नेकपा रोल्पा सङ्गठन निर्माण र प्रचारप्रसारमा सक्रिय, सहिद मार्गमा भित्तेलेखन

नेकपा रोल्पा सङ्गठन निर्माण र प्रचारप्रसारमा सक्रिय, सहिद मार्गमा भित्तेलेखन

लिबाङ : कोरोना भाइरस सङ्क्रमणको महामारीका कारण सुरु भएको लकडाउनको समयमा नेकपा रोल्पा जिल्लाभरि पार्टीका नारालेखनमा व्यस्त भएको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारअनुसार जनयुद्धको बेला जनयुद्धका सहिदहरूका नाममा आधार क्षेत्रका जनताले खनेर निर्माण गरेको सहिद मार्गमा सहिदहरूको आदर्श समेटिएका नारा लेख्ने कार्य सुरु भएको छ । होलेरी, दहबन, नुवागाउँ, तिला र दार्बोटमा नारा लेखिसकिएको समाचारमा जनाइएको छ ।

पार्टीमाथिको प्रतिबन्ध फुकुवा भएपछि नेकपा रोल्पाले २०७७ फागुन २१ गते त्रिवेणी, गङ्गादेव, लुङ्रीलगायत स्थानमा सयौँ जनताको उपस्थितिमा जनसभा सम्पन्न गरेको थियो । ती सभाहरूलाई पार्टीका जिल्ला इन्चार्ज दिनेशविक्रम चन्द, जिल्ला सेक्रेटरी शोभाराम रानालगायत नेताहरूले सम्बोधन गरेका थिए ।

त्यसैगरी नेकपा रोल्पा जिल्ला समितिको बैठक फागुन २८ सम्पन्न भएलगत्तै सेक्रेटरी र इन्चार्ज दुवैजनाको उपस्थितिमा चैत ४ गते त्रिवेणी गाउँ समितिको बैठक र प्रशिक्षण, १४ गते गङ्गादेव गाउँ समिति, १७ गते रोल्पा नगर समिति, २१ गते लु गाउँ समिति, २३ गते सुनिल स्मृति गाउँ समिति, २६ गते माडी गाउँ समिति, २९ गते परिवर्तन गाउँ समितिमा राजनीतिक प्रशिक्षण तथा बैठक सम्पन्न गरेको थियो ।

चैत ३० गते अखिल (क्रान्तिकारी) को २३ औँ जिल्ला सम्मेलनमा झन्डै हजारजना प्रतिनिधि/पर्यवेक्षकको उपस्थितिमा लिबाङमा र चैत १३ गते कोरोना सङ्क्रमणको असरलाई ध्यानमा राखेर झन्डै १०० जनाको प्रतिनिधिमूलक उपस्थितिमा युवा सङ्गठन नेपाल रोल्पाको चौथो जिल्ला सम्मेलन बागमारामा सम्पन्न भएको थियो ।

नेकपा रोल्पाले दिएको जानकारीअनुसार जिल्लाका राजनीतिक दल, पत्रकार र नागरिक अगुवाहरूको उपस्थितिमा सर्वपक्षीय अन्तरक्रिया लिबाङमा सम्पन्न गरिएको थियोे ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :