जनतालाई सत्ताको मालिक बनाउनु हाम्रो लक्ष्य ः प्रकाण्ड

64-prabasi

हरियाणा, भारत
नेकपा (माओवादी) का स्थायी समिति सदस्य तथा पार्टी प्रवक्ता प्रकाण्डले देश र जनतालाई मुक्त गर्नु आफ्नो पार्टीको एक मात्र उद्देश्य रहेको बताउनुभएको छ । भारतस्थित नेपालीहरूको सङ्गठन ‘प्रवासी नेपाली जनसमाज भारत’ को प्रथम राष्ट्रिय सम्मेलन घोषणासभालाई सम्बोधन गर्दै प्रवक्ता प्रकाण्डले उक्त कुरा बताउनुभएको हो ।

हरियाणा राज्यको फरिदाबाद औद्योगिक क्षेत्रमा विशाल जनसभालाई सम्बोधन गर्दै प्रकाण्डले भन्नुभयो, ‘प्रचण्डको आत्मसमर्पणवाद र बाबुरामको विसर्जनवादले जनतालाई पुनः धोका भएको छ । यसलाई क्रान्तिले जबाफ दिनेछ । एक दिन ती धोकेबाजहरूलाई जनताले कठघरामा उभ्याउनेछन् । वीर सहिदहरूको रगत बेचेर लुटेको सम्पत्ति जनताले कब्जा गर्ने अवस्थाको सिर्जना पार्टीले गरिछाड्ने प्रतिबद्धतासमेत व्यक्त गर्दछु ।’ प्रकाण्डले आक्रोशित हुँदै प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको २५ बुँदे दिल्ली सम्झौता चाकरी, दलाली र राष्ट्रघातको पराकाष्टा भएको ठोकुवा गर्नुभयो । उहाँले नेकपा (माओवादी) ले यो सम्झौता कुनै पनि हालतमा लागू गर्न नदिने घोषणासमेत गर्नुभयो ।

उक्त कार्यक्रममा नेकपा (माओवादी) का केन्द्रीय समिति तथा प्रवास ब्युरो इन्चार्ज भेषराज भुसालले आजाद सेनको अध्यक्षतामा सम्मेलनद्वारा निर्वाचित ५५ सदस्यीय नयाँ समिति घोषणा गर्नुभयो । समितिका उपाध्यक्ष गणेश थापा र दामोदर पगेनी, महासचिव मोती गौतम, सचिव विष्णु मल्ल र कोषाध्यक्ष भीमकान्त घिमिरे रहनुभएको छ । वक्तहरूले नवनिर्वाचित समितिका सदस्यहरुलाई बधाई तथा शुभकामना दिनुभएको थियो । उक्त घोषणासभामा पार्टी केन्द्रीय सदस्य सन्तोषी विक, कर्मचारी महासङ्घका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज राजेन्द्र रेग्मीलगायत विभिन्न सङ्घसङ्गठनका प्रतिनिधिले पनि बधाई तथा शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा सामना र चिराग सांस्कृतिक परिवारले प्रभावकारी सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :