विश्वासको मत गुमाएपछि केपी ओली प्रधानमन्त्री पदबाट मुक्त, दलीय विवाद संसद्‌मा छताछुल्ल

विश्वासको मत गुमाएपछि केपी ओली प्रधानमन्त्री पदबाट मुक्त, दलीय विवाद संसद्‌मा छताछुल्ल

काठमाडौँ : प्रतिनिधिसभाबाट विश्वासको मत नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओली आजबाट पदमुक्त भएका छन् । प्रधानमन्त्री पदमुक्त भएसँगै ओली नेतृत्वमा ३ वर्षपहिले गठन भएको कथित दुईतिहाइको सरकार ढलेको छ । विश्वासको मत गुमाउनासाथ ओली स्वतः कामचलाउ प्रधानमन्त्री मात्र बनेका छन् ।

प्रतिनिधिसभाबाट सोमबार विश्वासको मत पाएको भए प्रधानमन्त्री ओलीको कार्यकालले ५ वर्ष पूरा गर्ने थियो तर आफ्नै पार्टीका सांसदहरुको समेत मत नपाएका ओलीले जम्मा ९३ मत मात्रै पाएपछि उनी प्रधानमन्त्रीबाट स्वतः पदमुक्त भएका हुन् । विश्वासको मत लिनका लागि प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभामा हाल कायम रहेको २७१ सदस्यको बहुमत अर्थात् १३६ मत गर्न आवश्यक हुन्थ्यो तर प्रधानमन्त्रीका पक्षमा ९३ मत पर्दा विपक्षमा भने १२४ मत खसेको छ । मतदानप्रक्रियामा २३२ सांसद सहभागी थिए । तीमध्ये १५ सांसद तटस्थ बसेका थिए । राप्रपा सांसद राजेन्द्र लिङ्देन सहभागी भएनन् भने एमालेको माधव नेपाल–झलनाथ समूहका सांसद पनि सहभागी भएनन् ।

राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीलाई विश्वासको मत लिनका लागि सोमबार संसद्को विशेष अधिवेशन आह्वान गरेकी थिइन् । आजको संसद् बैठकमा प्रधानमन्त्री केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आपसी विवाद छताछुल्ल हुने गरी आरोप–प्रत्यारोप गरेका थिए । त्यस्तै जसपाका अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवले एउटै पार्टीको फरकफरक धारणा सार्वजनिक गरेर पार्टीभित्रको विवाद छताछुल्ल पारेका थिए । यादवले ओलीको विपक्षमा मतदान गर्ने बताएका थिए भने ठाकुरले तथस्थ बस्ने बताएका थिए ।

यी सबै घटनाक्रमहरूले पनि संसदीय व्यवस्था खसीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने कसाईखाना हो भन्ने प्रमाणित गर्दै वैज्ञानिक समाजवादी व्यवस्थातर्फ अग्रसर हुन आमजनसमुदायलाई प्रेरित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :