नेकपा निकट जवसद्वारा मकवानपुरमा विरोध प्रदर्शन

नेकपा निकट जवसद्वारा मकवानपुरमा विरोध प्रदर्शन

मकवानपुर : नेपाल कम्युनिस्ट पार्टी निकट जवसले हेटौँडाको बुद्धचोकमा पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि, सुजिता भण्डारीको मृत्युप्रकरण, शैक्षिक क्षेत्रमा र स्वास्थ्य क्षेत्रमा भएका विकृति विसङ्गति लगायतको विषयमा विरोध प्रदर्शन गरेको छ ।

केन्द्रीय कार्यक्रमअनुसार हेटौँडाको बुद्धचोकमा नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) मकवानपुर, युवा सङ्गठन नेपाल मकवानपुर र राष्ट्रिय जनसरकार मञ्चले बिहीबार संयुक्त रूपमा विरोध प्रदर्शन कार्यक्रम सम्पन्न गरेको हो । हाल कोरोना महामारी र प्राकृतिक विपत्ति बाढीपहिरोले देश र जनता आक्रान्त भइरहेको समयमा पनि पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि खारेज गर्न, चितवनको राप्ती–३ मा भएको सुजिता भण्डारीको घटनाको न्यायोचित छानबिन गरी पीडित पक्षलाई न्याय दिलाउनका साथै शैक्षिक क्षेत्र र स्वास्थ्य क्षेत्रमा भएको विकृति विसङ्गति र अनियमितता तत्काल बन्द गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गर्दै विरोध प्रदर्शन गरिएको बताइएको छ ।

त्यस्तै दिनप्रतिदिन बढ्दै गइरहेको कोरोना महामारीको सङ्क्रमणबाट आम नेपाली जनतालाई बचाउनका लागि समयमै सबै उमेर समूहका नागरिकहरूलाई निःशुल्क खोपको व्यवस्था गर्न सरकार समक्ष माग गरेको छ । त्यसैगरी फागुन २१ मा नेपाल कम्युनिस्ट पार्टी र सरकारबीच भएको तीनबुँदे सहमतिको दृढतापूर्वक पालना गर्नुका साथै निश्चित समयमा नै कार्यान्वयन गर्न समेत अपिल गरेको छ ।

बुद्धचोकमा सम्पन्न कार्यक्रममा अखिल (क्रान्तिकारी) मकवानपुरका अध्यक्ष विवेक घलान र राष्ट्रिय जनसरकार मञ्चका अध्यक्ष उमेश गुणीले सम्बोधन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :