जनपत्रकार सङ्गठनद्वारा बुटवलमा समसामयिक भेटघाट तथा विचार अन्तरक्रिया

जनपत्रकार सङ्गठनद्वारा बुटवलमा समसामयिक भेटघाट तथा विचार अन्तरक्रिया

बुटवल: जनपत्रकार सङ्गठन नेपालले बुटवलमा लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्लाका वरिष्ठ पत्रकार एवं विभिन्न मिडिया र सङ्गठनमा आबद्ध पत्रकारहरूसँग समसामयिक भेटघाट तथा विचार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

मङ्गलबार जनपत्रकार सङ्गठन नेपाल लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा सङ्गठनका केन्द्रीय संयोजक शेरबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य सुदर्शन, दाना केसीको विशेष उपस्थिति रहेको थियो । भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा शेरबहादुर विश्वकर्माले पत्रकारिताको क्षेत्रमा आबद्ध सबै सङ्गठनहरूले वैज्ञानिक समाजवादको लागि जनमत निर्माण गर्नुपर्ने बताए । उनले आफ्नो सङ्गठन नेपालको अग्रगामी परिवर्तनका निमित्त अग्रपङ्क्तिमा रहेर जनतालाई सुसूचित गरिरहेको बताए । उनले नेपालमा पुँजीवादी राज्य सत्ताका विरुद्ध कलम चलाउनुपर्ने बताउँदै सबैखाले विकृतिका विरुद्ध सङ्घर्ष र भण्डाफोर गर्नुपर्ने बताए ।
विश्वकर्माले नेपालको बुर्जुवा पत्रकारिताको मान्यतालाई परास्त गर्दै नयाँ समाजको निर्माण अर्थात् अग्रगमनका निम्ति जनपत्रकारिता गर्नुपर्ने बताए । उनले विगतका क्रान्तिकारी आन्दोलनमा पत्रकारहरूको महत्वपूर्ण भूमिका रहेको भन्दै सबै सङ्गठनहरू मिलेर जनपत्रकारिताको माध्यमबाट पुँजीवादका विरुद्ध, दलाल राज्य सत्ताका विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए । उनले पत्रकारहरूको छाता सङ्गठन नेपाल पत्रकार महासंघभित्र देखिएका विकृतिका विरुद्ध सङ्घर्ष गर्नुपर्ने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकार बालकृष्ण चापागाईले पत्रकारिताको क्षेत्रबाट समाजवादी क्रान्तिको नेतृत्व जनपत्रकार सङ्गठन नेपालले गर्ने आशा व्यक्त गर्दै शुभकामना दिए । उनले नेपालमा नयाँ खालको क्रान्ति आवश्यक रहेको बताउँदै अबको पत्रकारिताकोे मिसन समाजवादी क्रान्ति सम्पन्न गर्ने खालको हुनुपर्ने बताए ।
वरिष्ठ पत्रकार विनोद पहाडीले जनपत्रकार सङ्गठन नेपालको राजनीतिक आन्दोलनमा अग्रगामी परिवर्तनको लागि अग्रपङ्क्तिमा रहेर अगाडि बदेको बताए । उनले जनपत्रकारिता सिमान्तकृत वर्गको हितमा हुनुपर्ने बताए । पहाडीले नयाँ विचार निर्माणको निम्ति सबै सङ्गठन मिलेर देशव्यापी अभियान चलाउनुपर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका महासचिव विक्रम पाण्डे, महासंघका रुपन्देही जिल्ला अध्यक्ष रामराज पोख्रेल, प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेल, प्रेस युनियन रुपन्देही जिल्ला सभापति रेखा भुसाल, क्रान्तिकारी महासंघका प्रतिनिधि माबहादुर केसी, प्रगतिशील पत्रकार संघका अध्यक्ष रामलाल पोख्रेल, फोनिज रुपन्देहीका अध्यक्ष सोम थापा, प्रेस क्लब भैरहवाका अध्यक्ष नरेश केसी, अधिवक्ता तथा पत्रकार ओम पंगेनी लगायत लुम्बिनी प्रदेश तथा रुपन्देही जिल्लाका पत्रकारहरूले पत्रकारिता क्षेत्रमा देखिएका चुनौती, पत्रकारहरूको भौतिक तथा सामाजिक सुरक्षा, प्रेस अभिव्यक्ति स्वतन्त्रता लगायतका विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा जनपत्रकार सङ्गठन नेपालका केन्द्रीय सदस्य दाना केसीको अध्यक्षता र सङ्गठनका रुपन्देही जिल्ला संयोजक प्रदीप राहादी मगरको स्वागतमा सम्पन्न कार्यक्रमको सञ्चालन सङ्गठनका केन्द्रीय सदस्य अनिल नेपालीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :