प्रचण्डसँग विद्रोह गर्न ढिलो गरिएछ : चित्रबहादुर आले, नेता – नेकपा

नयाँ योजनासहित अगाडि बढ्नुको विकल्प छैन


ठीक र बेठीकको संघर्षमा हामीले ठीक र सत्यको पक्षमा भूमिका निर्वाह गर्नुपर्छ । त्यसो गरिएन भने संघर्षले सही दिशा लिन सक्दैन । बेठीकका विरुद्ध निर्मम हुन सकिएन भने नयाँ ढंगको पार्टी बनाउन सकिन्न । प्रचण्डसँगको सहकार्यले विकृतिको थुप्रो लाग्दै गयो । अहिले पार्टी बन्दै गएको छ । प्रचण्डसँग विद्रोह गर्न ढिलो भएछ भन्ने लागेको छ । महान् लेनिनले भन्नुभएझैं हरेक काम ठीक समयमा गर्नुपर्ने रहेछ ।

थबाङको पार्टी समितिले चुनाव खारेजीलाई राम्ररी बुझेको रहेनछ । त्यसले महाधिवेशनको भावना र मर्ममाथि क्षति पु¥याएको छ । हाम्रो चुनाव खारेजी अभियान संशोधन र नवसंशोधनवादका विरुद्धको संघर्षको निरन्तरता हो । त्यसलाई निरन्तरतामा बुझ्ने समस्या भयो । वर्गसंघर्षमा नातापाता, गाउँ, छिमेक भन्ने प्रश्नले अर्थ राख्दैन । थबाङको घटनाले पार्टीको प्रतिष्ठामा क्षति भएको छ । त्यसमा तललाई मात्र दोष थोपरेर हुँदैन । उचाइको जिम्मा लिने, कमजोरीको जिम्मा अरूलाई दिने गरेर समस्याको समाधान हुन सक्दैन ।

अराजक, अनुशासनहीन, निष्क्रिय मान्छेहरूलाई समयमै हटाएर पार्टीलाई सुदृढ गर्नुपर्छ भन्ने पुष्टि चुनाव खारेजी अभियानमा पनि भएको छ । गम्भीर समस्या भएका व्यक्तिलाई समयमा नै कारबाही गर्नुपर्छ । हामीले वैद्य कमरेडलाई नेता पल्टनका लागि छोडेको, विद्रोह गर्नको लागि होइन । क्रान्ति गर्न छोडेको हो । समस्या भएका समिति र व्यक्तिलाई समयमा कारबाही नगर्दा झन् धेरै भ्रमहरू प्रवाहित भए । खुला र स्पष्ट निर्णयहरू हुनुपर्छ । सम्झौतापरस्त समन्वय परस्त भएर पार्टी बनाउन सकिन्न । बेठीकका विरुद्ध नलडेसम्म पार्टी बन्दैन ।

कतिपय स्थान र अवस्थामा हाम्रो कार्यशैली संसदवादी भयो जसका कारण आवश्यक क्षतिहरू भए । गिरफ्तारीहरू कैंयौं त सहजै रोक्न वा कम गराउन सकिन्थ्यो । राजा ज्ञानेन्द्रले सत्ता कब्जा गर्ना साथ नेकपा (एकताकेन्द्र मसाल) को नेतृत्व हातमा पुग्यो । नारायणकाजी श्रेष्ठ सम्पर्कविहीन भएर गए । रामसिंह र मैले सात–आठ दिनपछि बल्ल बल्ल भेटेका थियौं । अनुहार हेर्न लायक थियो । त्यति ठूलो दमन नहुँदै मान्छेहरू असोचनिय रूपले तर्सेका थिए । त्यसप्रकारको आत्म–सुरक्षावाद पनि प्रकट भयो । चुनाव खारेजी अभियानले पार्टीलाई रूपान्तरण गरेको छ । क्रान्तिकारी धार निर्माण गरेको छ । थुप्रै समस्या पनि देखिएका छन् । त्यसैले नयाँ योजनासहित अगाडि बढ्नुको विकल्प छैन ।
(साउन ९–१३ मा सम्पन्न केन्द्रीय समिति बैठकमा व्यक्त विचारको सम्पादित अंश, शीर्षक हामीले दिएका हौं – रातो खबर साप्ताहिक)

२०७४ साउन १९ गते १  :१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :