रणनीतिक निर्णय लिँदै नेकपाको बैठक सम्पन्न

रातो खबर संवाददाता / काठमाडौं, साउन १८ : नेकपाको केन्द्रीय समितिको बैठक साउन ९ गतेदेखि १३ गतेसम्म काठमाडौं (उपत्यका विशेष ब्युरो) मा सम्पन्न भएको माओवादी सूत्रले जनाएको छ । त्यसअघि स्थायी समिति र राजनीतिक समिति पीबी) का बैठकहरू पनि भएका थिए । चुनावको समीक्षा र भावी रणनीति निर्माणर्थ भएको सो बैठकको सुरुमै सहिद कमरेडहरू धनरूप बटाला र क. सनराइज (चन्द्रबहादुर सिंह) सहित सबै ज्ञात–अज्ञातसहितहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको थियो । केन्द्रीय सदस्य एटम जिसीका बुबा जसबहादुर बुढा साउन ११ गते दुःखद् निधन भएकोले बैठकले शोक प्रस्ताव पारित गरेको थियो । बैठकले सहिद परिवार र घाइतेलाई राहतस्वरूप आर्थिक सहयोग र श्रद्धाञ्जली सभाहरू देशव्यापी सम्पन्न गर्ने निर्णय लिइएको छ । घाइते र बन्दीहरूलाई अभिनन्दन गर्ने निर्णय पनि लिएको बुझिएको छ ।

बैठकमा पार्टी महासचिव विप्लवले ‘चुनाव खारेजीको समीक्षा र आगामी कार्यभार’ शीर्षकको राजनीतिक प्रस्ताव प्रस्तुत गर्नुभएको थियो । चार दिनसम्म चलेको व्यापक छलफलपश्चात उक्त प्रस्ताव पारित गरियो । चुनाव खारेजीको समीक्षा र आगामी योजना सम्प्रेषण तथा एकरूपता कायम गर्न केन्द्रीयस्तरको प्रशिक्षण आयोजना गर्ने, भदौ दोस्रो हप्तामा स्कुलिङ चलाउने र त्यसक्रममा भौतिक श्रम अनिवार्य गर्ने र अक्टुबर क्रान्ति दिवस संयुक्त रूपमा मनाउने निर्णय पनि लिएको छ । भदौ २५ गते काठमाडौंमा विभिन्न पार्टीसँग धु्रवीकरण सम्पन्न गर्ने पनि बताइएको छ । त्यसैगरी, नारायणी नदीपूर्व र पश्चिम गरी देशलाई दुई कमान्डमा विभाजित गरी पूर्वी कमान्डको नेतृत्व क. हेमन्तप्रकाश वली ‘सुदर्शन’ र पश्चिम कमान्डको जिम्मेवारी सन्तोष बुढा मगरलाई दिइएको छ । त्यसैगरी, अन्य महत्वपूर्ण निर्णयहरू पनि भएका छन् । त्यसैगरी विद्यार्थी मोर्चाको राष्ट्रिय सम्मेलन दसैं र तिहारको बीचमा गर्ने, विद्यार्थी मोर्चाको ३० बर्से हदम्याद राख्ने र सम्पूर्ण केन्द्रीय सदस्यलाई विद्यार्थी मोर्चाबाट अन्यत्र जिम्मा दिने निर्णय पनि बैठकले गरेको छ ।

बैठकले प्रकाशनसम्बन्धी दूरगामी महत्वका निर्णयहरू गरेको छ । जसअनुसार पार्टीको प्रकाशन विभागमा रहेका कुनै पनि सदस्यले निजी प्रकाशन, प्रसारणमा संलग्न हुन पाउनेछैनन् । उनीहरूले पार्टी प्रकाशन वा निजीमध्ये एउटा रोज्नुपर्नेछ । सरकारी विद्यालयका शिक्षकले आफ्ना छोराछोरी निजीमा पढाउने, सरकारी निकायले निजी व्यवसाय गर्ने, सरकारी डाक्टरले निजी क्लिनिकमा काम गर्ने, पार्टी प्रकाशनमा बसेर निजी पत्रिका चलाउने जस्ता चौतर्फी दखिएका विकृतिमाथिको निर्णयले दूरगामी प्रभाव पार्नेछ । बैठकले सांस्कृतिक अभियान, नमूना निर्माण कार्य, शिवगढीमा सहिद स्मारक निर्माण, सहिद सनराइज खेलकूद मैदान निर्माण गर्ने, सहिद कोष निर्माण, दोरम्बा स्मृति दिवस, रामवृक्ष यादव स्मृति दिवस, वासु स्मृति दिवस र साउन २८ गते सहिद सनराइज स्मृति दिवस देशभरि मनाउने निर्णय पनि गरेको छ । नेकपाले स्थानीय तहको तेस्रो चरणको निर्वाचन र प्रदेश चुनावको पनि खारेजी गर्ने भन्दै आवश्यक योजनासमेत निर्माण गरेको जानकारी पार्टी प्रवक्ता प्रकाण्डले दिनुभएको छ ।

२०७४ साउन १८ गते २ :२७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :