नेकपाद्वारा रुपन्देहीमा जिल्ला स्तरीय स्कूलिङ सञ्चालन

नेकपाद्वारा रुपन्देहीमा जिल्ला स्तरीय स्कूलिङ सञ्चालन

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टी जिल्ला समिति रुपन्देहीले जिल्ला स्तरीय स्कूलिङ कार्यक्रमको उद्घाटन गरेको छ । शनिबार बुटवलमा कार्यक्रमको उद्घाटन गर्दै नेकपाका केन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला इन्चार्ज कृतिले कम्युनिस्ट स्कूलिङ पार्टीको नियमित कार्यक्रम भएको भन्दै पार्टीको विचारधारात्मक तथा वैचारिक विकास र क्षमता बृद्धिका लागि महत्वपूर्ण हुने बताएका छन् ।

नेता कृतिले द्वन्द्वात्मक भौतिकवाद पार्टीको जीवन दर्शन भएको भन्दै यसका लागि विश्वदृष्टिकोणको अध्ययन जरुरी रहेको बताए । उनले कम्युनिस्ट पार्टीका सदस्यले कम्युनिस्ट दर्शन, नीति, संस्कार र संस्कृतिलाई अबलम्बन गर्नुपर्ने भन्दै त्यसले मात्र समाज रुपान्तरण गर्न सकिने बताए । समाज रुपान्तरण विश्व दृष्टिकोणसित अभिन्न रुपमा जोडिएको भन्दै यसका लागि कम्युनिस्ट स्कूल सञ्चालन जरुरी रहेको नेता कृतिले बताए । उनले आजको साम्राज्यवाद र दलाल पुँजीवादका विरुद्ध लड्ने वैचारिक हतियार मालेमावाद भएको भन्दै वैज्ञानिक समाजवादी सत्ता स्थापनाका लागि यसका पक्षधरहरू एक हुनुपर्ने बताए ।

कार्यक्रममा केन्द्रीय स्कूलिङ विभागका प्रमुख भेसराज भुसालले असल कम्युनिस्ट कार्यकर्ता र बलियो कम्युनिस्ट पार्टी निर्माणका लागि स्कूलिङ सञ्चालन गरिएको बताए । उनले अहिलेको विकसित परिस्थितिमा नेता, कार्यकर्ता र जनताबीच एकीकृत बुझाई, एकीकृत योजना, एकीकृत कमाण्ड र एकीकृत सङ्घर्षले मात्र पार्टी लक्ष्यमा पुग्न सकिने बताए । यस्तै रुपन्देही जिल्ला सेक्रेटरी विश्वासले आफूलाई बदल्ने र दुनियाँ बदल्ने उद्देश्यका लागि पार्टीले नियमित स्कूलिङ कार्यक्रम गरिरहेको भन्दै यसले नयाँ परिस्थितिमा पार्टीको जिम्मेवारी पूरा गर्ने विश्वास व्यक्त गरे । उनले स्कूलमा अध्ययन गरेको विषयलाई पार्टी योजनामा कार्यान्वयन गरिनेसमेत बताए ।

पाँच दिनसम्म सञ्चालन हुने स्कूलिङ कार्यक्रममा जिल्ला सदस्य, सल्लाहकार, जनवर्गीय सङ्गठन र मोर्चाका प्रमुखहरू, सहिद तथा बेपत्ता परिवारलगायत नेता तथा कार्यकर्ताहरूको सहभागिता रहेको बताइएको छ । नेकपाले देशैभर पार्टी पुनर्गठनपछि कम्युनिस्ट स्कूल सञ्चालन गर्दै आइरहेको छ ।

स्कूलिङ कार्यक्रममा दर्शन, वैज्ञानिक समाजवादी अर्थशास्त्र, वैज्ञानिक समाजवाद, सौन्दर्यशास्त्र, विज्ञान र प्रविधि, इतिहास, एकीकृत जनक्रान्तिको कार्यदिशा र नयाँ कार्यनीतिलगायतका बिषयमा प्रशिक्षण हुने केन्द्रीय स्कूल विभागका प्रमुख भेसराज भुसालले बताए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :