अखिल (क्रान्तिकारी) द्वारा त्रिभुवन विश्व विद्यालयमा भएको शैक्षिक विकृतिका विरुद्ध प्रदर्शन

अखिल (क्रान्तिकारी) द्वारा त्रिभुवन विश्व विद्यालयमा भएको शैक्षिक विकृतिका विरुद्ध  प्रदर्शन

अखिल (क्रान्तिकारी) ले त्रिभुवन विश्व विद्यालयमा भएको शैक्षिक विकृतिका विरुद्ध काठमाडौँ, दाङ लगायत विभिन्न जिल्लामा विरोध प्रदर्शन गरेको छ ।
मंगलबार काठमाडौँमा भएको विरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य मदन केसीले विश्व विद्यालयहरुलाई राजनीतिक भागबन्डामा मात्र सीमित नराखि विद्यार्थीको समस्या सम्बोधन गर्न अपिल गरे । त्रिभुवन विश्वविद्यालयलाई प्राइभेट कोर्सको नाममा विद्यार्थीमाथि शोषण र विभेदकारी शिक्षा प्रदान गरेर विद्यार्थीबाट चर्को शुल्क नलिन चेतावनी दिए । उनले विश्व विद्यालयहरुलाई बेरोजगार उत्पादन गर्ने कारखाना नबनाउन र सम्पूर्ण विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न माग गरेका छन् । साथै एमसीसी अगाडि बढाएको खण्डमा अखिल (क्रान्तिकारी) जुनसुकै मुल्य चुकाउन र बलिदान गर्न तयार हुने पनि जानकारी गराए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) कि नेतृ तारा सन्ज्यालले गरेकी थिइन् ।

यसैगरी त्रिभुवन विश्वविद्यालय र अन्य विश्वविद्यालयहरुमा शैक्षिक विकृति अत्याधिक मौलाएको भन्दै अखिल (क्रान्तिकारी) दाङले लमहीमा प्रदर्शन गरेको छ । प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै अखिल (क्रान्तिकारी) राप्ती व्युरो सदस्य अनिलले नेपालका विश्वविद्यालयहरु दलालहरुको हातमा पुगेको बताए ।
उनले विश्वविद्यालयले बौद्धिक व्यक्तित्व उत्पादन गर्ने भन्दा बेरोजगार उत्पादन गर्ने कारखाना रुपमा सञ्चालन भइरहेको जिकिर गरे । कोभिड महामारीमा उपयुक्त निर्णय लिन नसकेर विश्वविद्यालयहरुले विद्यार्थीहरुको भविष्यमाथि खेलवाड गरेकोप्रति कडा आपत्ति प्रकट गर्दै नेता अनिलले विश्वविद्यालयहरु राजनीतिक दलको भागबण्डाबाट सञ्चालित भएको बताए ।

शैक्षिक क्षेत्रको नीति निर्माण गर्ने, विज्ञ जनशक्ति उत्पादन गर्ने थलोमा राजनीतिक पार्टीका अन्धभक्तहरु नियुक्ति गरेको भन्दै नेता अनिलले तत्काल राजनीतिक नियुक्ति खारेज गर्न माग गरे । उनले निजि शैक्षिक विद्यालयमार्फत शैक्षिक पसल खोल्ने कार्य बन्द नगरे श्रमजीवी जनताका छोराछोरीले बिद्रोह गर्ने उद्घोष गरे ।
नेता अनिलले नेपालका विश्वविद्यालयहरुमा वैज्ञानिक अध्ययनहरु न्यून रहेको र यसलाई राज्यले व्यापक रुपमा विस्तार गरेर सबै तहका विद्यार्थीहरुले निशुल्क रुपमा अध्ययन गर्ने वातावरण तयार गर्न आग्रह गरे ।

आंगिक क्याम्पसहरुमा प्राइभेटका नाममा विद्यार्थीहरुबाट चर्को शुल्क असुल गरेर आर्थिक शोषण गरेको, अप्लाइड कोर्स विपन्नले पढ्न नपाएको र त्यसबाट विभेद जन्मिरहेको, राज्यको गलत नीतिका कारण विश्वविद्यालयहरुमा समस्या दैनिक बढिरहेको, त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयका प्राध्यापकहरुले समयमै कोर्स नसक्नु, समयमै प्रयोगात्मक कक्षा नसक्नु तथा विश्वविद्यालयहरुले परिक्षा प्रणालीमा कुनै सुधार नल्याउनुले विद्यार्थीहरुलाई सास्ती भएको, शिक्षण र अनुसन्धानमा सुधार नगरी विश्वविद्यालयहरुले गुणात्मक फड्को मार्न नसक्ने नेता अनिलको भनाइ थियो ।
एक अर्को प्रसंगमा विद्यार्थी नेता अनिलले यो पुजीवादी व्यवस्थामा जतिसुकै सरकार र मन्त्री बदलिए पनि विश्वविद्यालयको शैक्षिक गुणस्तरमा कुनै फेरबदल नआएको दाबी गरे । यो दलाल संसदीय व्यवस्थालाई खारेज गरेर समाजवादी राज्यव्यवस्था स्थापना गर्ने नेपाल कम्युनिस्ट पार्टीले अगाडि सारेको एजेन्डामा सबै उत्पीडित विद्यार्थीहरु गोलबन्द हुन समेत नेता अनिलको अपिल थियो ।
प्रदर्शन कार्यक्रमको सहजीकरण अखिल (क्रान्तिकारी) दाङ जिल्ला अध्यक्ष अमर खड्काले गरेका थिए ।

यस्तै त्रि.वि. तथा अन्य विश्वविद्यालय र क्याम्पसमा भए गरेका शैक्षिक विकृतिका विरुद्ध अखिल (क्रान्तिकारी) नुवाकोटले विरोध प्रर्दशन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :