विद्यार्थी सङ्गठनको गौरवपूर्ण इतिहास र समस्याग्रस्त वर्तमान

सन्दर्भ : विद्यार्थी एकता एवम् विजय दिवस

विद्यार्थी सङ्गठनको गौरवपूर्ण इतिहास र समस्याग्रस्त वर्तमान

आज जेठ १ गते विद्यार्थी एकता एवम् विजय दिवस । ऐतिहासिक आवश्यकताबोध र पहलकदमीको दिन । निरङ्कुशताको पराजय र क्रान्तिकारिताको विजयको दिन ! यस अवसरमा सम्पूर्ण विद्यार्थीलगायत समस्त नेपाली जनसमुदायमा ५७ औँ विद्यार्थी एकता एवम् विजय दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछाैँ । यो गौरवपूर्ण दिनमा सर्वप्रथम नेपाली विद्यार्थी आन्दोलनका प्रथम सहिद गङ्गालाल श्रेस्ठ, महान् दसबर्से जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेल, अखिल क्रान्तिकारीका तत्कालीन उपाध्यक्ष बेनोज अधिकारी, एकीकृत जनक्रान्तिका प्रथम विद्यार्थी सहिद, सङ्गठनका तत्कालीन केस तथा सीटीईभीटी उपत्यका जिल्ला अध्यक्ष प्रज्वल शाहीलगायत देशको आमूल रूपान्तरणका निम्ति जीवनको उत्सर्ग गर्ने सम्पूर्ण सहिदहरूप्रति उच्च सम्मानसहित हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ । सङ्गठनका तत्कालीन महासचिव पूर्ण पौडेल, विपीन भण्डारीलगायत हजाराैँ बेपत्ता योद्धाहरूको विशेष स्मरणसहित सम्मान प्रकट गर्दछौँ । आजको दिनमा सहिद तथा बेपत्ता योद्धाहरूको सपना मर्न नदिने प्रतिबद्धता पनि व्यक्त गर्दछौँ ।

गौरवपूर्ण इतिहास

जागरण, दबाब र प्रतिपक्षीय आन्दोलनको पर्याय विद्यार्र्थी सङ्गठन निरङ्कुश राणाशासनकै बीचमा ऐतिहासिक पहलकदमीसहित सङ्गठित भएको देखिन्छ । जनताको वाक्–स्वतन्त्रतामाथिको प्रतिबन्ध, जनताका छोराछोरीले निर्बाध पढ्न पाउने अधिकारमाथिको प्रतिबन्ध, राणा शासकहरूको बोली कानुन बन्ने चरम दमन र निरङ्कुशताका बीचमा सुरुआत भएको विद्यार्थी आन्दोलन गौरवपूर्ण छ । नेपाली विद्यार्थी आन्दोलनको इतिहासमा सर्वप्रथम १९९१ सालमा भारतको बनारसमा अध्ययनरत नेपाली विद्यार्थीले ‘नेपाली छात्र सङ्घ’ गठन गरे । १९९७ माघ १६ गते त्रिचन्द्र कलेजमा अध्ययनरत विद्यार्थी नेता, नेपालको पहिलो राजनीतिक पार्टी ‘नेपाल प्रजापरिषद्’ का सदस्य गङ्गालाल श्रेष्ठलाई राणा शासकहरूले शोभा भगवतीमा झगोली हानेर फाँसी दिए । यसले परिवर्तनकारी युवा–विद्यार्थीलाई राणा शासकहरूप्रति थप आक्रोशित बनायो । २००१ सालमा भारतको कलकत्तामा नेपाली विद्यार्थीले ‘हिमाञ्चल विद्यार्थी सङ्घ’ गठन गरे । राणाहरूको चरम दमनकारी नीतिले राणा शासनको अन्त्य गर्नुपर्ने महसुस सबैले गरेका थिए । त्यही बेला २००४ साल असार १ गते नेपालमा ‘जयतु सस्कृतम्’ नामको पहिलो सङ्गठित विद्यार्थी आन्दोलन सुरुआत भयो । यसको मुख्य भित्री उद्देश्य राणा शासनका विरुद्ध सङ्गठित रूपमा सङ्घर्ष गर्नु थियो । राणाहरूको चरम दमनका कारण बाहिरी रूपमा शिक्षामा कर्मकाण्डबाहेक इतिहास, अर्थशास्त्र, भूगोललगायत विषयहरू समावेश गर्नुपर्ने मागहरू राखेर सङ्घर्ष चर्काइरहेको थियो ।

यही क्रममा २००४ साल मङ्सिर २२ गते संस्कृत छात्रावास काठमाडौँबाट राणा शासकहरूले ४३ जना विद्यार्थीलाई निष्कासन गर्यो । विद्यार्थीले चरम दमनको प्रतिरोधका निम्ति सङ्गठित विद्यार्थी आन्दोलनको महसुस गरे । त्यही सन्दर्भमा २००६ साल असार १७ गते भूमिगत रूपमा प्रचण्डराज सिंहको नेतृत्वमा ‘अखिल नेपाल विद्यार्थी फेडरेसन’ गठन गरियो । नेपाली विद्यार्थी अन्दोलनको इतिहासमा यो नै पहिलो सङ्गठन बन्यो । राणा शासनका विरुद्ध नेपाली जनता र परिवर्तनकारी विद्यार्थीहरूले निर्णायक आन्दोलन गरिरहेको समयमा २००७ साल पुस २४ गते भारतको मध्यस्थमा राजा, राणा र नेपाली काङ्ग्रेसले त्रिपक्षीय रूपमा राष्ट्रघाती दिल्ली सम्झौता गरे । उक्त धोकापूर्ण दिल्ली सम्झौताको अ.ने.वि.फे.ले व्यापक भण्डाफोर गर्न थाल्यो । २००८ साल कात्तिक २० गते आन्दोलनका क्रममा अन्तिम राणा प्रधानमन्त्री मोहनशमशेर र गृहमन्त्री बीपी कोइरालाको आदेशमा विश्वनिकेतन हाईस्कुलमा अध्ययनरत १४ बर्से विद्यार्थी चिनियाँकाजी श्रेष्ठको भूगोलपार्क काठमाडांँमा गोली हानी हत्या गरियो । २०११ सालमा अ.ने.वि.फे.ले आफ्नो पहिलो राष्ट्रिय सम्मेलन गर्यो । उपत्यकामा क्रियाशील अन्तर–कलेज विद्यार्थी युनियन र अनेविफेबीच २०१३ सालमा एकता भएर ‘नेपाल राष्ट्रिय विद्यार्थी फेडरेसन’ गठन गरियो । २०१९ सालमा डा. केशरजङ्ग रायमाझी दरबारिया कम्युनिस्टमा पतन भइसकेपछि नेराविफेमा फुट आयो । नेराविफेको मूल प्रवाह पनि क्रान्तिकारी छविलाई बिगार्दै रुसी संशोधनवादमा फस्न पुग्यो । क्रान्तिकारी विद्यार्थीले रुसी संशोधनवादबाट मुक्त क्रान्तिकारी विद्यार्थी सङ्गठनको महसुुस गरे ।

२०२१ साल वैशाखमा त्रिचन्द्र कलेज विद्यार्थी युनियनको सक्रियतामा उपत्यकाव्यापी अन्तर–कलेज विद्यार्थी सम्मेलन सम्पन्न भयो । सम्मेलनले सबै राष्ट्रघाती असमान सन्धिहरू खारेज गर्नुपर्नेे, गोर्खा भर्ती केन्द्र पूर्णतः खारेज गर्नुपर्ने, स्ववियु खोल्न पाउने अधिकारको बहाली गर्नुपर्ने, बन्दी विद्यार्थीहरू निःसर्त रिहाइ गर्नुपर्नेलगायत माग राखी सशक्त सङ्घर्ष गर्ने निर्णय गर्यो । सम्मेलन भव्यताका साथ सम्पन्न भएको खुसीयालीमा जेठ १ गते काठमाडौँमा विशाल जुलुस गरियो । पञ्चायती सरकारले अत्तालिएर जुलुसमाथि बर्बर दमन गर्यो । सयाैँ विद्यार्थी गिरफ्तार भए । कैयाैँ विद्यार्थी र प्रहरीहरू घाइते भए । तत्पश्चात् विद्यार्थीहरू थप आन्दोलित बने । उपत्यकाव्यापी आमहडताल सुरु भएपछि पञ्चायती सरकार स्ववियु खोल्न पाउने अधिकार बहाली, गिरफ्तार विद्यार्थीको रिहाइलगायत मागहरू पूरा गर्न बाध्य भयो । यसरी २०१७ साल पुस १ गते राजा महेन्द्रले कू गरिसकेपछि राजनीतिक दल र सङ्घसंस्था खोल्न पाउने अधिकारमाथिको प्रतिबन्धका विरुद्ध विजय हासिल गरेको ऐतिहासिक दिन र उपत्यकाव्यापी विद्यार्थीहरूको एकताका रूपमा दर्ता भएको दिनको सम्झनामा प्रत्येक वर्ष जेठ १ गते एकता तथा विजय दिवसका रूपमा मनाउने गरिन्छ ।

२०२२ साल जेठमा विष्णुमतीकिनारको सुकुमबासी बस्तीमा उपत्यकाव्यापी विद्यार्थी भेलाले सुजन खरेलको संयोजकत्वमा ‘अखिल नेपाल सम्मेलन’ नामको नयाँ सङ्गठन स्थापना गर्यो । विद्यार्थी सङ्गठनको इतिहासमा २०२२ साललाई स्थापना वर्ष र उक्त सम्मेलनलाई प्रथम सम्मेलनका रूपमा लिइन्छ । प्रथम सम्मेलनपछि सङ्गठनले विद्यार्थी हकहितका साथै भारतीय साम्राज्यवादद्वारा सुस्ता र महेशपुरमा गरिएको सीमा अतिक्रमणका विरुद्ध सङ्घर्ष गरेको थियो । २०२५ जेठ ६ गते त्रिवि स्ववियुको आयोजनामा त्रिवि अडिटोरियम हलमा सङ्गठनको दोस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले विश्वकान्त मैनालीलाई संयाेजक निर्वाचित गरी भारतीय चेकपोस्ट, असमान वाणिज्य तथा पारवहन सन्धिविरुद्ध सङ्घर्ष गर्यो । २०२६ जेठ २०–२१ गते २५ जिल्लाका प्रतिनिधिको सहभागितामा पाटनको लुखुसीमा गोविन्दमान श्रेष्ठको नेतृत्वमा तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । यस सम्मेलनले सङ्गठनको नाम अनेरास्ववियु राख्ने निर्णय गर्यो । सङ्गठनको स्पष्ट विधान, नीति र कार्यक्रम पास गरी साम्राज्यवाद, विस्तारवाद, सामन्तवाद र प्रतिक्रियावादविरुद्ध सङ्घर्ष गर्ने अनि जनवादी शिक्षाप्रणाली स्थापना गर्ने स्पष्ट लक्ष्य राखेपछि प्रगतिशील विचारविरोधी समूहले २०२७ वैशाख ६ गते छुट्टै भेला गरी नेविसङ्घ गठन गर्यो ।

२०२९ असार ३–५ गतेसम्म अनेरास्ववियुको चौथो राष्ट्रिय सम्मेलन मुकुन्दबहादुर श्रेष्ठको अध्यक्षतामा केन्द्रीय समिति चयन गरी सम्पन्न भयो । झापाली विद्यार्थीले यो सम्मेलनको विरोध गर्दै बहिष्कार गरे । फासिस्ट पञ्चायती व्यवस्थाले सङ्घसंस्था नियन्त्रण ऐन ल्याएर अनेरास्ववियुलाई प्रतिबन्ध लगायो । २०२८ सालमा पञ्चायतद्वारा लागू गरिएको नयाँ शिक्षा योजना (जुन साम्राज्यवादद्वारा प्रयोगका लागि नेपाल पठाएको आयातीत औपनिवेशिक शिक्षा थियो) उक्त नयाँ शिक्षा योजनाका विरुद्ध २०२९ साल असोज २ गते जनकपुरमा आयोजित प्रदर्शनका क्रममा विद्यार्थीहरू कामेश्वर यादव र कुशेश्वर यादवको निर्मम हत्या भयो । २०३३ जेठ ९–१० गतेसम्म भारतको अयोध्यामा सङ्गठनको पाँचाैँ राष्ट्रिय सम्मेलन सम्पन्न भयो । सम्मेलनले निनु चापागाईंको अध्यक्षतामा केन्द्रीय समिति चयन गर्यो । झापाली विद्यार्थीले त्यो सम्मेलन पनि बहिष्कार गरे । विदेशी भूमिमा गरिएको सम्मेलनको विरोध गर्दै पुनः पाँचाैँ राष्ट्रिय सम्मेलन गरेको घोषणा गरी टङ्क कार्कीलाई नेता बनाए र अखिल ‘पाँचौँ’ का नामले चिनिन थाले । अनेरास्ववियुले पाँचौँ राष्ट्रिय सम्मेलनपछि पञ्चायतलाई चुनौती दिँदै आन्दोलनको शङ्खघोष गर्यो । २०३५ चैत २२ गते पाकिस्तानी प्रधानमन्त्री जुल्फिकर अलि भुट्टोलाई त्यहाँको सैन्य शासक ज्याउल हकद्वारा फाँसी दिएको विरोधमा पाकिस्तानी दूतावासलाई विरोधपत्र बुझाउने कार्यक्रमअन्तर्गत लैनचौरबाट पानीपोखरीतिर गएको विशाल विद्यार्थी जुलुस र पञ्चायती प्रहरीका बीचमा भिडन्त भयो । थुपै्र विद्यार्थी घाइते भए । कैयौँ गिरफ्तारीमा परे जसले सङ्घर्ष थप चर्कियो । स्ववियु खोल्ने अधिकारको बहाली, गिरफ्तार विद्यार्थीको रिहाइलगायत २६ सूत्रीय माग राख्दै चैत २५ गतेबाट देशव्यापी शैक्षिक हडताल सुरु भयो ।

२०३६ वैशाख ९ गते अस्कल क्याम्पसमा आयोजित विरोधसभामा प्रहरी हस्तक्षेप भयो । प्रहरीले छात्रावास लुटपाट, छात्रावासको छतबाट विद्यार्थीहरू फाल्ने र गोली हान्ने काम गर्यो । यसमा तीनजना विद्यार्थीको सहादत भयो । पञ्चायती सत्ताको हत्या र दमनले सङ्घर्ष थप पेचिलो बन्यो । सङ्घर्षको बलबाट पञ्चायत देखावटी नै भए पनि छानबिनका लागि शाही आयोग गठन गर्न बाध्य बन्यो । केही विद्यार्थी नेताहरू शरणविक्रम मल्ल, कैलाश कार्की र बलबहादुर केसीले शाही आयोगसँग सम्झौता गरी आन्दोलन रोक्न आह्वान गरे । धोकेबाज कथित नेताहरूलाई आन्दोलनकारी विद्यार्थीहरूले कालोमोसो दली ठेलागाडामा राखेर सहर घुमाए । यसमा पञ्चायतले दमन गर्यो । प्रतिरोधस्वरूप आरएनएसी र गोरखापत्र संस्थानमा आन्दोलनकारी विद्यार्थीले आगो लगाए । सङ्घर्ष गुणात्मक ढङ्गले बढ्दै गएपछि अन्ततः स्ववियु खोल्न पाउने अधिकार बहाली भयो । २०३६ जेठ १० गते पञ्चायत जनमतसङ्ग्रहको घोषणा गर्न बाध्य भयो । २०३६ भदौ २१–२३ सम्म ललितपुरमा अनेरास्ववियुको छैटाैँ राष्ट्रिय सम्मेलन भयो । सम्मेलनले लीलामणि पोखरेलको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गर्यो । २०३८ साल चैत १९–२१ सम्म भक्तपुरमा साताैँ राष्ट्रिय सम्मेलन गरी पुनः लीलामणिलाई अध्यक्ष निर्वाचित गर्यो । यहीबीचमा पार्टी विभाजन भई नेकपा (मशाल) र नेकपा (चौम) बने जसले विद्यार्थी सङ्गठनमा पनि फुट आयो ।

मशाल निकट अखिलले २०४० चैत १९–२३ सम्म भारतको गोरखपुरमा आठौँ राष्ट्रिय सम्मेलन गरी देव गुरुङलाई अध्यक्ष निर्वाचित गर्यो र अनेरास्ववियु आठाैँ के.स.का नामले चिनिन थाल्यो । चौम निकट अखिलले पनि २०४० सालमै आठौँ राष्ट्रिय सम्मेलन गरी गिरिराजमणि पोख्रेललाई अध्यक्ष बनायो र अनेरास्ववियु के.स.का नामले चिनिन थाल्यो । २०४२ सालमा मशाल निकट विद्यार्थी सङ्गठनमा फेरि फुट आयो । मोटो मशाल निकट विद्यार्थी सङ्गठनले २०४३ जेठमा भारतको गोरखपुरमा नवौँ राष्ट्रिय सम्मेलन गरी रमणकुमार श्रेष्ठलाई अध्यक्ष चयन गर्यो । यो सङ्गठनलाई अनेरास्ववियु नवौँ के.स.का रूपमा चिनिन थालियो । पातलो मसाल निकट विद्यार्थी सङ्गठनले पनि २०४३ सालमै नवाैँ राष्ट्रिय सम्मेलन गरी विनबहादुर कुँवरलाई अध्यक्ष बनायो । यसले अखिल ‘छैटौँ’ भनेर चिनाउन थाल्यो । २०४४ फागुनमा अनेरास्ववियु नवौँ के.स.ले दसाैँ राष्ट्रिय सम्मेलन गरी भानु शर्मालाई अध्यक्ष चयन गर्यो र अखिल दसौँ के.स.का रूपमा चिनिन थाल्यो । उता अखिल छैटाैँले २०४५ सालमा दसाैँ राष्ट्रिय सम्मेलन गरी टोपबहादुर रायमाझीलाई अध्यक्ष बनायो । नेकपा (चौम) निकट अखिल के.स.ले २०४३ जेठमा नवाैँ राष्ट्रिय सम्मेलन गरी पुनः गिरिराजमणि पोख्रेललाई अध्यक्ष छान्यो । त्यसपछि दसाैँ राष्ट्रिय सम्मेलन गरी प्रभुनारायण बस्नेतलाई अध्यक्ष बनाइयो ।

२०४५ चैत १० गते भारतले नेपालमा नाकाबन्दी गरेपछि विद्यार्थी सङ्गठनले चैत १८ गते व्यापार र पारवाहन सन्धि छुट्टै हुनुपर्ने र नाकाबन्दी हटाउनुपर्ने माग राख्दै भारतीय दूतावासमार्फत विरोधपत्र बुझायो । नाकाबन्दी र पञ्चायतको अक्षमताविरुद्ध चैत २१ गते विशाल र्यालीपछि त्रिचन्द्र कलेजमा आयोजित विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप, अश्रुग्याँस र लाठीचार्ज भयो । सयौँ विद्यार्थीको गिरफ्तारी र आन्दोलनकारीको कडा प्रतिरोधपछि पञ्चायतले राजधानीमा सभा–जुलुसमा प्रतिबन्ध र दुई महिनाका लागि क्याम्पसहरू बन्द गर्ने घोषणा गर्यो । २०४६ माघबाट पञ्चायतविरुद्धको आन्दोलनमा क्रान्तिकारी कम्युिनस्टहरूको साझा मोर्चा ‘संयुक्त राष्ट्रिय जनआन्दोलन’ सँगसँगै विद्यार्थी सङ्गठनले अग्रमोर्चामा रही भूमिका निर्वाह गर्यो । आन्दोलन चरमोत्कर्षमा पुगेको बेला २०४६ चैत २६ गते राती काङ्ग्रेस र ‘वाम’ मोर्चाका नेताहरूले राजासँग घुँडा टेके । गणतन्त्रको नारासहित उठेको जनआन्दोलनलाई कथित राजतन्त्रात्मक बहुदलीय व्यवस्थाको प्राप्ति र पञ्चायतको अन्त्यको नाटक मञ्चन गरी धोका दिए । उक्त षड्यन्त्रमूलक र धोकापूर्ण सम्झौताका विरुद्ध अखिल दसाैँ के.स.लगाययत विद्यार्थी सङ्गठनहरू गणतन्त्रको मागसहित सडकमा उत्रिए । नेविसङ्घ, अनेरास्ववियु (पाँचाैँ) लगायत सङ्गठनले राजा, काङ्ग्रेस र वाम मोर्चाबीचको सम्झौताप्रति समर्थन जनाउँदै विद्यार्थी आन्दोलनको चरित्र धुमिल पारे । अनेरास्ववियु दसाैँ के.स.ले २०४७ पुसमा भानु शर्माको संयोजकत्वमा ११ औँ राष्ट्रिय सम्मेलन तयारी समिति गठन गर्यो । अनेरास्ववियु के.स.ले पनि २०४७ सालमै प्रभुनारायण बस्नेतको संयोजकत्वमा एघाराैँ राष्ट्रिय सम्मेलन तयारी समिति बनायो । छैटाैँले २०४७ जेठमा एघाराैँ राष्ट्रिय सम्मेलन गरी परी थापालाई अध्यक्ष चयन गर्यो ।

२०४६ सालको जनआन्दालेनपछि क्रान्तिकारी विद्यार्थी सङ्गठनबीच एकता पैदा भयो । मशाल, नेकपा (चौम), मसाल निकट विद्यार्थी सङ्गठन र नेक्राविसङ्घबीच २०४७ पुस २९ गते एकता घोषणा भयो । भानु शर्माको संयोजकत्वमा आयोजक समिति निर्माण गरियो र सङ्गठनको नाम अनेरास्ववियु राख्ने निर्णय गरियो । २०४८ फागुन २३–२९ सम्म ललितपुर पाटनमा एकताको बाह्राैँ राष्ट्रिय सम्मेलन गरी हितमान शाक्यको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरियो । २०५० पुस ५–६ गते हेटौँडामा सङ्गठनको राष्ट्रिय भेला गरी सङ्गठनको नाम अनेरास्ववियु (क्रान्तिकारी) बनाइयो । २०५२ वैशाख १४–१८ गतेसम्म ललितपुरको पुल्चोकमा अनेरास्ववियु (क्रान्तिकारी) को तेह्रौँ राष्ट्रिय सम्मेलन गरी कृष्णध्वज खड्काको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गरियो । २०५२ साल फागुन १ गते नेकपा (माओवादी) को नेतृत्वमा महान् जनयुद्धको सूत्रपात भयो । अनेरास्ववियु (क्रान्तिकारी) ले साम्राज्यवाद, विस्तारवाद, प्रतिक्रियावाद र यथास्थितिवाद एवम् विविध खालका अवसरवादका विरुद्ध जनयुद्धलाई बिनाकुनै हिच्किचावट निःस्वार्थ ढङ्गबाट समर्थन र सहयोग गर्ने निर्णय गर्यो । परिवर्तनका निम्ति बलिदानको कोटा चुक्ता गर्दै राज्यआतङ्कको दृढतापूर्वक प्रतिरोध गरी राष्ट्रिय स्वाधीनता, महँगो एवम् एकमुष्ठ भर्नाशुल्कका विरुद्धमा आन्दोलनको नेतृत्व गर्यो ।

२०५४ साल मङ्सिर १६–२० गतेसम्म कीर्तिपुरमा सङ्गठनको १४ औँ राष्ट्रिय सम्मेलन कृष्णध्वज खड्कालाई पुनः अध्यक्षमा चयन गर्दै सम्पन्न भयो । राज्यको व्यापक धरपकडका बीच २०५८ असोज ८–१४ गतेसम्म एकताको १५ औँ राष्ट्रिय सम्मेलन विराटनगरमा देवेन्द्र पराजुलीलाई अध्यक्ष निर्वाचित गर्दै सम्पन्न भयो । उक्त सम्मेलनमा माले निकट अखिलबाट विद्रोह गरी कृष्ण केसी, हिमाल शर्माहरू क्रान्तिकारी धु्रवीकरणमा सामेल भए । २०५८ मङ्सिर ११ गते देउवा सरकारले अनेरास्ववियु (क्रान्तिकारी) लगायत अन्य जवसलाई आतङ्ककारीको आरोप लगाउँदै प्रतिबन्ध र सङ्कटकाल घोषणा गर्यो । २०५८ फागुन २२ गते सङ्गठनका तत्कालीन उपाध्यक्ष बेनोज अधिकारीलाई गिरफ्तार गरी फागुन २४ गते हत्या गर्यो । २०५९ वैशाख १३ गते सङ्गठनका महासचिव पूर्ण पौडेललगायत विद्यार्थी नेताहरूलाई काठमाडौँबाट गिरफ्तार गरी बेपत्ता पार्यो । प्रतिबन्धको बीचमा सङ्गठनले गरेका ठूल्ठूला सङ्घर्षले सरकार झुक्न बाध्य भयो । बेपत्ता पारिएका नेता–कार्यकर्ता सार्वजनिक गर्ने, मावि शिक्षा निःशुल्क गर्ने, प्रवीणता प्रमाणपत्र तह (१० जोड २) मा सरकारी लगानी बढाउनेलगायत विषयमा शिक्षा मन्त्रालयसँग विभिन्न चरणमा सम्झौताहरू भए जो आजसम्म पनि कार्यान्वयन भएका छैनन् । २०६० साल असार २०–२३ गतेसम्म सङ्गठनको सोह्राैँ राष्ट्रिय सम्मेलन काठमाडाैँमा सम्पन्न भयो । सम्मेलनले लेखनाथ न्यौपानेलाई अध्यक्ष निर्वाचित गर्यो । सङ्गठनले गरेको सङ्घर्षको बलमा पुरानो सत्ता सङ्गठनमाथिको आतङ्ककारीको आरोप फिर्ता लिन बाध्य भयो । २०६३ असोज २–५ गते काठमाडौँमा सम्पन्न सङ्गठनको सत्राैँ राष्ट्रिय सम्मेलनले पुनः लेखनाथ न्यौपानेलाई अध्यक्ष चुन्यो । २०६७ मङ्सिर २५–२८ गतेसम्म काठमाडौँमा सम्पन्न सङ्गठनको १८ औँ राष्ट्रिय सम्मेलनले हिमाल शर्माको अध्यक्षतामा केन्द्रीय समिति निर्वाचित गर्यो ।

प्रचण्ड–बाबुरामहरूको धोकाधडी, वर्गउत्थान, र नवसंशोधनवादमा पतन भइसकेपछि २०६९ असारमा पार्टी विभाजन भयो । परिवर्तनकारी, क्रान्तिकारी विद्यार्थीहरू शरद रसाइलीको नेतृत्वमा गोलबन्द भए । २०६९ असोज १६–१९ सम्म काठमाण्डौमा १९औँ राष्ट्रिय सम्मेलनबाट शरद रसाइली अध्यक्ष निर्वाचित हुनुभयो । सङ्गठनले स्कुल, कलेजको विदेशी नाम हटाउने, विदेशी विद्यार्थी नभएका कलेजहरूले इन्टरनेसनल लेख्न नपाउने, छात्रवृत्ति वृद्धि गर्ने, छात्रवृत्ति पाएका विद्यार्थीहरूले अन्य कुनै शीर्षकमा शुल्क लिन नपाउने गरी सम्झौता गर्न सफल भयो । पुनः नेकपा–माओवादी २०७१ मङ्सिर ८ मा विभाजन भएपछि वैद्य निकट अखिल (क्रान्तिकारी) ले २०७२ चैत २०–२३ गते सम्म २० औँ राष्ट्रिय सम्मेलन गरी सुरेश गौतमलाई अध्यक्ष निर्वाचित गर्यो । अकर्मण्यता र सङ्कीर्णताबाट माथि उठ्दै क्रान्तिकारी युवा–विद्यार्थीहरूले चितवनमा २० औँ राष्ट्रिय सम्मेलन गरी पूर्णबहादुर सिंहको अध्यक्षतामा केन्द्रीय समिति चयन गरे । २०७४ फागुन २७–२९ गते सम्म दाङमा २१ औँ राष्ट्रिय सम्मेलन गरी चिरञ्जीवी ढकाललाई अध्यक्ष बन्ने अवसर प्राप्त भयो ।

समस्याग्रस्त वर्तमान

राजनीतिक दल र सङ्घ–संस्थाहरू खोल्न प्रतिबन्ध गरिएको बेला भीषण प्रतिरोधको जगबाट स्थापना भएको विद्यार्थी सङ्गठनको गौरवपूर्ण इतिहास आजको दिनसम्म आउँदा समस्याग्रस्त देखिन्छ । कुनै समयमा राजनीतिक पार्टीहरूले निर्वाह गर्न नसकेको भूमिका निर्वाह गरी असङ्ख्य राजनीतिक नेता–कार्यकर्ता जन्माएको विद्यार्थी आन्दोलनले जनयुद्धमा राष्ट्रका लागि बलिदानको सगरमाथा खडा गर्यो । निजी शिक्षाप्रणालीका विरुद्ध शक्तिशाली आँधीबेहरी सिर्जना गर्यो । परिणामस्वरूप संविधानमै सीमित भए पनि शिक्षा आधारभूत तहसम्म अनिवार्य तथा निःशुल्क र मावि तहसम्म अनिवार्य हुन पुगेको छ । शिक्षालाई मौलिक हकका रूपमा उल्लेख गर्न संविधान बाध्य भएको छ । जनताले रुचाएको निकै स्थापित विद्यार्थी आन्दोलन पार्टीका नेता र विद्यार्थी नेताहरूको व्यक्तिगत स्वार्थको परिबन्धमा परेर अलोकप्रिय र आलोचित बन्दै गएको छ । क्रान्तिकारी कहलिएका विद्यार्थी सङ्गठन र नेताहरूसमेत शैक्षिक आन्दोलन आर्थिक लेनदेनमा टुङ्ग्याउने, विद्यार्थीका समस्या बुझ्नेभन्दा चन्दा कमिसनतिर केन्द्रित हुने प्रवृत्ति बढ्दो छ । विद्यार्थी नेताहरू विद्यार्थीहरूलाई स्कुल, कलेजहरूमा भर्ना गरिदिने र कमिसन लिने घृणित कार्य गरिरहेका छन् । सङ्गठनलाई रचनात्मक काममा लगाउनेभन्दा पनि इमानदार नेता तथा कार्यकर्ताहरूलाई कटाउने गर्ने र रचनात्मक चेतबाट च्यूत भएका हरिलट्ठकहरूको झुण्ड तयार गरी अर्थकेन्द्रित हुने परिपाटी बढ्दो छ । क्रान्तिकारी अभिनय गरी पार्टीका नेताहरूलाई प्रभावमा पार्ने र त्यसको आडमा साङ्गठानिक विधि र पद्धतिभन्दा माथि रही आफ्नो दुनो सोझ्याउने र पाखा लाग्ने प्रवृत्तिदेखि सजग हुनुपर्ने देखिन्छ ।

सङ्गठनका सदस्यहरूबाट लेबी नउठाउने, शैक्षिक माफियाहरूसँग चन्दा उठाउने कार्यले शैक्षिक मुद्दाहरू ओझेलमा पर्ने गरेका छन् । विद्यार्थी नेताहरू क्रान्तिकारी शक्तिहरूसँगको साँठगाँठभन्दा संशोधनवादी, प्रतिगामी तत्वहरूसँग कुम जोडिरहेका छन् । साङ्गठानिक मूल्य, मान्यता र नैतिकताको प्रश्नलाई बिर्सेर अस्वाभाविक तथा अप्राकृतिक सम्बन्ध जोडिरहेका छन् जसले कुनै बेला राजनीतिक आन्दोलनको नेतृत्व गरेको विद्यार्थी आन्दोलन कोमामा पुगेको स्थिति देखिन्छ । तसर्थ हाम्रो सङ्गठन अखिल (क्रान्तिकारी) ले सङ्गठनको गर्विलो इतिहासमाथि धब्बा लगाउने सबैखाले खराब प्रवृत्तिका विरुद्ध सङ्घर्ष गर्दै ऐतिहासिक आवश्यकतालाई पूर्ति गर्ने गरी आन्दोलनको नेतृत्व गर्नुपर्दछ । आज नेपालमा एक हदसम्म सबैले पढ्न पाएका छन् तर शिक्षा असमान छ, प्रतिस्पर्धा समान छ जसले गरिब जनताका छोराछोरीहरू सधैँ रैती बन्ने निश्चित छ । तसर्थ विद्यार्थी सङ्गठनको ओजलाई फेरि शिखरमा पुर्याउने गरी संविधानमा सीमित अनिवार्य तथा निःशुल्क शिक्षालाई सार्थक बनाउन, समान र वैज्ञानिक समाजवादी शिक्षा लागू गर्न हाम्रा पहलकदमीहरू केन्द्रित गर्नुपर्दछ ।

१ जेठ, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :