उत्कृष्ट लोकतान्त्रिक व्यवस्थाको अभ्यास भनेको जनमत संग्रह हो –विप्लव

नेपाली जनप्रगतिशील मोर्चा युरोप र अमेरिकाद्वारा शिवगढीको जनस्वास्थ्य केन्द्रलाई १८ लाख सहयोग

उत्कृष्ट लोकतान्त्रिक व्यवस्थाको अभ्यास भनेको जनमत संग्रह हो –विप्लव

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले नेपाली जनतालाई स्थिर शासन व्यवस्था चाहिएकोले राजनैतिक दृष्टिकोण ठिक भएको पार्टी र शासन व्यवस्था हुनुपर्ने बताएका छन् । नेपालमा भएको दलाल पुँजीवाद र वैदेशीक हस्तक्षेपको विरुद्ध लडनुपर्ने अहिलेको मुख्य आवश्यकता भएको बताउदै विप्लवले परिवर्तन र न्यायको कुरा गर्दा, सवैखाले उत्पीडनका विरुद्ध आवाज उठाउदा आफ्नो पार्टीलाई उग्रवादीको आरोप लाग्ने गरेको बताए । विप्लवले नेपालमा संसदीय व्यवस्था फेल खाइसकेको बताउँदै जनतालाई स्वतन्त्र र देशलाई समृद्ध बनाउने व्यवस्था बनाउने आफ्नो पार्टीको उदेश्य भएको बताए । अहिले सम्मका सबै खालका संविधान र शासन व्यवस्थाहरुले जनताका समस्या समाधान गर्न नसकेको भन्दै विप्लवले जनताले आफ्नो शासन व्यवस्था आफैले चुन्न पाउनुपर्ने बताए । उनले भने –‘जनताले आफ्नो व्यवस्थाको फैसला आफैले गर्न पाउनु नै सवैभन्दा ठुलो लोकतन्त्र हो । नेपालको राजनीतिक प्रणाली कस्तो हुने भन्ने विषय छान्ने अधिकार जनतालाई दिनु नै उत्कृष्ट लोकतान्त्रिक व्यवस्थाको अभ्यास हो यो भनेको जनमत संग्रह नै हो ।’

कपिलवस्तुको शिवगढीमा निर्माणाधिन जनस्वास्थ्य भवन निर्माणको लागि सहयोग हस्तान्तरण गर्न आइतबार आयोजित भर्चूअल कार्यक्रममा बोल्दै विप्लवले कपिलवस्तुमा सानो रिकभरी सेन्टर निर्माण गरी संक्रमितहरुलाई एकान्तवास बसालेपछि त्यँँहा कोरोनाको जोखिम कम भएको दावी गरे । उनले भने –‘साना–साना कुराहरुलाई समयमै ध्यान दिन सकेको कारण यहाँ कसैको ज्यान जोखिममा परेन । कोरोनाको जोखिम बढेको बेला हाम्रो पार्टीका युवाहरुले जोखिम मोलेर गाउँ–गाउँमा स्वास्थ्य सामाग्री प्रदान गरे । सकेसम्म राहत सहयोग गरे । स्थानीय युवा जनता, विभिन्न पक्षको सहयोगले अहिले यो पक्की भवन बन्दैछ ।’ कम्तिमा एकपटकमा ३० जना विरामी भर्ना गर्न सकिने भवन निर्माण हुँदै गरेको जानकारी दिदै विप्लवले आफनो पार्टीले यस्ता कामहरु देशै भरी गरेको बताए । आफनो पार्टीको पहलमा २/३ ठाउँमा स्कुलहरु बनाएको जानकारी गराउँदै मानविय भावनाले विदेशबाट सहयोग गर्नेहरुप्रति  उनले धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा अन्तराष्ट्रिय विभाग प्रमुख कन्चनले सरकारले ग्रामीन इलाकामा बनाएका अस्पतालहरुको तुलनामा यो ३ गुणा ठुलो अस्पताल भएको दावी गरे । नेपाली जनप्रगतिशील मोर्चा युरोप र अमेरिकाले गरेको सहयोगले ठूलो महत्व राख्ने भन्दै कन्चनले भने–‘घरको आगन सफा गर्न पनि एनजीओ आइएनजीओहरु हावी हुने वेला विदेशमा रहेका नेपालीहरुबाट यति ठुलो रकम सहयोग जुटनु भनेको ठुलो उपलब्धी हो । विदेशमा रहेका नेपालीले जनयुद्धलाई पनि ठुलो सहयोग गरेको स्मरण गर्दै कन्चनले नेपालमा क्रान्ति सम्पन्न र शान्ति स्थापनाको लागि ठुलो भूमिका निर्वाह गरेको बताए ।’

नेकपाका नेता कन्चनले जन स्वास्थ्य सेवा केन्द्र शिवगढी निर्माण समितिका अध्यक्ष यादव चन्दलाई नेपाली जनप्रगतिशील मोर्चा युरोप र अमेरिकाले सहयोग गरेको १८ लाख १७ हजार रकम हस्तान्तरण गरे । कार्यक्रममा जनप्रगतिशिल मोर्चा युरोप र अमेरिकाका अध्यक्ष विष्णु भुजेलले अस्पताललाई सहयोग गरेर जनतालाई उपचारमा राहत पुगोस भन्ने विश्वास ब्यक्त गरे । यसैगरी जनप्रतिशील मोर्चा बहराईले पनि ६१ हजार रुपैया सहयोग गरेको थियो । यादव चन्दको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण नेकपाका विदेश विभागका खगेश्वर केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :