घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न

घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न

दाङ : नेपाल कम्युनिस्ट पार्टी दाङ जिल्ला अन्तर्गत घोराही र तुलसीपुर नगरको प्रथम पूर्ण वैठक सम्पन्न भएको छ । नेकपाको १० औँ केन्द्रीय समितिको पूर्ण वैठक पछिको नगरको प्रथम पूर्ण वैठक महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको दाङका सेक्रेटरी प्रदिप वलीले बताए ।

नेकपा तुलसीपुर नगरको प्रथम वैठकलाई सम्बोधन गर्दै दाङ जिल्ला सेक्रेटरी तथा वैठकका प्रमुख अतिथि प्रदिपले पार्टीको कार्यनीतिक योजना जिम्मेवार ढङ्गले जनताको बीचमा लैजान आह्वान् गरे । उनले यही व्यवस्थालाई स्विकार गरेर वार्तामा आएको भनेर हल्ला फिज्नेहरू क्रान्तिबिरोधी तत्व भएको जिकीर गरे । जनमत सङ्ग्रहमार्फत वैज्ञानिक समाजवाद प्राप्तिको बहसमा सिङ्गो देश सहभागी भइरहेको बताउँदै सेक्रेटरी प्रदिपले केही प्रतिक्रियावादी तत्वहरू अत्तालिएको स्पष्ट पारे । उनले भने, ‘व्यक्ति पार्टी होइन, व्यवस्था चुन्ने अधिकार जनतालाई दिनु लोकतन्त्रको उच्चतम् प्रयोग हो ।’

नेकपा तुलसीपुर नगर इन्चार्ज बिकाश वलीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा दाङ जिल्ला कार्यालय सदस्य तथा घोराही नगर इन्चार्ज तिलक योगी, स्कूलिङ विभाग दाङका प्रमुख रुद्र वली, अखिल नेपाल शिक्षक सङ्गठन दाङका कोषाध्यक्ष मेघराज घिमिरे, अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ दाङका अध्यक्ष सञ्जय वलीको आतिथ्य रहेको थियो ।
तुलसीपुर नगरको प्रथम वैठकले ४५ सदस्यीय नगर कमिटीसमेत चयन गरेको छ ।

यस्तै नेकपा घोराही नगरको प्रथम वैठकलाई प्रशिक्षणात्मक मन्तव्य नेकपाका केन्द्रीय सदस्य तथा सल्यान जिल्ला इन्चार्ज सबिन पोख्रेलले राखेका थिए । वैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका पोख्रेलले वैज्ञानिक समाजवादी राज्यव्यवस्थाको पक्षामा जनलहर बढ्दै गएको बताए । अहिलेको सङ्कटको निर्विकल्प निकास वैज्ञानिक समाजवाद भएको बताउँदै पोख्रेलले सबै क्रान्तिकारी, देशभक्त, प्रगतिशील, कम्युनिस्ट, सच्चा लोकतन्त्रवादीहरू संसदीय सङ्कट समाधानको लागि एकताबद्ध हुन अपिल गरे । उनले भने, ‘सङ्कट व्यवस्थामा छ, व्यक्ति पार्टी होइन व्यवस्था छान्ने अधिकार जनतालाई दिन जनमत सङ्ग्रहमा जाउँ ।’

घोराही नगर इन्चार्ज तिलक योगीको अध्यक्षतामा भएको कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय संयोजक पाटन जङ्गली, नेकपा लमही नगर इन्चार्ज जनक विक, नेकपाका युवा नेता तिलक पुनको आतिथ्य रहेको थियो ।

वैठकले ४५ सदस्यीय नगर कमिटी पनि चयन गरेको छ भने एमसीसी परियोजना, सामाजिक बिकृति बिसङ्गति, अखाद्य बस्तु बिक्री वितरणका विरुद्ध निर्णायक सङ्घर्ष गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :