थिए कुनै लामो सर्प बिस्तारै घस्रिँदै पहाड चढिरहेजस्तो लाग्थ्यो । अध्यक्ष माओ उनीहरूतर्फ लगातार हात हल्लाइरहनुभएको थियो ।

हावा तेज भइरहेको थियो । आकाशमा कालो बादल फेरि मडारिरहेको थियो । मैले अध्यक्षसँगै टाँसिएर चर्को स्वरमा भनेँ, ‘अध्यक्ष, तपाईं यहाँ रोकिन सक्नुहुन्न । कृपया चाँडो अगाडि बढ्नुस् ।’

माथि चढ्नुभन्दा तल ओर्लन सजिलो थियो तर यो भागमा घाम नलाग्ने भएकाले यहाँ बढी चिसो थियो । हामी सबैले सुतीको पातलो कपडा लगाएका थियौँ । त्यसैले जाडो भएर लगलग काँपिरहेका थियौँ । मैले कम्मरमा पटुका बाँधेको थिएँ । यसरी हिउँले ढाकिएको भिरालोमा कहिले हिँड्दै, कहिले चिप्लिँदै र लड्दै तल ओर्लिरहेका थियौँ ।

केही क्षणपछि चौथो मोर्चा सेनाका साथीहरूसँग हाम्रो भेट भयो । उनीहरू झन्डा लिएर हिँडिरहेका थिए जसमा लेखिएको थियो, ‘उत्तरपश्चिमी सछ्वानमा आधार क्षेत्रको विस्तार गरौँ ∕’ हामीलाई कस्तो लाग्यो भने हाम्रो शरीरमा नयाँ शक्ति सञ्चार भएको छ । हाम्रो मनमा उनीहरूप्रति यस्तो भाव जागृत भयो जुन भावना धेरै लामो समयसम्म बिछोड भएको दाजुभाइको भेट हुँदा उत्पन्न हुन्छ ।

जब हामी अन्तिम भिरालोबाट तल ओर्लियौँ तब मैले पछाडि फर्केर माथितिर हेरेँ । हिउँले ढाकिएको पहाडको चुचुरामा अझ पनि रातो झन्डा फर्फराइरहेको थियो । प्रचारक साथीहरूको अथक आवाज हाम्रो कानमा गुन्जिरहेको थियो ।

च्याचिन पहाडबाट तल ओर्लेपछि हामीले केही दिनसम्म माओकुङमा आराम गर्यौँ । फेरि हामी अर्को एउटा उच्च हिमाली पहाड मङ्पी पर्वत चढ्यौँ । हामी उत्तर–पश्चिमी सछ्वानको च्वोखचीमा पुग्यौँ । त्यहाँ हामी घाँसे मैदान पार गर्ने तयारीमा जुट्यौँ । यसपछि हामी फेरि रवाना भयौँ ।

हामी च्वोखचीबाट हिँड्न सुरु गर्दा बिहानी भैसकेको थियो । आकाश सफा थियो । बीस ली पार गर्दागर्दै कालो बादलले घेर्यो र चाँडै नै फाटफुट पानी पर्न पनि थाल्यो । हामी एउटा यस्तो निर्जन पहाडी क्षेत्र हुँदै हिँडिरहेका थियौँ जुन चित्र–विचित्रका चट्टानहरूले भरिएको थियो । ती चुच्चा ठाडा चट्टानहरू तथा झरेका पातपतिङ्गरको थुप्रोबीच बाटोको निशाना पनि थिएन । केही क्षणपछि ठूलो आवाजसहित बिजुली चम्क्यो र पानी पर्न थाल्यो । पानीका ठूला थोपा तथा रूखका कुहेका हाँगाहरूले हामीमाथि चोट पुर्याउन थाले । अध्यक्षको कपडा र हाम्रो कपडा पनि पानीले निथु्रक्क भिज्यो ।

मध्याह्नपछि चार बजे नै अँध्यारो भयो । लगातार मुसलधारे पानी परिरह्यो । हामी कुनै पनि ओत लाग्न हुने स्थानदेखि कोसौँ टाढा थियौँ । अध्यक्षको लालटिनको तेल पनि सकिएको थियो । त्यस निस्पट्ट अन्धकारमा हामी एक कदम पनि अगाडि बढ्न सक्दैनथ्यो । यस्तो बेला हामीलाई बत्तीको कति आवश्यकता थियो । अध्यक्ष ज्यादै मुस्किलले बाटो छाम्दै अगाडि बढिरहनुभएको थियो । उहाँ ज्यादै थकित देखिनुहुन्थ्यो । यो देखेर म ज्यादै बेचैन भएँ । अलिकति सोच्नुस् त ∕ अरूहरू बास बस्ने ठाउँमा पुग्नासाथ सुतिहाल्छन् तर अध्यक्ष बैठकमा भाग लिन, टेलिग्राम (तार) पढ्न र दस्ताबेजको मस्यौदा तयार पार्नमा व्यस्त हुनुहुन्छ । वास्तवमा उहाँ कति मेहनती हुनुहुन्थ्यो ।

‘हामी यहाँ रोकियौँ, अध्यक्ष’, मैले प्रस्ताव राखेँ । उहाँ अडिनुभयो । एकछिन सोचेपछि उहाँले भन्नुभयो, ‘राम्रो कुरा, सबैलाई खबर गर ।’

तर अब हामी सङ्कटमा परेका थियौँ । हाम्रो चारैतिर पानीका खोपिल्टाहरू, चट्टान एवम् अन्धकार थियो । हामीले उहाँका लागि सुत्ने चीज कहाँ खोज्ने ? आफ्नो बुद्धिको प्रयोग गरी धेरै प्रयास गरेपछि हामीले कुनै किसिमको एउटा ‘झुला’ निर्माण गर्यौँ र त्यसलाई दुईवटा होचा रूखहरूमा झुन्ड्याइदियौँ ।

भिजेको झुलालाई स्पर्श गर्दै अध्यक्षले विनोदभावमा भन्नुभयो, ‘म अब च्याङ्सीको शीतल ओछ्यानमा सुत्दछु ।’

अध्यक्षको विनोदभावले हामी सबैलाई उत्साहित बनायो । जब हामी अप्ठ्यारोमा पर्दथ्यौँ तब उहाँका मनोरञ्जक शब्दहरूले वातावरणलाई पूर्ण रूपमा बदलिदिन्थ्यो । उहाँको ख्यालठट्टामा हामीले आफ्नो थकान बिर्सन्थ्यौँ र हामीमा नयाँ शक्तिको सञ्चार हुन्थ्यो । हामी कुनै पनि अप्ठ्यारोसँग मुकाबिला गर्न तयार हुन्थ्यौँ ।

जब अध्यक्ष लेट्नुभयो हामीले आफ्ना लागि कुनै ठाउँ खोज्न थाल्यौँ । पानी अझ पनि परिरहेको थियो । मैले चारैतिर छाम्दा एउटा ठाडो चट्टान फेलापारेँ । जब मैले त्यस चट्टानलाई फेरि छामेँ, त्यसमा एउटा प्वाल भेट्टाएँ । गुफा ∕ मैले रोमाञ्चित भएर सोचेँ । अरू केही नसोची म त्यसभित्र पसेँ । ढ्वाङ्ग ∕ मेरो टाउको केही कडा चीजमा ठोक्कियो । त्यो कुनै गुफा नभएर एउटा सानो ओडार थियो । तर यो पनि ज्यादै मुस्किलले भेटिएको थियो । दुखाइको वास्तै नगरी म त्यस ओडारमा टाउको घुसारेर कोल्टो परी सुतेँ । तर भुइँमा त्यत्तिको पानी किन छ ? हातले छाम्दा थाहा पाएँ– म त पानीको सानो तलाउमा सुतेको रहेछु । ठीकै छ, यसले केही फरक पर्दैन । मैले आफ्नो सामानको सानो पोको जमिनमा राखेँ र आफ्नो शरीरलाई पानीबाट जोगाउन अध्यक्षको भाँचिएको छाता प्रयोग गरेँ । मेरो टाउको राख्ने वस्तु अझ पनि पानीमा भिजिरहेको थियो तर पनि चट्टानमा टाउको राख्नेबित्तिकै म गहिरो निद्रामा परेँ ।

म निद्राबाट ब्युँझँदा सूर्य उदाइसकेको थियो । यसका किरणहरू घना जङ्गललाई छिचोलेर जगमगाइरहेका थिए । घाँटीमा (उपत्यकामा) बिहानीको कुहिरो अझ पनि लागिरहेको थियो । वर्षा रोइरहेको थियो । रूखहरूबाट मोतीजस्तै पानीका थोप्राहरू टप्किरहेका थिए । मैले जसै आँखा खोलेँ । मेरो घाँटीमा दुखिरहेको थाहा पाएँ । त्यो एउटा अचम्मको पीडा थियो जुन तब मात्र हुन्थ्यो जब म तलतिर हेर्दथेँ । पानी अझ पनि मेरो अनुहारमा झरिरहेको थियो । पानीलाई नाकभित्र पस्न दिनु मात्रै उक्त पीडाबाट बच्ने उपाय थियो । मैले यसलाई गम्भीरतापूर्वक ध्यान दिइनँ किनकि मैले सोचेँ यो गम्भीर बिरामी होइन । यसबारेमा हल्ला गर्नु आवश्यक छैन । त्यसैले कसैसँग पनि केही भनिनँ ।
हामीले आफ्नो अभियान जारी राख्यौँ ।

अध्यक्ष माओ सधैँ हरेक चीजमा ध्यान राख्नुहुन्थ्यो । मलाई केही असजिलो भएको कुरा सर्वप्रथम उहाँले नै देख्नुभयो र मसँग ठट्टा गर्दै सोध्नुभयो, ‘कुरा के हो छन छाङ फङ ? जतिबेला पनि आकाशितर किन हेर्दछौँ ? के हवाईजहाजको खोजीमा छौँ ?’

मैले आकाशतिर हेर्दै टोलाएर भनेँ, ‘यहाँ हामीमाथि दुईवटा आकाश छन् । दुस्मनको हवाईजहाज जतिसुकै निपुण भए पनि हामीलाई देख्न सक्दैन ।’

‘त्यसो भए आकाशमा त्यस्तो के चीज छ जसमा तिम्रो यति साह्रो दिलचस्पी छ ?’ उहाँले पुनः प्रश्न गर्नुभयो । मैले उहाँनजिकै गएर भनँे, ‘मेरो गर्दन अलिअलि दुःखेको छ । म तल हेर्न सक्दिनँ । जब म टाउको चलाउने कोसिस गर्छु तब मलाई असैह्य पीडा हुन्छ ।’

अध्यक्ष अचानक रोकिनुभयो । ‘कुनै चिन्ताको कुरा छैन’, मैले अगाडि भनेँ, ‘केही समयपछि आफैँ ठीक भैहाल्छ ।’ म उहाँलाई चिन्तित बनाउन चाहन्नथेँ ।

मेरो अन्तिम कुराको वास्ता नगरी उहाँले मेरो गर्दनलाई कोमलतापूर्वक छुनुभयो र मेडिकल अर्दली चुङ फु–छाङलाई बोलाएर मलाई तुरुन्त जाँच्न भन्नुभयो । अध्यक्षको बोलावट सुनेर सबैजना मेरोवरिपरि जम्मा भए । चङ स्येन–ची र चुङ युङ–होले मेरो रोगबारे बढी चासो देखाए । उनीहरूले मेरो गर्दन दबाए, मेरो टाउको सुमसुम्याएर मलाई यति हैरान पारे, म रिसले बोल्नसमेत सकिनँ ।

चुङ फु–छाङले ज्यादै सावधानीपूर्वक मेरो जाँच गरे र मुस्कुराउँदै अध्यक्षतर्फ फर्किए, ‘म यो बिरामीलाई केही गर्न सक्दिनँ ।’ उनले भने, ‘राती उनको गर्दनको नसा ज्यादै तानिएको हुनुपर्छ ।’

अब अध्यक्ष पहिलेजस्तो चिन्तित नभएजस्तो देखिनुहुन्थ्यो । उहाँले भन्नुभयो, ‘तर पनि हामीले उसका लागि केही न केही त गर्नैपर्छ । चङ स्येन–ची ∕ डाक्टरी टोलीमा गएर डाक्टरलाई भन्नू– उनी आएर छन् छाङ फङलाई जाँचून् ।’

मैले यसको कुनै आवश्यकता छैन भन्नुअगावै चङ स्येन–ची हिँडिहाले । अनुहार माथि फर्र्काएर हिँड्दा लडिने डर थियो । त्यसैले मलाई बचाउन अध्यक्षले मेरो हात समातेर आफूसँगै हिँडाइरहनुभएको थियो । त्यसबेला यस्तो लाग्थ्यो– कुनै पिताले भर्खर हिँड्न सिकेको छोरालाई हिँडाइरहेको छ । ‘पिर नगर’, उहाँले मलाई सान्त्वना दिँदै भन्नुभयो ।

डाक्टर दौडँदै आए । उनले मसँग बिस्तारै धेरै प्रश्नहरू सोधे । मेरो गर्दनको जाँच गरेर मलम लगाइदिए । केही क्षणपछि नै गर्दन अलिकति ठीक भयो ।

‘अब त बिलकुल ठीक भयौ होला नि ?’, अध्यक्षले सोध्नुभयो । अब म तल हेर्नसक्ने उहाँले देख्नुभयो । मैले टाउको हल्लाएँ र उहाँलाई भनेँ– म बिल्कुल ठीक छु । यो सुनेर उहाँले भन्नुभयो, ‘तिमी पनि अचम्मको मान्छे छौ । सुत्नका लागी तिमीले आफ्नो टाउको दिन पनि तयार भयौ ∕’

पहाड एवम् जङ्गलहरूलाई पडाडि छोड्दै हामी माओअड्काए पुग्यौँ । घाँसे मैदान पार गर्ने तयारी पूरा गर्न हामी त्यहाँ रोकियौँ । मलाई औलोले नराम्ररी सताएको थियो । च्याचिन पहाड पार गर्नुअगावै मलाई औलो लागिसकेको थियो तर पहाड पार गर्दाको समयमा एकपटक पनि औलो लागेको थिएन । फेरि म वर्षाको पानीमा निथुक्क रुझेको थिएँ साथै ज्यादै थाकेको पनि थिएँ । जब हामी यात्राको सबैभन्दा कठिन खण्ड दलदले घाँसे मैदान पार गर्ने तयारी गर्दै थियौँ तब म नराम्रोसँग औलोको सिकार भएँ । त्यसबखत बिरामी पर्नु मेरा लागि दुर्भाग्यको कुरा थियो भने अरूहरूका लागि चिन्ताको विषय । विशेषगरी अध्यक्ष माओ ज्यादै चिन्तित हुनुहुन्थ्यो । उहाँ पनि ज्यादै कमजोर हुनुभएको थियो र उहाँको शरीर पहिलेभन्दा अग्लो देखिन थालेको थियो ।

ती दिनहरूमा उहाँले धेरै बैठकहरूमा भाग लिनुपरेको थियो । कहिलेकहीँ यी बैठकहरू राती अबेरसम्म चलिरहन्थे तब उहाँ विश्रामबिना रातको अन्तिम प्रहरसम्म पनि अन्य नेताहरूसँग विभिन्न समस्याहरूमाथि छलफल गर्नुहुन्थ्यो । उहाँ ज्यादै व्यस्त भए पनि अक्सर गरी मलाई हेर्न आउने गर्नुहुन्थ्यो । म हतोत्साहित भएको देख्दा उहाँ मलाई घाँसे दलदल किन पार गर्नुपरेको छ भन्ने कुरा बुझाउँदै उत्साहित गर्नुहुन्थ्यो । उहाँ धेरै चाखलाग्दा घटनाहरू सुनाएर मेरो मन बहलाउनुहुन्थ्यो ।

उहाँबाट मैले एउटा पिताको माया पाएको थिएँ । मभित्र उहाँप्रति गहिरो हार्दिक कृतज्ञताको भावना उत्पन्न हुन्थ्यो र मैले आफैँलाई घृणा गर्न लागेको थिएँ, किन म यस्तो समयमा बिरामी परेँ ? मैले आफ्ना साथीहरूको बोझ अरू बढाएको थिएँ र अध्यक्षको ध्यान बाँडिदिएको थिएँ ।

हामीले माओअड्काएमा करिब एक महिना बितायौँ र १९३५ को मध्यअगस्तमा हामी विशाल दलदले घाँसे मैदान पार गर्नका लागि रवाना भयौँ जसलाई यसअघि कसैले पनि पार गरेको थिएन । हामी चालीस ली पनि पार नगर्दै बीस लीभन्दा पनि लामो जङ्गलमा पुग्यौँ । त्यस जङ्गलका रूखहरू ज्यादै अग्ला–अग्ला थिए । हाँगा पनि निकै ठूल्ठूला थिए । जब हामी त्यहाँ बास बस्थ्यौँ तब हामीले अध्यक्षका लागी दुई रूखहरूबीच झुला बनाइदिन्थ्यौँ । दिनमा जब हामी एकैछिन रोकिन्थ्यौँ तब अध्यक्ष कहिल्यै पनि आराम गर्नुहुन्थेन । उहाँ बैठकमा भाग लिन वा सैनिकहरूलाई भेट्न जानुहुन्थ्यो । त्यसैले मेडिकल अर्दली चुङ फू–छाङले मलाई आराम गर्न भन्दथे ।

एक रात म सुतिरहेको थिएँ । सैनिकहरूले आगो बालेका थिए । यो प्राचीन जङ्गलमा न चराचुरुङ्गीले, न त पशुले नै कहिल्यै आगो देखेका थिए । तिनीहरू डराएर अचम्म–अचम्मका आवाजहरू निकाल्न थाले र वरिपरि चक्कर काट्न थाले । मेरा केही साथीहरू आगोको वरिपरि बसेका थिए भने केही रूखको आड लागेर गहिरो निद्रामा सुतेका थिए ।

म झुलामा सुतिरहेको थिएँ । मलाई फेरि ज्वरो आउन लाग्यो । मैले अध्यक्ष माओले मलाई माओअड्काएमा दिनुभएको नयाँ कपडा जुन उहाँलाई सायद कसैले उपहार दिएको थियो र उहाँको कम्बल पनि ओढिराखेको थिएँ तर पनि म लगातार कामिरहेको थिएँ । अरू ब्यूँझलान् भन्ने डरले आफूलाई नियन्त्रणमा राखिरहेको थिएँ र अलिकति पनि कराएको थिइनँ । मलाई विशेषगरी के कुराको डर थियो भने कहीं मेडिकल अर्दली चुङ फु–छाङ नब्युँझिऊन् किनभने उनले मलाई फेरि ज्वरो आएको कुरा थाहा पाए तत्काल अध्यक्ष माओलाई बताउँनेछन् र फेरि अध्यक्ष माओ कसै गरी पनि आफ्नो झुलामा सुत्नुहुने छैन । म घँुडामा मुन्टो जोरेर सास दबाउँदै बसिरहेँ । अचानक मेरो अगाडि एउटा अग्लो छायाँ देखियो । अध्यक्ष माओ फर्कनुभएको थियो । मैले खुट्टा तन्काउने अथक प्रयास गरेँ तर खुट्टा निदाएको थियो । यस्तो लाग्थ्यो– खुट्टा पेटसँग टाँसिएको छ । कसै गरी खुट्टा तन्काउन सकिनँ । शरीर मेरो काबुमा थिएन । म लगलग कामिरहेको थिएँ र मेरो दाँत टकटक बजिरहेको थियो । अध्यक्ष नजिक आएर झुक्नुभयो ।

‘के भयो छन छाङ फङ ?’, उहाँले मेरो निधारमा हात राख्दै सोध्नुभयो, ‘चुङ फू–छाङ ∕ के छाङ फङ बिरामी परे ?’ उहाँ धेरै ठूलो स्वरमा बोल्नुभएन तर पनि आगोको चारैतिर सुतेकाहरू सबै उठेर मेरो वरिपरि जम्मा भए ।

जब अध्यक्ष माओ तथा मेरो वरिपरि उभिएका अरू साथीहरू ज्यादै चिन्तित भएर मलाई हेरिरहेको देखेँ, तब मलाई यस्तो लाग्यो– मेरो शरीरमा शक्ति फर्केको छ र म उठेर बसेँ । ‘सुत ∕’ अध्यक्षले नम्रतापूर्वक आज्ञा दिनुभयो र आफ्ना दुवै हातले मलाई झुलामा सुताउनुभयो । म उठेर बस्ने भरमग्दुर प्रयास गरेँ तर उहाँले आफ्नो सबल हातले मलाई जबरजस्ती सुताउनुभयो । प्रतिरोध गर्ने शक्ति पनि हरायो । म सुतेको देखेर उहाँले मलाई केही औषधी दिन चुङ फू–छाङलाई भन्नुभयो । उहाँ र अरू साथीहरू आगोनजिक गएर सुते ।

भोलिपल्ट बिहान जब म उठेँ, म झुलाबाट दौडिएँ । मभित्र यतिको शक्ति कहाँबाट आयो ? यो मलाई नै थाहा थिएन– सायद राती राम्रोसँग सुतेर हो वा अध्यक्षको पितासमानको हेरचाहले । मैले सबैभन्दा पहिलो काम दौडेर गई उहाँलाई भेटेँ ।

‘स्वास्थ्य पहिलेभन्दा त राम्रो छ हैन ?’, उहाँले मेरो पाखुरा समाउँदै सोध्नुभयो ।

म एक शब्द पनि बोल्न सकिनँ । मेरो आँखाबाट आँसुको धारा बगिरहेको थियो । हामीले आफ्नो अभियान फेरि सुरु गर्यौँ । पुरानो जङ्गल पछाडि छाड्यौँ र हामी दलदले मैदानमा प्रवेश गर्यौँ । हाम्रोअगाडि एक विशाल तथा बिरानु (सुनसान) दलदल मैदान थियो । त्यहाँ एकजना पनि मान्छे बस्दैनथे । कुनै घर पनि थिएन । त्यस दुर्गन्धित पानीमा जङ्गली घाँसको झाडी थियो । त्यसको कहीँ कुनै अन्त्य थिएन । जब हामी त्यहाँ हिँड्थ्यौँ तब हिलोमा छ्यापछ्याप गर्ने निरस आवाज निस्कन्थ्यो । अलिकति पनि सावधान नभए खुट्टा दलदल भित्रसम्म गड्थ्यो र जब कहीँ यस दलदलमा खुट्टा निकाल्न मुस्किल हुन्थ्यो । कैयौँपटक हाम्रा खुट्टाहरू हिलोमा गाडिए र अध्यक्षका बलिष्ठ हातहरूले हामीलाई तानेर बाहिर निकाले ।

त्यहाँको मौसम जाडो थियो र बदली भइरहन्थ्यो । कहिले पानी पथ्र्यो त कहिले हिउँ पथ्र्यो । कहिलेकहीँ त असिना पनि पथ्र्यो । हामीले प्रत्येक पाइला उचाल्न ज्यादै मेहनत गर्नुपथ्र्यो । अध्यक्ष हाम्रो अघिअघि हिँडिरहनुभएको थियो । प्रत्येक कदम हिँडेपछि उहाँ पछाडि फर्केर ज्यादै चिन्तित हुँदै हेर्नुहुन्थ्यो र हामीले जबाफ नदिँदासम्म बोलाइरहनुहुन्थ्यो । त्यसपछि उहाँ फेरि अगाडि बढ्नुहुन्थ्यो । हामी थाकेको देख्दा उहाँ कहिलेकहीँ कथाहरू सुनाउनुहुन्थ्यो त कहिले ठट्टा गरेर हामीलाई यति हँसाउनुहुन्थ्यो, हाम्रो पेट दुख्न थाल्थ्यो । यसले गर्दा हामी थकाइ भुल्थ्यौँ ।
दलदले मैदानको यस कठिन परिस्थितिमा पनि कसैले ‘उफ्’ सम्म गरेनौँ, न कसैले कुनै गुनासो गर्यौँ । मैदान पार गर्ने हाम्रो दृढ लक्ष्य थियो र हामीसँग यो पूरा गर्न सक्छौँ भन्ने पूर्ण विश्वास पनि थियो । वास्तवमा हामी अध्यक्ष माओको साथमा सधैँ आशावादी रहन्थ्यौँ ।

हामी पछि–पछि सेना पनि दलदले मैदानमा प्रवेश गर्यो । सैनिकहरूले विविध प्रकारका कपडा लगाएका थिए । कसैले खैरो सैनिक पोसाक लगाएका थिए, कसैले विभिन्न रङका ओभरकोट लगाएका थिए त कसैले कम्बल ओढेका थिए । कसैले बाँसका ठूला–ठूला टोप ओढेका थिए त कसैले फाटेको छाता ओढेका थिए । यस रङ्गीबिरङ्गी जनसमूहका कारण त्यो निर्जीव विशाल दलदले मैदान सजीव देखिन्थ्यो । उनीहरू एकापसमा हातेमालो गर्दै लामो ताँतीमा बिस्तारै तर दृढतापूर्वक बढिरहेका थिए ।

एक दिन हामीले अचानक त्यस बिरानो क्षितिजमा एउटा कालो बिन्दु देख्यौँ । जति–जति हामी अगाडि बढ्दै गयौँ, उति–उति त्यो बिन्दु ठूलो हुँदै गयो । त्यो के चीज हो भन्ने कुरा हामीलाई थाहा थिएन । हाम्रो उत्साह बढ्दै गयो । हाम्रो हृदयमानामक ठाउँ थियो । साथीहरूको त्यसबेलाको खुसीलाई शब्दमा व्यक्त गर्न असम्भव थियो । पलायो पुगेर अध्यक्ष माओ र हामी एक तिब्बती परिवारको घरमा बस्यौँ । हाम्रा साथीहरूले त्यस खुसीमा आगो बालेर चिसा कपडाहरू सुकाए ।

केही समयपछि हामी पासी पुग्यौँ । त्यहाँ हामीले एउटा विचित्र दृश्य देख्यौँ । चौथो मोर्चा सेनाका केही सैनिकहरू पछि फर्केर हामीतिर (भयानक दलदले मैदानतिर) बिस्तार–बिस्तार आइरहेका थिए । यो कुरा हामीले बुझ्न सकेनौँ । हामी आश्चर्यचकित भएर अध्यक्ष माओसँग सोध्यौँ, ‘अध्यक्ष, यिनीहरू किन पछाडि फर्किरहेका छन् ?’ उहाँले तुरुन्त कुनै जबाफ दिनुभएन तर उहाँको अनुहारको भाव देख्दा उहाँ ज्यादै भावविह्वल हुनुभएको प्रस्ट देखिन्थ्यो । हामीलाई पछि मात्र थाहा भयो, यो त गद्दार चाङ क्वो–थाकोको पार्टी फुटाउने षड्यन्त्रको नतिजा रहेछ । त्यो गद्दारले सोझा–सीधा साथीहरूलाई दासजस्तै बनाई विनाशको बाटोमा हिँड्न बाध्य पारिरहेको रहेछ ।

केही क्षणपछि अध्यक्ष माओले हामीलाई सोध्नुभयो, ‘के तिमीहरू पनि पछि हट्न चाहन्छौँ र ? फेरि दलदले मैदान पार गर्न चाहन्छौँ ?’
‘कहिल्यै पनि चाहन्नौँ, हामी मर्न परोस् तर पनि पछि हट्दैनौँ’, हामी सबैले एकै स्वरमा जबाफ दियौँ ।

अध्यक्ष माओ उभिनुभयो र थकित एवम् थोत्रो कपडा लगाएका सैनिकहरूतिर हेर्नुभयो जो उतैतिर जाँदै थिए जताबाट हामी धैर्यपूर्वक आइरहेका थियौँ । उहाँले मधुरो स्वरमा तर आत्मविश्वासपूर्वक भन्नुभयो, ‘उनीहरू फर्केर आउनेछन् ∕ हामी अघि बढेर उनीहरूका लागि बाटो बनाउनुपर्छ ता कि उनीहरू हामीसँग आउन सकून् ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :