खाली खुट्टा हिँडेर अनशनकारीहरूलाई भेट्न आइपुगे टिस्टावासी

काठमाडौं / साउन १७ : गोर्खा जनमुक्ति मोर्चा टिस्टा शाखाको नेतृत्वमा आज २ सयभन्दा बढी मानिसहरू खालीगोडा हिँडेर अनशनकारीहरूलाई भेट्न कालेबुङ आइपुगेका थिए । “अनशनकारीहरूले गोर्खाल्याण्डको निम्ति आफ्नो प्राणको पनि पर्वाह नगरी जुन योगदान दिइरहेका छन् त्यसको सराहना गर्दै उनीहरूको हौसला प्रदान गर्न नै हामीले खाली खुट्टा हिँडेर कालेबुङसम्म आएर अनशनकारीहरूलाई भेट्ने पहल गरेका हौँ”  गोजमुमो टिस्टा शाखाका अध्यक्ष शरण कुमार क्षत्रीले पैदल यात्राबारे यसरी बताए ।

उनले बताएअनुसार पैदल यात्रामा टिस्टा, गेलखोला, २९ माईलआदि क्षेत्रका गोजमुमोलगायत अन्य राजनैतिक दलका प्रतिनिधिहरू पनि सामेल भएका थिए भने आज बिहान टिस्टा बजारबाट खाली खुट्टा उक्त पैदल यात्रा शुरू भएको थियो । पैदल यात्रामा शाखाका उपाध्यक्ष जयकुमार राई, नारी मोर्चाकी रूपा गुरुङ, गोरामुमोका सन्तोस तामाङ साथै अन्य राजनैतिक दलका प्रतिनिधिहरू रहेका थिए ।

“अनशनकारीहरूलाई उठाउन प्रशासनिक दबाव निरन्तर भइरहेको भए तापनि उनीहरूले निडर बनेर गोर्खाल्याण्डको निम्ति प्राणको आहुती दिन तयार बनिरहेका छन् । यसको कदर गर्दै हामीले खाली खुट्टा हिँडेर उनीहरूप्रति सम्मान जनाउन आएका थियौँ अनि आगामी दिनहरूमा अरूहरूले पनि अनशनकारीहरूको योगदानप्रति सम्मान प्रकट गर्न पहल गर्ने कुरामा हामी आशावादी छौँ” क्षत्रीले बताए । कालेबुङ आइरहेको समयमा विभिन्न स्थानमा गोजमुमोका प्रतिनिधिवर्ग, समष्टीका पदाधिकारीगण साथै विभिन्न सङ्घ संस्थाहरूले पैदल यात्रीहरूलाई स्वागत जनाएका थिए ।
स्रोत : खबरम्यागजिन

२०७४ साउन १७ गते  ६ :५२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :