सहिद पुत्र प्रकाश बास्तोला पोखराबाट गिरफ्तार

सहिद पुत्र प्रकाश बास्तोला पोखराबाट गिरफ्तार

पोखरा : नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् सहिद पुत्र प्रकाश बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले शनिबार पोखरा रङ्गशाला अगाडिबाट नेता बास्तोलालाई गिरफ्तार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् डीएसपी सुवास हमालका अनुसार दुईवटा जाहेरी परेकोले नेता बास्तोलालाई पक्राउ गरिएको बताएका छन् । कसले उजुरी दिएको हो भन्ने विषयमा प्रहरीले केही खुलाउन भने चाहेनन् ।

अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य एवम् सहिद पुत्र बास्तोला निडर, इमान्दार र हक्की युवा नेताका रुपमा चिनिन्छन् । यसअघि पार्टी प्रतिबन्धित भएको अवस्थामा पटक-पटक पक्राउ परेका नेता बास्तोलालाई कास्की प्रहरीले पेस्तोल मुखमा छिराउने र मध्यरातमा सेती नदीको पुलमा लगेर, त्यहाँबाट फाल्दिन्छु भन्दै धम्क्याउँदै मानसिक तथा शारीरिक यातना दिँदै आइरहेको थियो ।

गलत धन्दा सञ्चालन गर्ने, अन्याय-अत्याचार गर्ने र दमन गर्नेहरूका विरुद्धमा सशक्त विरोधमा उत्रिने सहिदपुत्र बास्तोलालाई उल्टै प्रहरीले दुःख दिँदै आइरहेकोमा नेकपा कास्कीका एक नेताले चिन्ता व्यक्त गरेका छन् ।

‘प्रहरीका केही उच्चस्तरका अधिकृतहरू सर्वसाधारण जनताको सुरक्षामा भन्दा गलत धन्दा गर्ने गिरोहको सञ्जालसँग बढि निकट भएर आर्थिक फाईदाका लागि त्यस्ता व्यक्तिको इशारामा नाच्ने र काम गर्ने गरेका घटनाहरू दोहोरिरहेका छन्,’ ती नेताले भने–‘साँझ पख उच्चस्तरका प्रहरी अधिकृतहरूको उठबस कोसँग, कहाँ छ भन्ने कुरा माथिल्लो निकायले हेर्ने र तिनीहरूको फोन सम्पर्क अध्ययन गर्ने हो भने वास्तविकता आफैँ छर्लङ्ग हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :