विपन्न परिवारको घर निर्माणमा युवा सङ्गठन नेपाल दाङले गर्यो सहयोग

विपन्न परिवारको घर निर्माणमा युवा सङ्गठन नेपाल दाङले गर्यो सहयोग

दाङ : नेपाल कम्युनिस्ट पार्टीको सहायक सङ्गठन युवा सङ्गठन नेपाल जिल्ला समिति दाङले विपन्न परिवारको घर निर्माणमा सहयोग गरेको छ ।

तुलसीपुर उप-महानगरपालिका-३ निवासी दलबहादुर शाहुको घर निर्माणमा सोमबार एक कार्यक्रमका बीच घर निर्माणमा आवश्यक इट्टा, बालुवा, सिमेन्ट र खाद्यान्न (चामल, नुन, तेल) सहित करिब २२ हजार बराबरको सहयोग हस्तान्तरण गरिएको युवा सङ्गठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियारले बताए ।

निर्माण समाग्री तथा खाद्यान्न बितरण कार्यक्रममा युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्र विक, युवा सङ्गठन नेपाल दाङ जिल्ला इन्चार्ज मनोज परियार, नेकपा तुलसीपुर नगर इन्चार्ज अमर खड्का, जनपत्रकार सङ्गठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वली, तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खेमराज वली, घर निर्माण अभियानका संयोजक विप्लव वलीको आतिथ्य रहेको थियो ।

निर्माण सामाग्री तथा खाद्यान्न बितरण कार्यक्रममा मन्तव्य राख्दै युवा सङ्गठन नेपालका केन्द्रीय सदस्य बिरेन्द्र विकले कोभिड माहामारीको यो विषम परिस्थितिमा सङ्गठन निरन्तर जनसेवामा जुटिरहेको बताए । उनले भने,“हामी निरन्तर जनतासँगै जनताको सेवामा, राहात बितरण, श्रमदान लगायत सेवामा तल्लीन छौँ ।” एक फरक प्रसङ्गमा नेता बिरेन्द्रले राज्य यो सङ्कटग्रस्त अवस्थामा पनि सत्ता र कुर्सीको लाजमर्दो संसदीय खेलमा चुर्लुम्म डुबेको बताए ।

घर निर्माण अभियानका आर्थिक संयोजक शंकर भुसालले अभियानमा स्थानीय समाजसेवी, विभिन्न सङ्घ-संस्था, सामाजिक अभियान्ता, बिदेशमा श्रम गरिरहेका नेपाली नगरिकहरूबाट सहयोग प्राप्त भइरहेको बताए ।

निर्माण सामाग्री तथा खाद्यान्न बितरण कार्यक्रमको अध्यक्षता युवा सङ्गठन नेपाल दाङका इन्चार्ज मनोज परियारले गरेका थिए भने सञ्चालन सोही सङ्गठनका जिल्ला अध्यक्ष तुल्सी चौधरीले गरेका थिए ।

युवा सङ्गठन नेपाल दाङको समन्वय र नेकपा दाङको आयोजनामा जेठ २२ गते कोरोना बिशेष अस्पताल बेलझुन्डीमा विरामी कुरुवा प्रतीक्षालय निर्माण गरि हस्तान्तरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :