मजदुर दिवसका अवसरमा पोर्चुगलमा विशेष छलफल

काठमाडौँ : १३२ औँ मजदुर दिवसका अवसरमा नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलले विशेष छलफल कार्यक्रम सम्पन्न गरेको छ । अवैतनिक नेपाली वाणिज्यदूत मकर हमालको उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

पोर्चुगलमा आइपुगेका नेपालीहरू विविध तवरबाट नेपालीहरूबाटै उत्पीडित भइरहेकाले उक्त क्रियाकलापलाई न्यूनीकरण तथा नियन्त्रण गर्न नेपाली समुदायले निर्वाह गर्नुपर्ने भूमिकाका विषयमा छलफल केन्द्रित भएको समाचारमा जनाइएको छ ।

कार्यक्रममा नेपाली जनप्रगतिशील मोर्चा युरोपका विभिन्न देशका अध्यक्षहरू, मोर्चाका अमेरिकाका अध्यक्ष, पोर्चुगलस्थित वैचारिक, सामाजिक तथा क्षेत्रीय समितिका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । वक्ताहरूले श्रमिक दिवसको चर्चा गर्दै पोर्चुगलमा लक्ष्मी ट्राभल्सका सञ्चालक विक्रमजङ्ग कुँवरले गरेको ठगीप्रकरण र उनलाई कानुनी कारबाहीभित्र ल्याउनुपर्ने र पीडितहरूलाई क्षतिपूर्ति दिलाउनुपर्ने विषयमा छलफल भएको थियो ।

मन्तव्य राख्नेहरूमा प्रवासी नेपाली एकता मञ्चका अध्यक्ष मदन लिम्बू, नेपाली जनसम्पर्क समितिका कार्यवाहक अध्यक्ष वकिल केसी, नेपाली जनप्रगतिशील मञ्चका प्रतिनिधि राजेन्द्र गौतम, नेपाली समाजका महासचिव ईश्वर पाण्डे, नेपाली नारी समाजकी अध्यक्ष सीता श्रेष्ठ ‘सिवानी’, नेपाली महिला समाजकी महासचिव सरिता शर्मा, नेपाली जनप्रगतिीशल मोर्चा अमेरिकाका अध्यक्ष विश्व शाह थिए ।

मन्तव्यका क्रममा गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष तिलक गैरेले विक्रमजङ्ग कुँवरलाई कारबाहीको दायरामा ल्याउन आफू प्रतिबद्ध रहेकाले आफूप्रति शङ्का नगर्न आग्रह गरेका थिए ।

नेपाली जनप्रगतिशील मोर्चा युरोपका अध्यक्ष विष्णु भुजेलले यो ठगीप्रकरणका अभियुक्तलाई कारबाहीको दायरामा ल्याउन पोर्चुगलको नेपाली समुदायमा देखिएको एकता धेरै सकारात्मक रहेको र एकदुईजना पीडितलाई मात्र क्षतिपूर्ति दिने, पीडितको बीचमा विभाजन ल्याएर दोषीलाई उम्काउने षड्यन्त्र कतैबाट भयो भने त्यसको भन्डाफोर गर्दै मोर्चाले सम्पूर्ण पीइडितले क्षतिपूर्ति नपाएसम्म यो मुद्दा उठाइरहने बताएका थिए ।

उक्त अवसरमा वाणिज्यदूत हमालले भने, ‘यो ठगीप्रकरणमा पीडितहरूलाई न्याय दिलाउनका लागि म आफैँ लागेको छु । हाम्रो सामूहिक प्रयास जारी छ । यसमा कसैले अझै प्रभावकारी उपाय ल्याउनुहुन्छ भने यो अभियानको नेतृत्व गर्न अनुरोध गर्दछु ।’

नेपाली जनप्रगतिशील मोर्चा पोर्चुगलका अध्यक्ष पूर्ण विकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन उपाध्यक्ष टङ्क खड्काले गरेका थिए भने मोर्चाका सचिव प्रकाश बस्यालले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :