स्वास्थ्य क्षेत्रमा लापरबाही – अम्बिका पाठक

स्वास्थ्य क्षेत्रमा समस्याहरू झन्पछि झन् बढ्दै गएका छन् । काठमाडौस्थित मनमोहन अस्पतालले एकजना बिरामीको एउटा समस्याको उपचार गर्दैगर्दा मृगौला झिकेर जीवन बर्बाद गरेको थियो । चितवनको क्यान्सर अस्पतालले केही वर्षअघि मात्र घाँटीको उपचार गर्न गएकी बिरामीको पाठेघरको शल्यक्रिया गरेको थियो । एकातिर यस्ता समस्याहरू रहेका छन्, अर्कोतिर सरकारी अनुदानमा आएको औषधी ठीक ढंगले वितरण नहुने, समयमा चिकित्सक नभेटिने, कार्यालय समयमा अस्पतालमा नबस्ने, प्रयोगशालाका मेसिन बिगारेर बस्ने र बिरामीलाई निजी अस्पतालमा पठाएर कमिसन खानेजस्ता समस्या छन् । दुर्गम र पहाडी जिल्लामा त कतिपय स्वास्थ्यचौकी र अस्पताल चिकित्सकविहीन छन् । स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील र मानवीय क्षेत्रलाई नै मुट्ठीभर गलत व्यक्तिहरूले बदनाम गराइरहेका छन् ।

चितवनमा रहेको क्यान्सर अस्पताल त्यस्तै एउटा समस्याग्रस्त अस्पताल हो ।

वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल विगत केही वर्षयताबाट लथालिङ्ग छ । यसको जगेर्ना र सुधारको लागि सरोकारवाला पक्ष, सरकारी पक्ष र चितवनका कुनै पनि राजनैतिक दलले चासो दिएको पाइँदैन । यसलाई केवल दुहुनो गाईको रुपमा उपयोग गरेर आफ्ना महलहरू ठड्याउँदै व्यस्त छन् । भित्रका कर्मचारीहरू पनि उस्तै छन् भने अर्कोतिर नेपालमा अवस्थित जति पनि चिनियाँ लगानीमा संचालित सरकारी संस्थाहरू छन्, त्यसलाई ध्वस्त पार्न भारतीय विस्तारवाद र त्यसका दलालहरू हात धोएर लागि परेको देखिन्छ । चितवन कृष्णपुरस्थित क्यान्सर अस्पताललाई पनि ध्वस्त पार्ने निजी चलखेल भारतीय दलालहरू निकै सलबलाएको पाइन्छ । जसको ज्वलन्त उदाहरण भक्तपुर क्यान्सर अस्पताललाई लिन सकिन्छ । जहाँ भारतीय लगानी र तिनकै दलालहरूको लगानी देख्न सकिन्छ भने तिनै व्यक्तिहरू वीपी मेमोरियल क्यान्सर अस्पतालको प्रमुख पदहरूमा बसेर काम गरिरहेको पाइन्छ । भक्तपुर क्यान्सर अस्पतालका डाइरेक्टर भएका डा. प्रकाशराज न्यौपाने चितवन क्यान्सर अस्पतालका अध्यक्ष भएर चलाएका छन् भने चितवन क्यान्सर अस्पतालमा रेडियोलोजी प्रमुख भएर बसेका डा. अन्जनीकुमार झा पूरै समय भक्तपुरमा बिताउँछन् । अनि महिनाको एक पटक तलब लिन चितवनमा देखा पर्दछन् । अनि कसरी गर्ने यिनीहरूबाट सुधार र क्यान्सर अस्पतालको प्रगति र जनताले पाउने सहज सेवा सुविधाको अपेक्षा । हुन त वर्तमानमा डा. प्रकाश भक्तपुरको डाइरेक्टरबाट बाहिरिएका हुन् भने डा. अन्जनी वीपी कोइराला क्यान्सर अस्पतालको रेडियोलोजी प्रमुखबाट हटेका हुन् तर चितवन क्यान्सर अस्पतालको रेडियोलोजी विभाग उनकै इसारामा चलिरहेको छ । पुराना कुनै पनि मेसिन चालु अवस्थामा छैनन् र बनाउने चासो विगतदेखि कसैले गरेको पाइँदैन किनकि नयाँ खरिदमा कमिसनको ठूलो हिस्सा कसरी आफ्नो हात पार्न सकिन्छ भन्नेमा नै सबैको ध्यान गएको पाइन्छ ।

हाल आएर केही महिना अगाडिबाट कार्यकारी निर्देशक डा. विजयचन्द्र आचार्य नियुक्त भएका छन् । विवादित रुपबाट निर्देशक भएका उनीविरुद्ध अदालतमा मुद्दा परेको अवस्था छ । उनीभन्दा धेरै वरिष्ठलाई पाखा लगाएर आफू कार्यकारी बन्नुमा ठूलै आर्थिक चलखेल अनि गुटबन्दी छ भन्ने सुन्न पाइन्छ । जब उनी कार्यकारी बने त्यसपछिका दिनहरूमा आंशिक सुधार भएको पाइन्छ तर जुन कुरामा विशेष सुधारको अपेक्षा छ त्यो हुन सकेको पाइँदैन । उनी कार्यकारी भएपनि डा. अन्जनीको इसारामा चलेको पाइन्छ । जसका कारण सानातिना कुराहरू माथि सुधार गरेको जस्तो देखिए पनि बिरामीमा प्रत्यक्ष सरोकार राख्ने रेडियोलोजी २३०० को मेसिन बिगारिएकै अवस्थामा छ भने बाँकी थेरापी (भित्री सेकाइ गर्ने) मेसिन कोवल्ट मेसिन हालसम्म चालु छैन । भित्री सेकाइ गर्ने हाल पनि बिरामीलाई भक्तपुर रिफर गरिन्छ । विगतजस्तै संचालक समितिको बैठक काठमाडौंमा नै गर्ने गरिन्छ । काठमाडौंको रामशाहपथमा क्यान्सरको सम्पर्क कार्यालय खोलिएको र सबै निर्णय त्यहीं बसेर गर्ने गरेको जनमानसमा व्यापक गुनासो सुन्न पाइन्छ । जब कि सम्पर्क कार्यालय खोल्नु वैधानिक नभएको जानकारहरू बताउँछन् । अस्पताल एक राजनीति गर्ने थलोको रुपमा परिणत भएको पाइन्छ । आफ्ना आसेपासे र चम्चेहरूलाई नियम विपरीत बढुवा गरिएको र विगत ८÷१० वर्षदेखि काम गरिराखेका कर्मचारीलाई स्थायी नगरिएको अवस्था देखिन्छ । रेडियोलोजी र थेरापी विभागमा मात्र लगभग ९५–१००% भत्ता बढाइएको र कर्मचारीबीच विभेद गरिएको पाइन्छ भने प्रशासनिक विभागमा पनि आफ्ना मान्छेहरूको हालीमुहाली चलाइएको पाइन्छ । जनमानसमा प्रत्यक्ष सरोकार राख्ने चिम्नी (इन्सिनेटर मेसिन) हालसम्म बनाइएको छैन । शल्यक्रियाबाट निस्केका मासुका टुक्रा अनि वार्डका फोहोर बाहिर घाँसबारीमा फालेको देख्न सकिन्छ । यसबाट मानवस्वास्थ्यमा पर्न जाने असरको जिम्मेवारी को हुने ? क्यान्सर प्रशासन कि हामी जनता ? भक्तपुरमा नै बस्नुपर्ने बोर्डको बैठक किन काठमाडौंमा मात्र राखिन्छ ? यसको पारदर्शिता खै ? अर्को मननयोग्य यो छ कि दुई वर्षअगाडि नै पूरा गरिसक्नुपर्ने निर्माणाधीन भवन किन बेवारिसे छ र समय समयमा ठेकेदार प्रेम मल्लले रकम थप माग्दै जानु र बोर्डले रकम थप्दै जानुबाट चरम चलखेल भइरहेको शंका गर्ने प्रशस्त ठाउँहरू पाइन्छ । यी हरेक कुराहरूलाई क्यान्सर अस्पताल बचाउ संघर्ष समितिले विगतदेखि वर्तमानसम्म सुधारको लागि दबाब दिंदै आइराखेको छ तर अनेकौं कुरा यो छ कि देशको गौरव नि चितवनको शान क्यान्सर अस्पताल चुर्लुम्म डुब्न लाग्दासम्म चितवनका कुनै पनि राजनैतिक पार्टीले चासो नराख्नु गम्भीर दुर्भाग्य हो । आज कार्यकारी फेरिने वित्तिकै आंशिक सुधारको नाममा जुन अस्पताल सुध्रिएको ढवाङ फुकिएको छ यो त केवल नौटंकीबाहेक केही होइन जुन भद्रगोल कमिसनतन्त्र, राजनैतिक अखडाको अन्त्य र सर्वसुलभ सम्पूर्ण यहींबाट सुचारु गरिंदैन । आफ्ना कुराहरू लागु गरी अस्पताललाई दुहुनो गाईको रुपमा प्रयोग गर्ने भ्रष्टहरूको अन्त्य हुँदैन तबसम्म वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल आफैमा क्यान्सरग्रस्त भइराख्ने पक्का छ । त्यसकारण यसको दीर्घकालीन संरक्षण, सम्वद्र्धन र निर्वाध रुपबाट स्वच्छ बनाई संचालन गर्न वर्तमान क्यान्सर प्रशासन धेरै कुरामा चनाखो बन्न जरुरी देखिन्छ र चितवनको शान बचाउन देशभक्त, जनप्रेमी र राष्ट्रप्रेमी राजनैतिक दलले चासो राख्नुपर्ने देखिन्छ । ता कि क्यान्सर अस्पताललाई भ्रष्टाचार, दलाली, कमसिनखोर, दादागिरी र आफ्ना आसेपासेको भर्तीकेन्द्र हुनबाट जोगाउन सकियोस् र पूर्वदेखि पश्चिमसम्मका गरिब जनताले सहज, सरल र झन्झटरहित ढंगले उपचार गर्न पाऊन् ।

 

२०७४ साउन १८ गते ११:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :