अबको क्रान्तिको नेतृत्व पनि रोल्पाले नै गर्नेछ : नन्दबहादुर बुढामगर, केन्द्रीय सदस्य – नेकपा

नन्दबहादुर बुढा मगर २०१४ सालमा रोल्पा, दुईखोली गापा–४ (साविक पाछाबाङ–२) मा जन्मिएका हुन् । २०३५ सालमा इरिबाङस्थित बालशिक्षा प्राविमा अध्यापन गराउँदै गर्दा उनी शिक्षक संगठनमा संगठित भएर पञ्चायती व्यवस्था फाल्न क्रियाशील भएका थिए । २०४४ सालदेखि शिक्षण पेशा छोडेर राजनीतिमा लागेका बुढा २०५८ सालमा रोल्पा जनसरकार उपप्रमुख र अनेकि संघ (२००७) का महासचिवसमेत भएका हुन् । २०४७ सालमा कृष्णबहादुर महराबाट पार्टी सदस्यता लिएका बुढा २०४९ सालमा रोल्पामा वर्गसंघर्ष उठाउनेक्रममा प्रहरी हिरासत र जेलसमेत बसे । अहिले नेकपाका केन्द्रीय सदस्य तथा ‘नमूना कार्य विभाग’ का संयोजक बुढासँग भीम चापागाईंले गर्नुभएको वार्ताको सम्पादित अंश –

»»तपाईंहरूको भर्खरै केन्द्रीय समितिको बैठक सम्पन्न भएको रहेछ । के कस्ता निर्णयहरू गर्नुभयो त ?

हामीले दलाल संसदीय व्यवस्थाको विरुद्ध संघर्ष गरिरहेका छौं । दलाल संसदीय व्यवस्थालाई ध्वस्त गर्न हामीले चुनाव खारेजी अभियान संचालन गरेका थियौं । त्यसको समीक्षा पनि गरियो । हाम्रो पार्टी क्रान्तिकारी र गैर–संसदीय धाराका रूपमा स्थापित भएको छ । केही कमजोरी पनि देखिए । बैठकले तीन महिने जनजागरण अभियानसहित भावी योजना निर्माण गरेको छ ।

»»चुनाव खारेजी अभियानको समीक्षा गरियो भन्नुभयो । कस्तो रह्यो त मूल्यांकन ?

नेपालमा संसद्वादी र क्रान्तिकारी कम्युनिस्टहरूका बीचमा धु्रवीकरण बढिरहेको छ । हामीले क्रान्तिकारी धाराको निर्माण ग¥यौं । देशभक्त र आम नेपाली जनतालाई नयाँ सन्देश दियौं । संसद्वादी र क्रान्तिकारी शक्तिका बीच ध्रुवीकरण भएको छ । चुनावमा कतिपय स्थानमा संसदीय चुनाव परस्त प्रवृत्ति र आत्मसुरक्षावादी प्रवृत्ति पनि देखियो । मूलतः चुनाव खारेजी अभियान सफल रहेको निष्कर्ष निकालियो ।

»»थबाङमा तपाईंको पार्टीले चुनावमा भाग लिएको चर्चा छ नि ? चुनाव खारेजी भने पनि जित्ने ठाउँमा त छोड्नुभएन त ?

चुनाव खारेजी अभियानको कारण म चुनावको समयमा थबाङमा थिइनँ । पार्टीको निर्णय नमानेका केही चुनावपरस्त व्यक्तिहरूले चुनावमा भाग लिएका हुन् । स्वतन्त्र रूपमा उठेको पार्टीले चुनावमा कसैलाई नउठाएको, कसैको पक्षमा मतदान नगर्ने, मत नमाग्ने गरेको त यहाँलाई थाहै होला, हाम्रो पार्टीलाई बदनाम गराउन चलाइएको हो ।

»»स्थानीय समितिले पार्टीको निर्णय नमानेको भए कार्वाही गर्नुहुन्थ्यो होला । त्यसो गरेको पनि देखिएन मिलेमतो गरेको आरोप छ नि ?

कारबाही उसैबेला गर्ने कि केन्द्रीय समितिको बैठकले गर्ने भन्ने एउटा प्रश्न हो । उनीहरूलाई कारबाही हुन्छ । मिलेमतो भएको भन्ने हल्ला नियोजित छ । त्यो आरोप शतप्रतिशत झुठो छ । पार्टीले देशभरि एउटै नीति लिएको छ ।

»»रोल्पाका अन्य स्थानमा पनि चुनावमा भाग लिएको चर्चा छ । के रोल्पा क्रान्तिकारी विरासतबाट विचलित भएको हो ?

त्यस्तो हुनै सक्दैन । रोल्पामा क्रान्तिको आधार छ । पीडा, आक्रोश, निराशा, अविश्वास, चिन्ता, छटपटीको भयंकर कोलाज रोल्पामा देख्न सकिन्छ । त्यो कोलाज कुनै पनि समय विष्फोट हुन सक्छ । रोल्पाले फेरि पनि क्रान्तिकारी आन्दोलनको नेतृत्व गर्नेछ । सहिद परिवारका सदस्यले नै मतपेटिकामा आगो लगाएका छन् । त्यो आक्रोश भोलि सबै रोल्पालीको आक्रोशमा बदलिने दिन धेरै टाढा छैन । 

»»रोल्पामा क्रान्तिकारी आन्दोलनको भविष्य कस्तो देख्नुभएको छ ?

रोल्पा राष्ट्रवादी चेतना भएको, क्रान्तिकारी कम्युनिस्ट भएको मोहनविक्रम, मोहन वैद्य, बर्मन बुढा, तेजमान घर्तीहरूले निर्माण गरेको जिल्ला हो । रोल्पा पछिल्लो समय जनयुद्धको आधारभूमि पनि हो । त्यसैले रोल्पा दलाल पुँजीपति वर्गको क्रीडास्थल बन्न सक्दैन । त्यसैले रोल्पामा क्रान्तिकारी आन्दोलनको भविष्य उज्ज्वल छ ।

»»प्रसङ्ग बदलौं, तपाईंले नमूना कार्य विभागको नेतृत्व पनि गरिरहनुभएको छ । के के गर्दै हुनुहुन्छ ?

पार्टीले मलाई नमूना कार्यको जिम्मा दिएको छ । मैले सो विभागको काम गरिरहेको छु । थबाङमा सहिद स्मृति बहुउद्देश्यीय भवन निर्माण सकिन लागेको छ । देशको कुनै भागमा जनयुद्ध संग्रहालय बनाउने सोच छ । सहिद र जनयुद्धकालमा सेना, प्रहरीले जलाएका घरहरू निर्माण गर्ने योजना पनि छ ।

»»तपाईं जनताको सेवाका लागि श्रम गरिरहने नेताका रूपमा धेरैले चिन्छन् । त्यस्तो प्रेरणाको स्रोत के होला ?

कम्युनिस्टहरूले मानसिक श्रम र शारीरिक श्रमलाई समन्वय गर्नुपर्छ । त्यसलाई मजदुरहरूको बुद्धिजीवीकरण र बुद्धिजीवीहरूको मजदुरकरण पनि भन्न सकिन्छ । म व्यक्तिगत रूपमा श्रमिकजन र श्रमप्रति भित्रैदेखि आस्था राख्छु । वास्तविक कम्युनिस्टको परिचय मैले दिन खोजेको छु । दलाल सरकारले श्रमिकहरूलाई विदेश पलायन गराउने, नेपालमा श्रमलाई बेवास्ता गर्ने गरिरहेको छ । हाम्रो आचरण र व्यवहार गरिब, श्रमिक जनताको जीवनजस्तै श्रममय हुनुपर्छ । त्यसप्रति ममा गर्व छ ।

»»श्रमप्रति आस्था नभएका, श्रमिकलाई हेलाहोचो गर्नेहरूप्रति यहाँको धारणा ?

सबैभन्दा पहिला मुख्य कुरा के हो भन्दा श्रममा लागेकाहरूलाई विश्वास गर्ने, उनीहरूलाई सम्मान गर्ने, आफू पनि जति सकिन्छ सहभागी हुने, समाजलाई ठगेर होइन श्रम गरेर बाँच्ने आदत विकास गराउनु कम्युनिस्ट लक्ष्य हो । मानवजातिको शारीरिक र मानसिक विकास नै श्रमका कारण भएको विज्ञानले पुष्टि गरिसकेको छ । श्रम नगरेको भए मान्छे जङ्गगलमै हुन्थ्यो होला । श्रमप्रति आस्था नगर्नु भनेको कम्युनिस्टको खोल ओढेर अर्कै धन्दा गर्नु हो । त्यसरी लक्ष्यमा पुग्न सम्भव छैन । नेकपाले शारीरिक र बौद्धिक वा मानसिक दुवै श्रमलाई आत्मसात गर्ने नीति लिएको छ । नेताहरूले निश्चित समय अनिवार्य शारीरिक श्रम गर्ने नीति लिएको छ । त्यसैले श्रम र श्रमिकजनप्रतिको दृष्टिकोण सर्वहारा वर्गीय बनाउन, रूपान्तरण हुन अनुरोध गर्छ ।

»»केन्द्रीय नेता भएर पनि तपाईं थबाङमा सामुदायिक भवन बनाउन जनतासँगै ढुंगा बोकेको देखिन्छ । तपाईंको हातमा ठेला छन् । ढाडको छालसमेत उत्रनेगरी श्रम गर्नु भएछ । तपाईंका तीता अनुभव पनि त होलान् नि ?

श्रमिक जनतालाई हेप्नेहरूले पीठ पछाडि मेरो कुरा काटेका होलान् तर पार्टी र नेतृत्वले श्रमप्रति सम्मान गर्दै आएको छ । समाजका लुटेरा, फटाहा र दलालहरूले नकारात्मक दृष्टिले हेरेका पनि हुनसक्छन् । त्यस्ता तत्वहरूलाई हामीले धिक्कार्नुपर्छ । तीतो अनुभव नहुने कुरा भएन तर सुखद् अनुभूति नै मुख्य पक्ष हो ।

»»रातो खबर साप्ताहिकमार्फत् थप केही भन्न चाहनुहुन्छ कि ?

जनप्रिय रातो खबर साप्ताहिकले मेरो विचार जनतासमक्ष पु¥याउने अवसर दिएकोमा आभारी छु । १० वर्षको जनयुद्धमा महत्वपूर्ण भूमिका खेलेका र शान्तिप्रक्रियामा उत्पीडन र अपमान झेलिरहेका जनताको पीडा, कथा–व्यथा समेटोस् । उनीहरूलाई क्रान्ति र मुक्तिको बाटो देखाओस्, अँध्यारो बाटोमा दियो बालिरहोस् । रातो खबर साप्ताहिकको यो काम कस्तै अवस्थामा पनि नरोकियोस् ।

२०७४ साउन १८ गते १० : ०३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :