महासचिव विप्लवद्वारा शिवगढीको कोरोना रिकभरी सेन्टर अनुगमन

डाक्टर भन्छन्– कोरोना रोकथाम र नियन्त्रणका लागि आईसीयू र भेन्टिलेटरमा होइन, रिकभरी सेन्टरमा ध्यान देऊ

महासचिव विप्लवद्वारा शिवगढीको कोरोना रिकभरी सेन्टर अनुगमन

काठमाडौँ : कोरोना महामारीले भारतमा पारेको सङ्कटले विश्वको ध्यान केन्द्रित गरिरहेको बेला नेपालमा पनि त्यसको प्रत्यक्ष असर परेको छ । कोरोना महामारीले अस्पतालदेखि मसानघाटसम्म भरिँदै गएका दृश्यहरूले मानिसलाई विचलित बनाउन थालेको छ । नेपालमा पनि कोरोना महामारीको दोसो लहर सुरु भएसँगै सङ्क्रमणदर र मृत्युदर उच्च हुँदै गएको छ तर निको हुने दर निकै कम देखिएको छ ।

यसैबीच कोरोना रोकथाम र नियन्त्रणका लागि कपिलवस्तुको शिवगढीमा निर्माण गरिएको एउटा रिकभरी सेन्टर निकै प्रभावकारी देखिएको छ । त्यस क्षेत्रमा कोरोनाका बिरामी बढ्दै गएपछि वैशाख १९ गते सञ्चालनमा ल्याइएको उक्त रिकभरी सेन्टरमा हाल १० जना बिरामी भर्ना छन् र तीमध्ये २ जना पूर्ण रूपमा निको भएर घर फर्किएका छन् । मानिसमा कोरोना सङ्क्रमण भैसकेपछि सुरुमा आइसोलेसनमा एउटा कोठामा राख्ने र अरूको सम्पर्कबाट टाढा राख्ने अभ्यास गरिँदै आएको छ । तर बिरामीलाई एउटा कोठामा गुम्स्याएर राख्नु गलत भएको र यसले बिरामीलाई निको बनाउने भन्दा झन् गम्भीर अवस्थामा पुर्याउने अवस्था आउन सक्ने भएका कारण बन्द कोठाभित्र नभई खुला वातावरणमा राखेर घरेलु र आयुर्वेदिक पद्धति तथा योगका माध्यमबाट बिरामीलाई निको पार्न सकिने भएकाले यसबाट जोखिम कम हुने स्वास्थ्यकर्मीको भनाइ छ ।

शिवगढीमा निर्माण गरिएको उक्त रिकभरी सेन्टर कोरोनाका बिरामीका लागि प्रभावकारी हुनुमा योग, आयुर्वेद र आधुनिक चिकित्सा पद्धतिको संयोजन भएको डाक्टर प्रकाश चन्दको भनाइ छ । उक्त रिकभरी सेन्टरमा गएर बसिरहेका कोरोना सङ्क्रमितहरूलाई हौसला प्रदान गर्न र त्यहाँको व्यवस्थापकीय पक्षका बारेमा अनुगमन गर्न बिहीबार नेकपाका महासचिव विप्लव रिकभरी सेन्टर पुगे र उनले कोरोनाका बिरामीको अवस्था देखेपछि उक्त रोगलाई पराजित गर्न मनोवैज्ञानिक ढङ्गले उत्साहित गर्दै आत्मबल प्रदान गरे ।

उक्त रिकभरी सेन्टरमा धेरैजसो बिरामीको स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएको र यो विधि निकै प्रभावकारी भएकाले राज्यले भेन्टिलेर र आईसीयू निर्माण गर्नेतिरभन्दा यस्ता रिकभरी सेन्टर बनाउनेतिर ध्यान दिनुपर्ने डा. प्रकाश चन्दले बताए । कोरोना सङ्क्रमितहरूलाई श्वासप्रश्वासको समस्या हुने, साधारण रुघाखोकी हुने, पेट दुख्ने, टाउको दुख्ने लक्षणहरू देखापर्ने गरेको स्वास्थ्यकर्मीहरू बताउँछन् । स्वास्थ्यकर्मीका अनुसार यस्तो बेलामा बिरामीलाई पर्याप्त अक्सिजन हुने ठाउँमा राख्नुपर्छ, गुम्स्याएर कोठामा राख्नु हुँदैन । अनि उपचारका हिसाबले सङ्क्रमितलाई अक्सिजनको अभावमा मर्न नदिने गरी घरेलु तथा प्राकृतिक तरिकाले उपचार गर्नुपर्दछ । मनोवैज्ञानिक तरिकाले हौसला प्रदान गर्नुपर्दछ ।

सुरुमा कोरोना भाइरस शरीरमा प्रवेश गरेको बेला केही लक्षणहरू देखा पर्छन । यस विषयमा जानकारी दिँदै डा. चन्द भन्छन्, ‘कोरोना विषयमा बाहिर शक्ति सम्पन्न राष्ट्रहरूले जुन तरिका अपनाए, त्यही गर्नुपर्दछ र अरू देशले पनि त्यही लागू गर्नुपर्छ भन्ने कुरा गलत छ । राज्यले प्रारम्भिक रूपमा कोरोना रोकथाम र उपचारको विधि नअपनाएर भेन्टिलेर र आईसीयू बनाउँदै गयो भने यो प्रणाली असफल हुन्छ । अमेरिकाजस्तो शक्ति सम्पन्न देश त असफल भएको छ भने हाम्रो देशको अवस्था झन् भयानक हुनसक्छ । त्यसकारण आधारभूत रिकभरी सेन्टरहरूमा राज्यले लगानी गर्नुपर्छ ।’

काठमाडाैँका ठुला अस्पतालहरूले एक दिनमै एक व्यक्तिबाट ४०/५० हजारसम्म बिल उठाउने गरेको अवस्था छ । कतिपय ठाउँमा पैसा र पहुँच हुनेले उपचार पाउने र नहुनेले उपचार अभावमा ज्यान गुमाउनुपर्ने अवस्था छ । यो समस्याको समाधान कसरी हुन्छ त ? यस विषयमा डा. चन्द भन्छन्, ‘काठमाडौँमा निजी अस्पतालहरूले एक दिनमै ३०/४० हजार उठाएको देखियो । यसरी सबैको उपचार सम्भव नभएका कारण सरकारले देशैभरि रिकभरी सेन्टरहरू स्थापना गरे बिरामीले बिनाकुनै ठूलो खर्च राम्रो उपचार पाउने अवस्था हुन्छ । यसमा काम गर्ने जनशक्तिलाई मात्र तलब दिए पुग्छ । बिरामीलाई बेसारपानीले गारगल गराउने, व्यायाम गराउने, योग गराउने गर्नुपर्छ । कोरोना लागेको बिरामीलाई श्वासप्रश्वासको समस्या हुन्छ तर आइसोलेसनका नाममा कोठामा गुम्स्याएर राखेको खण्डमा बिरामी निको हुने नभएर झन् सकस हुँदै जान्छ । यस्ता बिरामीलाई रिकभरी सेन्टरमा राखेर प्राथमिक उपचार गराएको खण्डमा कोरोनालाई प्रारम्भिक चरणबाटै निको पार्न सकिन्छ ।’

शिवगढीमा निर्माण गरिएको रिकभरी सेन्टरमा नेकपाका नेताहरू बाला थापा, विजयलगायतले उपचार गराइरहेका छन् । एक सातादेखि बसिराखेका बिरामीको अवस्था सुधार हुँदै आएको छ । १२ जना एन्टिजिन विधिबाट कोरोना पुष्टि भएका बिरामी त्यहाँ छन् । ती बिरामीको सेवाका लागि सीटीईभीटी चितवन जिल्ला संयोजक नक्षेत्र चन्दसहित वडा स्वास्थ्य कार्यालयका कर्मचारीसहितको टोली सक्रिय छ । यसको सबै संयोजन र नेतृत्वदायी भूमिका डा. प्रकाश चन्दले नै गरेका छन् ।

बिरामीको मनोबल बढाउन, सामान्य लक्षण भएका बिरामीलाई आईसीयूसम्म नपुर्याउन र सामान्य कुरा थाहा नपाएरै बिरामी हुने अवस्थाबाट रोक्न शिवगढीमा नयाँ मौलिक खालको उपचार विधि अपनाइएको थियो । त्यहाँ बिरामीलाई नियमित योग गराइन्छ । घरेलु जडीबुटी खुवाइन्छ । बिरामीलाई आईसीयू र भेन्टिलेटरसम्म पुग्नबाट रोक्ने उद्देश्यले सुरु गरिएको यो विधि अत्यन्तै प्रभावकारी भएको स्वास्थ्यकर्मी र सङ्क्रमितहरूको अनुभव छ ।

विश्व–मानव समुदायलाई नै प्रभावित बनाउने गरी फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रणका प्रयास प्रभावकारी बनाउने हो भने यसरी नै रिकभरी सेन्टरहरू स्थापना गरिनुपर्दछ । डा. चन्द भन्छन्, ‘परीक्षणका नाममा थरीथरीका औषधी प्रयोग गरिएको छ । सबै मानिसले आआफ्नो तरिकाले यसको प्रयोग गरेका छन् । यो तरिका गलत छ । जस्तो पखाला भए सामान्य पखालाको औषधी, टाउको दुखेको भए सामान्य सिटामोल प्रयोग गर्ने र जुन समस्या छ त्यही ठाउँमा ‘हिट’ गर्ने गरी औषधी प्रयोग गर्नुपर्छ । मनलाग्दी तरिकाले औषधी प्रयोग गर्ने र त्यसलाई बजारमा अभाव गराउनु भनेको सरासर व्यापार हो । यो बन्द गर्नु पर्दछ । बरु राज्यले यस्ता रिकभरी सेन्टरहरूको अवधारणा अघि बढाएर कोरोनाका बिरामीलाई आईसीयू र भेन्टिलेरहरूमा जानबाट बचाउन सकिन्छ । सानो प्रयासले ठूलो सफलता हासिल गर्न सकिन्छ ।’

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :