पोखरा सस्तो बजारमा ३७ करोड लुटपाट

SASTO
तस्विर : विजय अधिकारी

आस्था शाही रुचाल / पोखरा, साउन २१ : पोखरा, पृथ्वीचोकस्थित सस्तो बजारमा शुक्रबार अपरान्ह प्रहरी र वायुसेवा निगमका कर्मचारीहरुले हस्तक्षेप गरी ३७ करोड भन्दा बढी धनमाल लुटपाट गरेको पीडितले आरोप लगाएका छन् । शुक्रबार साँझ सस्तो बजार व्यवस्थापन समितिका केशव भुजेल र संयुक्त संंघर्ष समितिका संयोजक शुशिला थापाद्वारा संयुक्त रुपमा जारी विज्ञप्तिमा सो आरोप लगाइएको हो । विज्ञप्तिको पूर्णपाठ यसप्रकार छ – वायुसेवा निगमले जबरजस्ती ताला खोली व्यवसायीहरुको सामान कब्जामा लिन थालेपछि आज पोखरा सस्तो बजार रणभूमीमा परिणत भएको छ । वैदाम इलाका प्रहरी चौकी इन्चार्ज वसन्त शर्माको नेतृत्वमा आएको प्रहरी शक्तिले शान्तिपूर्ण प्रदर्शन गरिरहेका सस्तो बजारका व्यवसायीमाथी एक्कासी लाठी प्रहार गरेको छ । प्रहरीको आक्रमणबाट लक्ष्मी मण्डल, विष्णु तिमल्सिना, चन्दु सहनी, गुल्सन खातुनलगायत ११ जना व्यवसायी घाइते हुनु भएको छ । जसमध्ये लक्ष्मी मण्डलको टाउकोमा गम्भीर चोट लागेको छ । यसैगरी प्रहरीबाट व्यवसायीहरु देवी देवकोटा, सरिता खनाल, शर्मिला अधिकारी, मोतीकला सुवेदी, मिना ढकाल र नेकपाका जिल्ला सेक्रेटरी जगन तिवारी गिरफ्तार हुनुभएको छ । हामी घाइते साथीहरुको स्वास्थ्य लाभको कामना गर्दछौं र गिरफ्तार सबैको ससम्मान रिहाइको माग गर्दछौं । राज्यको यस्तो कदमको हामी घोर निन्दा गर्दछौं । कसैको रोहबर नै नगरी वायु सेवा निगमका कर्मचारीहरु जबरजस्त बजारभित्र पसेर २१७ जनाको ३७ करोड सम्पत्ति तोडफोड, चोरी र हिनामिना गरेका छन् । सो लुटपाट र हस्तक्षेपको न्यायिक छानविन गरी क्षतिपूर्ति दिन सरकारसँग माग गर्दछौं । अझै पनि पोखरा सस्तो बजारको समस्या वार्ता र संवादमार्फत हल हुन्छ भन्ने कुरामा हामी आशावादी छौं । त्यसका लागि पहल गरिदिन सबै सरोकारवाला पक्षसँग अपिल गर्दछौं

तस्विरहरु

sasto

२०७४ साउन २१ गते ६ : २८ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :