जनमतसङ्ग्रहमार्फत जनतालाई निर्णायक फैसला गर्न दिनुपर्छ : नेता सिंह

जनमतसङ्ग्रहमार्फत जनतालाई निर्णायक फैसला गर्न दिनुपर्छ : नेता सिंह

काठमाडौँ : नेकपाका केन्द्रीय सदस्य पूर्णबहादुर सिंहले देशमा विद्यमान राजनीतिक सङ्कट र अस्थिरता उत्पन्न हुनुको पछाडि वर्तमान संसदीय व्यवस्था नै दोषी भएकाले यसको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था स्थापना हुनुपर्ने बताएका छन् ।

रणनीतिक संयुक्त मोर्चा, पार्टी एकताका सम्भावना र चुनौतीहरूविषयक कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिंहले दलाल पुँजीवादी संसदीय व्यवस्थामा उत्पन्न भएको राजनीतिक सङ्कटको निकास वैज्ञानिक समाजवादद्वारा जनताको शान्ति, स्थिरता र समृद्धिको चाहनालाई पूरा गर्ने उद्देश्यमा केन्द्रित संयुक्त रणनीतिक मोर्चाको उद्देश्य रहेको बताए ।

नेकपा नेता सिंहले मालेमावादको सार्वभौम सत्य र सर्वहारा वर्गीय कम्युनिस्ट पार्टीको मान्यतालाई आत्मसाथ गर्दै सत्तालाई हेर्ने, बुझ्ने र बदल्ने दृष्टिकोण र एकतालाई बोध गर्ने एकीकृत जनक्रान्तिको कार्यदिशा रहेको बताए । वर्तमान दलाल पुँजीवादी संसदीय व्यवस्थाका विरुद्ध एकीकृत जनक्रान्तिको कार्यदिशाले वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नसक्ने भएकाले सबै कम्युनिस्ट क्रान्तिकारीहरूलाई नेपाल कम्युनिस्ट पार्टीमा ध्रुवीकरण हुन उनले आह्वान पनि गरे ।

देशको विद्यमान सङ्क्रमणकालीन राजनीतिक सङ्कट समाधानका लागि प्रगतिशील संयुक्त सरकारमार्फत दलाल संसदीय पुँजीवादी व्यवस्था कि वैज्ञानिक समाजवादी व्यवस्था भन्ने विषयमा आफ्नो पार्टीले उठाएको विधि र बाटो जनमतसङ्ग्रहमार्फत जनतालाई निर्णायक फैसला गर्न दिनु पर्ने नेता सिंहको भनाइ थियो ।

वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य जागृत रायमाझीले दलाल पुँजीवादी संसदीय व्यवस्थाको अन्त्यका लागि सङ्घर्ष गर्ने, वैज्ञानिक समाजवाद स्थापनाका लागि व्यापक अभियान सञ्चालन गर्ने, राष्ट्रियता, जनतन्त्र, जनजीविकालगायत विषयमा आन्दोलन गर्नुपर्ने, रणनीतिक संयुक्त मोर्चाको केन्द्रीय तहमा बनेको संरचनालाई स्थानीय स्तरसम्म विकास गर्ने र कम्युनिस्ट पार्टीका सम्भावना र चुनौतीका बारेमा बोलेका थिए ।

शनिबार सम्पन्न कार्यक्रममा नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य ईश्वर तिमिल्सिना र नेपाल कम्युनिस्ट पार्टी (ऋषि कट्टेल) का केन्द्रीय सदस्य कृष्णहरि भट्ट पनि सहभागी थिए । उक्त भर्चुअल कार्यक्रममा  १ सय भन्दा  सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :