डा. केसीको माग पूरा गर

चिकित्सक डा. गोविन्द केसी दशौं पटक अघिल्लो सोमबारदेखि आमरण अनसनमा छन् । उनको स्वास्थ्य नाजुक बन्दै गएको छ । सरकारले वार्ता टोली गठन गरेको छ । सरकारी वार्ता टोली र केसीका प्रतिनिधिबीच चौथो चरणको वार्ता भए पनि कुनै निष्कर्ष आउन सकेको छैन । डा. केसीका मागहरू संसद् र त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित देखिन्छ । त्यसो भएको हुँदा सरकारी वार्ता टोली प्रभावहीन देखिन्छ । सरकारले राजनीतिक प्रतिबद्धता मात्र गर्न सक्छ । तर सरकारले चाहेमा संसदमा भूमिका खेल्न, विधेयक पेस गर्न, पारित गराउन सक्छ । त्रिभुवन विश्व विद्यालयलाई शिक्षा मन्त्रालयमार्फत् निर्देशन दिनसक्छ तर सरकारले जनताको आँखामा छारो हाल्ने काम मात्र गरेको देखिन्छ ।

सरकारी लापरबाही हेर्दा सरकार नै स्वास्थ्य क्षेत्रका माफियाको नियन्त्रणमा परेको आरोप नै पुष्टि हुने खालको छ । होइन भने सरकारले पटक पटक डा. केसीसँग सहमति गर्ने, लागू नगर्ने, सदनमा विधेयक पेस गर्दा सहमति उल्टाउने कार्य किन गरिरहेको छ त ? चौतर्फी प्रश्न उठिरहेको छ । सरकारले त्यसलाई निराकरण गर्न सकिरहेको छैन । डा. केसीको स्वास्थ्यमाथि सरकारले खेलवाड गरिरहेको छ । के सरकार केसीको मृत्यु चाहेको हो ? सरकार ‘न रहे बाँस न रहे बाँसुरी’ भन्ने उखान चरितार्थ होस् भन्ने चाहन्छ ? होइन भने सरकारले झारा टार्ने होइन कि सार्थक वार्ता गर्नुपर्छ । अन्यथा सरकारले चर्को मूल्य चुकाउनुपर्नेछ । सरकारको समयमै हेक्का रहोस् ।

२०७४ साउन १८ गते ३ :५४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :