नेकपा नेता कञ्चनद्वारा कोरोनाविरुद्ध जनसेवामा लाग्न विद्यार्थी सङ्गठनलाई निर्देशन

सन्दर्भ : ५७ औँ विद्यार्थी दिवस

नेकपा नेता कञ्चनद्वारा कोरोनाविरुद्ध जनसेवामा लाग्न विद्यार्थी सङ्गठनलाई निर्देशन

काठमाडौँ : ५७ औँ विद्यार्थी दिवसका अवसरमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आयेजना गरेको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ ले कोरोना महामारीका विरुद्ध बृहत् जनपरिचालन अभियान सञ्चालन गर्न निर्देशन दिएका छन् । नेकपा नेता कञ्चनले बृहत् जनपरिचालन अभियान सञ्चलान गर्न जनस्वयम्सेवक गठन गरी सम्पूर्ण क्षेत्रमा स्वयम्सेवकका रूपमा खट्न र खटाउन पनि निर्देशन दिए ।

उक्त जनपरिचालन अभियानमा कोरोना अति प्रभावित क्षेत्रहरूमा एकान्तबास सञ्चालन गर्न प्रयत्न गर्ने, सङ्क्रमित क्षेत्रका सम्पूर्ण जनताको स्वाब परीक्षणका लागि सरकारलाई दबाब दिने, अक्सिजन उत्पादन प्लान्टमा विद्यार्थी स्वयम्सेवकहरू खटाउने र अनियमितता हुनेबारे निगरानी राख्ने, अस्पतालहरूमा स्वयम्सेवक खटाउने र बिरामी र अस्पतालबीचको समन्वयमा मद्दत गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी अभियानमा गाउँ र सहरमा भएका बिरामी पहिचान गरी उनीहरूलाई सेवा पुर्याउन मद्दत गर्ने, सहर र गाउँमा भएका कोरोना सङ्क्रमितको तथ्याङ्क सङ्कलन गरी स्वाब परीक्षणका लागि सरकारसँग माग गर्ने, विश्व स्वास्थ्य सङ्गठन र सरकारले निर्धारण गरेका कोरोनाबाट बच्न अपनाउनुपर्ने सावधानी अपनाउन सर्वसाधारणलाई मद्दत गर्ने र सामाजिक सद्भाव बढाउँदै भौतिक दूरी कायम गर्न सबैमा सचेतना फैलाउने, स्वयम्सेवकहरूलाई अक्सिजनमा कालोबजारी र औषधीमा हुने भ्रष्टाचार नियन्त्रण गर्न परिचालन गर्ने, कोरोनाबाट स्वस्थ रहन प्रमाणित भएका विधिहरू प्रचार गर्ने र यी कामहरूका लागि स्थानीय सरकार, अस्पताल र सरकारी प्रशासनसँग समन्वय गर्न पनि नेकपा नेता कञ्चनले निर्देशन दिए ।

भर्चुअल बैठकको अध्यक्षता सङ्गठनका अध्यक्ष चिरञ्जीवी ढकालले गरेका थिए भने सबै विद्यार्थी पदाधिकारी र केन्द्रीय सदस्यहरूले सङ्क्षिप्त मन्तव्य राखेका थिए । बैठकमा सङ्गठनका पूर्वअध्यक्षसमेत रहेका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू शरद रसाइली र पूर्णबहादुर सिंहको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :