२२ दलीय मोर्चामा विप्लव नेकपा पनि थपियो

मोर्चाले भन्यो– नागरिकको जीवनरक्षा गर, नेकपाका नेता–कार्यकर्ता रिहा गर

२२ दलीय मोर्चामा विप्लव नेकपा पनि थपियो

काठमाडौँ : विभिन्न कम्युनिस्ट पार्टी र सङ्गठनहरू सम्मिलित २२ दलीय मोर्चामा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पनि सामेल भएको छ । मोर्चा अब २३ दलीय बनेको छ । मोर्चाको भर्चुअल बैठकले सरकारले पेस गरेको नागरिकता विधेयक र सरकार र नेकपाबीच भएको वार्ता–सहमतिअनुसार बन्दीहरू रिहा नगरेकोमा बिरोध गरेको छ ।

केपी ओली सरकार राष्ट्रघाती, जनविरोधी कार्यमा तल्लीन रहेको तर जनताको समस्याप्रति कुनै ध्यान नदिएको निष्कर्ष निकाल्दै बैठकले सरकारले हालै जारी गरेको नागरिकता विधेयक खारेज गरेर विज्ञहरूको सुझाव लिई नयाँ तरिकाले नागरिकताको समस्या समाधान गर्नुपर्ने ठहर पनि गरेको छ ।

बैठकले नेकपा र सरकारबीच गत फागुन २१ गते भएको सहमतिअनुसार सरकारले नेकपाका नेता–कार्यकर्ता रिहा नगरेको भन्दै तुरुन्त रिहा गर्न माग पनि गरेको छ । सहमति भएको २ महिना बितिसक्दा पनि सरकारले सहमतिअनुसार नेकपाका नेता–कार्यकर्ता रिहा नगरेको भन्दै तुरुन्त रिहा गर्न २२ दलीय मोर्चाले माग गरेको हो ।

सबैखाले समस्याहरूको कारण वर्तमान संसदीय व्यवस्था नै भएकाले यो व्यवस्थाको विकल्प दिनुपर्ने ठहर गर्दै बैठकले बर्तमान सरकार जनताका आधारभूत समस्याको समाधान गर्न असफल भएको बताएको छ । कोरोना महामारीबाट प्रभावितहरूलाई उपचार र बन्दाबन्दीका कारण समस्यामा परेकाहरूलाई गाँस, बास, कपासको व्यवस्था गर्न पनि बैठकले माग गरेको छ । यस्तै बैठकले एमसीसी खारेज गर्न पनि माग गरेको छ ।

बैठकमा नेकपा (क्रान्तिकारी माओवादी) बाट सीपी गजुरेल, नेकपा मसालबाट रामप्रसाद पुरी, राष्ट्रिय जनमोर्चाबाट आनन्द शर्मा, क्रान्तिकारी माओवादीबाट रामसिंह श्रीस, नेकपा मालेबाट सीपी मैनाली, नेकपाबाट ऋषि कट्टेल, राष्ट्रिय जागरण मञ्चबाट गुणराज लोहनी, पुष्पलाल प्रतिष्ठानबाट लोककृष्ण भट्टराई, राष्ट्रिय जागरण परिषद्बाट साध्यबहादुर भण्डारी, कर्णजित बुढाथोकी नेतृत्वको माओवादी केन्द्रबाट रङ्गनाथ ढकाल, पुनर्गठित माओवादी केन्द्र गोपाल किराँतीबाट आलोक रायमाझी, नेकपा बोल्सेभिकबाट रवीन्द्र श्रेष्ठ, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबाट नवीन भण्डारी, समाजवादी मञ्चबाट देवीदत्त पाण्डेलगायतको सहभागिता थियो ।

कार्यगत एकतामा सम्मिलित २२ राजनीतिक दलमा नेकपा (मसाल), नेकपा (क्रान्तिकारी माओवादी), राष्ट्रिय जनमोर्चा, नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (माओवादी केन्द्र), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय जागरण मञ्च, जनसमाजवादी पार्टी, नेकपा (संयुक्त), राष्ट्रिय जागरण परिषद्, नेपाल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेकपा (बोल्सेबिक), राष्ट्रवादी केन्द्र, नेपाल, एमसीसी खारेज अभियान, पुष्पलाल अध्ययन समाज, सर्वहारा कम्युनिस्ट पार्टी (माओवादी), माक्र्सवादी एकता अभियान, नेकपा (माक्र्सवादी), नेकपा माक्र्सवादी (पुष्पलाल), नेकपा (माओवादी) र समाजवादी राष्ट्रिय मञ्च, नेपाल रहेका छन् ।

आजको बैठकबाट २२ दलीय मोर्चामा विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी पनि सामेल भएको हो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :