संसदीय चुनाव बहिष्कार गर्छौं, जनमतसङ्ग्रहमा भाग लिन्छौँ : सन्तोष बुढामगर

संसदीय चुनाव बहिष्कार गर्छौं, जनमतसङ्ग्रहमा भाग लिन्छौँ : सन्तोष बुढामगर

सिर्जनानगर, रामेछाप : नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय समितिका सचिवालय सदस्य एवम् केन्द्रीय जनपरिषद्का प्रमुख सन्तोष बुढामगर ‘विषम’ ले आफ्नो पार्टी कथित संसदीय मूलधारमा आएको नभई क्रान्तिकारी मूल धारको नेतृत्व गरिरहेको बताएका छन् ।

नेकपा रामेछापले बिहीबार जिल्ला सदरमुकाम मन्थलीमा समसामयिक राजनीतिक विषयमा आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्दै नेकपा नेता विषमले भने, ‘हामी संसदीय मूल धारमा आएको होइन । हामी संसदीय प्रणाली स्वीकार गरेर आएको पनि होइन । हामी खुला राजनीतिमा आएका हौँ । त्यसैले संसद्‌वादभित्र हुने सबै चुनाव बहिष्कार गर्छौं ।’

राष्ट्रियता, जनतन्त्र, जनजीविकाका पक्षमा आवाज उठाएको र भ्रष्टहरूलाई कारबाही गरेको पुरस्कारस्वरूप केपी ओली सरकारले आफ्नो पार्टीमाथि प्रतिबन्ध लगाएको, एकदुई महिनामै समाप्त पार्छौं, सीके राउत बनाउँछौँ, इन्काउन्टर गर्छौं भनेर धम्क्याएको भए पनि आफू असफल भएपछि र नेकपा शक्तिशाली बन्दै गएपछि राजनीतिक शक्ति स्वीकार गरेर प्रतिबन्ध हटाउन बाध्य भएको नेकपा नेता विषमले बताए ।

‘हामी आत्मसमर्पण गर्न तयार छैनौँ । अवैध आन्दोलन दोहोरिने वा नदोहोरिने कुरा सत्ताको रबैयामा भर पर्छ’, नेता विषमले भने, ‘सरकारले इमानदारीसाथ सहमति कार्यान्वयन गरिरहेको छैन ।’ पार्टी प्रवक्ता प्रकाण्ड र सचिवालय सदस्य कञ्चनले प्रधानमन्त्रीलाई भेटेर दस दिनभित्र सहमति कार्यान्वयन गर्न सुझाव दिएपछि नेकपाका केन्द्रीय सदस्य आदर्शलगायन केही नेतालाई छोडे पनि एक सयभन्दा बढी नेता-कार्यकर्ता अझै जेलमा रहेको र पार्टी नेता-कार्यकर्तामाथि लगाइएको झूट्टा मुद्दा पनि फिर्ता नलिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।

पत्रकारको प्रश्नको जबाफ दिने क्रममा नेता विषमले भने, ‘दमनको प्रतिरोध हुन्छ । सत्ता हतियार लिएर दमन गर्न आयो भने हामी मुड्कीले मात्र प्रतिरोध गर्दैनौँ । जस्तालाई त्यस्तै तरिकाले प्रतिरोध गर्छौं ।’ क्रान्तिकारीहरूका लागि जेल पनि एक क्रान्ति मोर्चा नै रहेको उल्लेख गर्दै नेता विषमले भने, ‘सरकारले सहमति पालना गर्छ भन्ने विश्वासमा छौँ ।’

नेकपा नेता विषमले जनतालाई व्यवस्था छान्न पाउने अधिकार दिनुपर्ने धारणा राख्दै दलाल पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवाद रोज्ने भन्ने विषयमा जनमतसङ्ग्रह गर्दा वैज्ञानिक समाजवाद नै विजयी हुने विश्वास व्यक्त गरे । उनले व्यवस्था छान्ने जनमतसङ्ग्रहमा भने आफ्नो पार्टीले भाग लिने र त्यस्तो चुनाव गराउने उद्देश्यले गठन हुने प्रगतिशील संयुक्त सरकारमा आफ्नो पार्टी पनि सहभागी हुने बताए ।

नेकपाका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् रामेछाप जिल्ला इन्चार्ज शरद रसाइलीले भने, ‘जनयुद्धको सफलताका कारण समाप्त हुन लागेको राजतन्त्रात्मक संसदीय व्यवस्था पूरै समाप्त हुन दिएको भए त्यतिबेलै मुलुक समाजवादतर्फको यात्रामा अघि बढ्ने थियो । ज्ञानेन्द्र शाहलाई नागार्जुन दरबारमा थन्क्याएर मात्र राजनीतिक समस्या समाधान हुनेवाला थिएन । दलाल पुँजीवाद त्यहीँबाट स्थापित हुँदै गयो ।’ वैज्ञानिक समाजवाद नै दलाल पुँजीवादको एक मात्र र भरपर्दो विकल्प भएकाले जनतालाई व्यवस्था चुन्न दिने जनमतसङ्ग्रहमा नगएसम्म मुलुकमा जारी राजनीतिक सङ्कटको निकास नहुने उनले बताए ।

कार्यक्रममा रामेछाप जिल्लाका करिब एक दर्जन सञ्चारकर्मीका साथै नेकपा रामेछापका सेक्रेटरी इन्द्र श्रेष्ठ, पूर्वसेक्रेटरी अभिलासलगायत जिल्लास्तरीय नेता-कार्यकर्ता सहभागी थिए । कार्यक्रमको अध्यक्षता एवम् सञ्चालन नेकपा केन्द्रीय प्रकाशन विभागका सम्पादक अशोक सुवेदीले गरेका थिए ।

यसअघि बुधबार नेकपा रामेछापको चौधौँ बैठक तथा राजनीतिक प्रशिक्षण सम्पन्न भएको थियो । बैठकपछि नेकपा सचिवालय सदस्य विषमले जिल्लास्तरीय नेता-कार्यकर्तालाई समसामयिक राजनीतिक परिस्थिति र पार्टीको कार्यक्रमका विषयमा प्रशिक्षण दिएका थिए । नेकपा जिल्ला सेक्रेटरी इन्द्र श्रेष्ठको अध्यक्षता र सञ्चालनमा सम्पन्न कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य एवम् काभ्रे जिल्ला इन्चार्ज मोहलाल चन्द ‘आधार’ ले पनि साङ्गठनिक विषयमा प्रशिक्षण दिएका थिए । नेकपा रामेछापका इन्चार्ज शरद रसाइलीले पार्टीको कार्ययोजना प्रस्तुत गरेका थिए भने रातो खबर साप्ताहिकका सम्पादक अशोक सुवेदी, जिल्लाका पूर्वसेक्रेटरी अभिलासलगायतले अनुभूतिपरक मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :