
अम्बिका चन्द / चितवन, साउन २५ : स्थानीय निकायको चुनाव सशक्त ढङ्गले खारेज गरेको नेकपा अब भने आफ्नो आन्तरिक पङ्क्तिलाई वैचारिक रूपले सुदृढ गर्ने अभियानमा लागेको छ । कम्युनिस्ट पार्टीका नेता र कार्यकर्ताहरूमा वैचारिक ज्ञान हुनु अनिवार्य हुन्छ भन्ने मान्यता राख्ने उक्त पार्टीले आफ्ना नेता–कार्यकर्ताहरूलाई राजनीतिक–वैचारिक अभियानमा सहभागी बनाउन लागेको हो । हालै राजधानीमा सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले देशव्यापी रूपमा वैचारिक प्रशिक्षण एवम् स्कुलिङ गर्ने निर्णय गरेको थियो । यसैबीच राजनीतिक–वैचारिक अभियानको सुरुआती चरणमा नेकपाको केन्द्रीय स्तरको ठूलो प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । चितवनको भरतपुरमा सम्पन्न उक्त कार्यक्रममा देशभरिबाट तीन सयको सेरोफेरोमा छानिएका नेता–कार्यकर्ता सहभागी भएका छन् । उक्त प्रशिक्षण कार्यक्रममा नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले संसद्वाद– संशोधनवाद र मालेमावादका बीचमा भीषण सङ्घर्ष सुरु भएको उद्घोष गर्नुभएको छ ।
प्रशिक्षणको उद्घाटन भाषण गर्दै महासचिव विप्लवले यो देशको भविष्य मालेमावाद, एकीकृत जनक्रान्ति र वैज्ञानिक समाजवादमा रहेको भन्दै संसद्वादी र संशोधनवादीहरुको अवसानको घडि अत्यन्त नजिक आएको बताउनुभएको छ । चुनाव खारेजी अभियानका तीन महिनापछि एउटा स्तरको लडाइँ पार गरेर आफ्नो पार्टी नयाँ ठाउँमा उभिएको भन्दै महासचिव विप्लवले आफ्ना सबै नेता– कार्यकर्ताहरूको वैचारिक स्तर माथि उठाउन जरुरी रहेको संश्लेषण गर्नुभएको छ । अब नेपाललाई गोलबन्द गर्दै कसरी अगाडि बढ्न सकिन्छ भन्ने लक्ष्य र योजनाका साथ नेकपा अघि बढिरहेको पनि उहाँको भनाई छ । सिङ्गो राज्यसंयन्त्र एकातिर र आफ्नो पार्टी अर्कोतिर रहेको अवस्थामा प्रतिक्रियावादीहरूका विश्लेषणहरूलाई गलत साबित गर्दै आफ्नो पार्टी नयाँ क्रान्तिकारी शक्तिका रूपमा स्थापित हुन पुगेको पनि महासचिव विप्लवले बताउनुभएकोछ ।
संसारमै असफल भइसकेको संसदीय व्यवस्था ब्युँताउन गरिएको स्थानीय निकायको चुनाव अवैधानिक भन्दै नेकपा यसको बहिष्कार र खारेजी अभियानमा सहभागी भएपछि संसद्वादी वृत्तमा निकै ठूलो हल्लाखल्ला मच्चिएको थियो । नेकपाबाट आतङ्कित भएको सरकारले उसका सामान्य राजनीतिक कार्यक्रमहरूमा पनि निगरानी बढायो । अब नेकपाले कस्तो खालको कार्यक्रम अगाडि ल्याउँछ भन्ने सबैको प्रतीक्षाको विषय बनिरहेको बेला पार्टीका नेता–कार्यकर्ताहरूमा मालेमाका आधारभूत सिद्धान्तदेखि सौन्दर्यशास्त्र र विकसित विज्ञान–प्रविधिबारे दीक्षित गराउन व्यवस्थित खालको स्कुलिङ र प्रशिक्षण सञ्चालन गर्न लागेको हो । सिङ्गो देशलाई दुई कमान्डमा विभाजन गरी प्रत्येक ब्युरो र जिल्ला तहसम्ममा राजनीतिक वैचारिक प्रशिक्षण चलाइने जानकारी नेकपाले दिएको छ । पार्टी–सङ्गठनलाई सुदृढ गर्ने सिलसिलामा पार्टीको हितविपरीत काम गर्ने नेता–कार्यकर्ताहरूलाई निर्मम ढङ्गले कारबाही गर्ने प्रक्रिया नेकपाले अघि बढाएको छ । पार्टीको खोलमा आर्थिक चलखेल गर्ने, नीतिविपरीतका अन्य कार्यहरू गर्ने र क्रान्तिलाई धोका दिने साथीहरूका विषयमा पनि गम्भीर रूपमा छलफल र आवश्यक निर्णय लिइने पार्टीका एक केन्द्रीय नेताले बताए ।
चितवनको भरतपुरमा यही साउन २३ र २४ गते सम्पन्न उक्त केन्द्रीय वैचारिक–राजनीतिक प्रशिक्षणमा नेकपाका स्थायी समिति सदस्य एवम् प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, अर्का स्थायी समिति सदस्य तथा स्कुलिङ विभाग प्रमुख हेमन्तप्रकाश ओली ‘सुदर्शन’, सन्तोष बुढामगर, सल्लाहकार समितिका अध्यक्ष ईश्वरीप्रसाद दाहाल ‘असारे काका’, र सचिव पवन आलेलगायतको उपस्थिति थियो ।
२०७४ साउन २५ गते ६ : २० मा प्रकाशित