भारतमा ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय खारेज गर्न चेतावनी

भारतमा ढुङ्गा, गिट्टी, बालुवा निकासी गर्ने निर्णय खारेज गर्न चेतावनी

काठमाडौँ : देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालले केपी ओली सरकारले व्यापार घाटा कम गर्ने नाउँमा भारतलाई नेपालका चुरे र तराई क्षेत्रमा भएका खानीजन्य र प्राकृतिक सम्पदा ढुङ्गा, बालुवा र गिट्टी निकासी गर्ने घोषणाले नेपाललाई मरुभूमि बनाउने भन्दै उक्त निर्णयविरुद्ध आक्रोशपूर्ण चेतावनी दिएको छ ।

मोर्चाका अध्यक्ष सीपी गजुरेलले विज्ञप्ति जारी गरी यो निर्णय कार्यान्वयन भएमा नेपालको चुरे क्षेत्रमा अनियन्त्रित बाढी–पहिरो जाने, पानीका स्रोतहरु सुक्ने, तराई मरुभूमिमा परिणत हुने, प्राकृतिक सन्तुलन बिग्रने निश्चित रहेको भन्दै उक्त निर्णय फिर्ता लिन चेतावनी दिएका हुन् ।

गजुरेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘अध्यादेशबाट ओली सरकारले ल्याएको बजेटको सर्वत्र विरोध भइरहेको छ । एमाले पार्टीको चुनावी घोषणापत्रका रूपमा प्रस्तुत बजेटले देशलाई डरलाग्दो ऋणमा डुबाएको कुरा स्पष्ट नै छ । यो सरकारले ‘व्यापार घाटा कम गर्ने’ भन्ने नाममा चुरे र तराई क्षेत्रमा भएका खानीजन्य र प्राकृतिक सम्पदा ढुङ्गा, बालुवा र गिट्टी निकासी गर्ने घोषणा गरेको छ । स्मरणीय छ, विगत सात वर्षदेखि यी प्राकृतिक सम्पदाको निर्यातमा प्रतिबन्ध लगाइएको थियो । यो निर्णय कार्यान्वयन भयो भने हाम्रो देशको चुरे क्षेत्रमा अनियन्त्रित बाढी–पहिरो जाने, पानीका स्रोतहरू सुक्ने, तराई मरुभूमिमा परिणत हुने, प्राकृतिक सन्तुलन बिग्रने कुरा निश्चित छ ।’

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यी प्राकृतिक सम्पदाको निर्यातमा प्रतिबन्ध लगाएकै समयमा लुकीछिपी चोरी–निकासी र दोहन हुँदा पनि बाढीले जमिन डुबानमा परेका, जमिन बगाएका र इनार, कुवाहरू सुकेर बस्ती नै सर्नुपर्ने अवस्था आएको थियो । यी तथ्यहरूको पनि बेवास्ता गर्दै गरिएको यो निर्णय तुरुन्त खारेज गर्न हामी सरकारसँग जोडदार माग गर्दछौं । अन्यथा यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी पनि यही सरकारले नै लिनु पर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :