लोकबाट अलग्गिएको लोकतन्त्र !

लोकबाट अलग्गिएको लोकतन्त्र !

हालैका दिनहरूमा बढिरहेको कोरोना महामारीले फेरि मानव जीवनलाई त्रासदीमय बनाइदिएको छ । छिमेकी मुलुक भारतमा एकै दिन लाखौँको सङ्ख्यामा भैरहेको कोभिड सङ्क्रमण र हजारौँको सङ्ख्यामा भइरहेको मृत्युका भयावह दृश्यले मानवीय समवेदनाका कारुनिक दृश्य हेरेर सिङ्गो मानवजाति स्तब्ध भएको छ । अस्पतालहरूमा बेडहरूको अभाव, चिकित्सक र स्वास्थ्यकर्मी समेत कोरोनाको भीषण आक्रमणमा परेर अस्पतालका बेडहरूमा छटपटाइरहेका दृश्यले समग्र स्वास्थ्य प्रणाली मात्र होइन राजनीतिक आर्थिक व्यवस्था समेत असफल भएको तथ्य छताछुल्ल छ । एउटै समुदाय र एकै ठाउँका धेरै मानिसहरूको निधनले दाह संस्कारको लागि भारतका विभिन्न घाटहरू समेत अप्रयाप्त हुँदा दाह संस्कारको लागि पनि घन्टौ कुर्नुपर्ने बाध्यताले आफन्तजनलाई झन् बढी पिडाबोध बनाइरहेको छ ।

बिरामीहरूले अस्पतालका बेडहरू भरिभराउ भएपछि सडकपेटी र सिडीहरूबाट, अस्पतालको बेडको पर्खाइमा कुरिरहेका दृश्यले त्रास र भयग्रस्त वातावरणलाई झन् अत्यास लाग्दो बनाई दिएको छ । कुनै बिरामीको निधन भए मात्र अर्को बिरामीले बेड प्राप्त गर्न प्रतीक्षा गर्नुपर्ने दृश्यले विकास र समृद्धिको नाममा ठड्याइएका गगन चुम्बी महल र आफ्नै गतिमा हुइकिरहेका मेट्रो रेल समेत शोकमग्न जस्ता देखिन्छन् ।

अर्कोतिर कोरोनाबाट बच्न भारतीय धनाढ्यहरू केहीले आफ्ना नीजि विमानबाट र केही धनाढ्यहरू विभिन्न विमानहरू बुक गरेर दुबई सिङ्गापुरतिर भागिरहेका दृश्यहरू विभिन्न सञ्चार माध्यममा सार्वजनिक भैरहेका छन् । तिनलाई पैसाको कुनै अभाव छैन, अहिले नै सम्भव हुन्थ्यो भने पृथ्वी लोकबाट बसाई सरेर अर्को कुनै ग्रहमा पुगिसक्थे । सुनको घरमा बसेर सुरक्षित हुने भए तिनले रातारात सुनैसुनले मात्र बनेको गगनचुम्बी महल निर्माण गरि सक्थे । आधुनिक चिकित्सा विज्ञानले विकसित गरेका विभिन्न औषधी र प्रविधिलाई आफ्नो काबुमा राखेर दुनियाँलाई शोषण गर्ने तिनको नियतलाई प्रकृतिले यसरी लखेट्न सक्ने थिएन होला ।

छिमेकी मुलुक भारतको यो दृश्य विभिन्न सञ्चार माध्यमका भित्ताहरूमा नियालिरहेका नेपालीजनहरूले यस्तै नियति भोग्ने भयग्रस्त मनोविज्ञान साचेर आ–आफ्ना खोरहरूमा थुनिन अभिशप्त हुँदैछ्न् । गरिबी र अभावले आक्रान्त नागरिकहरू अस्पतालका गेटबाटै फर्काइएका विभिन्न घटना, सरकारी अस्पतालको दुरावस्थाले आफैँ बिरामी भैरहेका सरकारी अस्पतालको विजोग एकातिर छ । अर्कोतिर विभिन्न मेडिकल माफिया र कर्पोरेटहरूको सेटिङमा चलिरहेका निजी अस्पतालहरूको लुटखसौटमा कुनै रोकटोक छैन । धनाढ्यहरू हेलिकप्टर बुक गरेर सिधै सुबिधा सम्पन्न निजी अस्पतालका स्विटडिलक्स बेडसम्म पुगिरहेका छ्न् । गरिबी र अभावले ग्रस्त नागरिकहरू हेलिकप्टरको आवाजले आतंकित छन्, कोरोनाले मार्ने भयो अबको फेरि गम्भीर बिरामी भयो भन्दै अटसमटस गरिरहेका छन् । उनीहरूको लागि अस्पतालका बेड, आइसियू र भेन्टिलेटर कतै खाली हुँदैनन् । उनीहरूको लागि आइसुलेसन वार्ड भनेकै साहुको ऋण कारेर बनाएको झुपडी, खुल्ला चौर र विभिन्न सामुदायिक भवन हुन सक्छन् । शहरका सुबिधा सम्पन्न अस्पताललाई मेडिकल कर्पोरेट र माफियाहरूले नाफा कमाउने उद्योगको रूपमा विकसित गरे पछिको नियति हो यो ।

पोहोर सालको बन्दाबन्दीमा कामको खोजीमा हिड्दा हिड्दै आफ्नो बरियो र भारी बोक्ने धोक्रो सिरानी हालेर कृतिपुरमा जीवन त्यागेका सुर्यबहादुर तामाङ र खानाको खोजीमा हिड्दा हिड्दै घर कहिल्यै नफर्किएका सप्तरीका मलर सदाहरूको जीवनलिलाबाट पिरोलिएका नागरिकहरूलाई लकडाउन र कोरोना भएले त्रसित भयभीत बनाउँदै लगेको छ ।

विश्वको सबभन्दा ठुलो लोकतन्त्रको दाबी गर्ने भारत र त्यहाँको लोकले भोगिरहेको बिजोगको महाभारत यो सानो आलेखमा बर्णन गर्न सम्भव पनि छैन । तथापि विकासको नाममा बनाइएका गगनचुम्बी महल, विशाल विमान स्थल, फराकिला सडक, मेट्रोरेल, स्मार्ट सिटी, भव्य टावर, सुपर सोनिक विमान, रोबोटिक र कृतिम बौद्धिकताको ध्वासलाई कोरोना महामारीले हावा फुस्किएको टायर जस्तो बनाइ दिएको छ । आफूलाई संकट पर्दा मन्दिरमा गएर याचना गर्ने मोदीको हिन्दुवादी लोकतन्त्र जनताले अलापबिलाप गरिरहँदा निरीह भएर बसेको छ । संसारको दोस्रो धेरै जनसङ्ख्या भएको देश भारत विभिन्न बहुराष्ट्रिय कम्पनीको औषधी व्यापार गर्ने र नाफा कमाउने केन्द्रमा बदलिएको छ । जति धेरै कोरोना सङ्क्रमित थपिँदै जान्छन्, उती नै बढी मुनाफा लिन सकिने होडबाजीमा लागेका बहुराष्ट्रिय कर्पोरेटहरूले स्वास्थ्यलाई नाफा कमाउने माध्यम बनाएपछि महामारी नियन्त्रण भन्दा महामारीको बढोत्तरी भैरहेको छ ।

नागरिकप्रतिको सरकारी दायित्वबाट बिमुख भैइरहेको भारतीय लोकतन्त्र हिन्दु अतिवादको पर्याय बनेर किसानमारा, मजदुरमारा, गरिबमारा, विभेदकारी बहुपासामा फसिसकेको छ । गरिबहरू बिरामी पर्दा अक्सिजन नपाएर छ्टपटाई रहेका छन् भने धनाड्यहरू कोरोनाबाट बच्न अत्याधुनिक विमानमा सवार भएर सिङ्गापुर र दुबईतिर कुदिरहेका दृश्यले संसारको ठूलो लोकतन्त्रको माला जप्दै बसिरहेको भारतीय लोकतन्त्र मोदीतन्त्र, हिन्दुतन्त्र, लुटतन्त्रको बहुरुपी अस्त्र बोकेर जनतामाथि शासन गरिरहेको छ भन्ने तथ्यसँग विश्वभरिका मानिसहरू साक्षात हुने मौका पाएका छन् ।

यता नेपालमा पनि उस्तै शासकीय मनोरोगले ग्रस्त लोकतन्त्रले रजगज मच्चाइरहेको छ । रोग, भोग र अभावले ग्रस्त नागरिकहरूको भिड कामको खोजीमा विदेशिनको लागि अध्यागमन, विमानस्थल र भारतीय नाकामा यो कोरोना महाव्याधिमा पनि ठेलमठेल भैइरहेको छ । अस्पतालमा बिरामी राख्ने बेड छैन, बुटवलदेखि काठमाडौँका अस्पताल चाहर्दा पनि आइसियू नपाएर कोभिड सङ्क्रमित बिरामीको ज्यान गएको समाचारले नागरिकको मन दुखेको छ, बिरामीको आफन्तजन भावबिह्वल भएका छन् । सरकारी अस्पतालका गल्लीसमेत बिरामीले भरीन थालेका छन् । अक्सिजन र अतिआवश्यकीय औषधीको समेत अभाव भएको छ । निजी अस्पतालहरू भने पैसा भएका बिरामीलाई मात्र छानीछानी भर्ना गरिरहेका छन्, पैसा नभए मान्छेलाई नै बन्दगी राख्ने जस्ता मानवताविरोधी गतिविधि गर्नेलाई समेत छुट दिने लोकतान्त्रिक राज्यको तमासा बुझि नसक्नु छ । गत वर्ष अतिआवश्यक मेडिकल सामग्री खरिदमा भएको आर्थिक घोटालामा जोडिएको ओम्नी जस्ता कम्पनीका हिस्सेदार,म लगानीकर्ता र योजनाकार समेत सरकारी अधिकारी र बरिष्ठ मन्त्रीहरू नै संलग्न भएका विवरणहरूले आम नागरिकले समेत लज्जाबोध गर्नुपर्ने स्थिति छ ।

सरकारी तामझाममा बालुवाटार र सिंहदरबारीय लोकतन्त्रको छहारीमा बसेर विकास र समृद्धिका मिठामिठा गीत गाइरहेका नेताहरूको कमेडी, चटक र नाटकीय प्रर्दशनीमा सत्तापक्ष र प्रतिपक्ष भनिएकाहरूबीच चर्को प्रतिस्पर्धा चलिरहेकै छ । डेढ वर्षको यो कोरोनाकालमा सरकारी अस्पतालको स्तर बृद्धि गर्ने, बेडहरू थप्ने अझ स्वास्थ्य जस्तो अति आधारभूत सेवालाई राज्यले स्वामित्व लिने अवसर कोरोनाले जुराइदिँदा पनि उल्टो मेडिकल माफियाहरूको संरक्षक र हिस्सेदार बनेर देशको समग्र स्वास्थ्य प्रणालीलाई नै तहसनहस बनाउने समाजवाद उन्मुख लोकतान्त्रिक भनिएको व्यवस्थाको व्यवहार निकै ताज्जुब लाग्दो छ ।

जनतालाई अल्मलाउन दर्जनौँ सरकारी अस्पतालको एकैपटक सिलान्यास पनि गर्ने तर बजेटको व्यवस्था नगर्ने, बरु चुच्चे रेल, भ्युटावर विभिन्न मठमन्दिर निर्माणमा अरबौ बजेट खन्याउने अनि विकास र समृद्धिको चर्को बखान गर्दै उद्घाटन गरि छाड्ने । बेरोजगारी, भोकमरी जातीय विभेदको मारमा परिरहेका नागरिकहरूका पक्षमा चर्का भाषण गर्ने तर काम चाहीँ बहुराष्ट्रिय कम्पनी, विभिन्न धार्मिक मिथक र किमबदन्तीलाई आदर्श मान्दै निगम कर्पोरेटहरू र म्यानपावरहरूको कारिन्दाको जस्तो गर्ने लोकतन्त्रलाई दलालतन्त्र, लुटतन्त्र, पुँजीपतितन्त्र, धार्मिकतन्त्रको उपमा किन नदिने ?

चुनावीय र गणितीय हिसाबकिताब आफ्नो पक्षमा पार्न प्रयोग गरिने साम, दाम, दण्ड, भेदको होडबाजीले लम्पट परिरहेको आवधिक निर्वाचन प्रणाली र बालिकमताधिकार लोकतन्त्रको लागि हात्तिको देखाउने दाँत जस्तै छ । कोरोनाले दैनिक लाखौँ नागरिकहरू सङ्क्रमित हुने र हज्जारौँ नागरिकले अस्पतालका बेडै नपाई मृत्यु भैरहेका कारुणिक दृश्य हेरीहेरी ठूलठूला चुनावी र्याली गर्ने मोदी ब्रान्डको भारतीय लोकतन्त्र उदाङ्गो भएको छ ।

रोग, भोग र बेरोजगारीले ग्रस्त नागरिक भिडमा कोरोनाको भीषण आक्रमण थेगी नसक्नु भैइसक्दा पनि विश्वास अविश्वासका संसदीय जोड–घटाउमा लिप्त ओली, ठाकुर, देउवा, दाहाल ब्रान्डको नेपाली लोकतन्त्रको घिनलाग्दो दृश्य हेरेर बस्न अभिशप्त नागरिकले यस्तो लोकतन्त्रलाई कसरी सुम्सुम्याउन सक्छन् । अस्पताल, बेड र औषधी प्राप्त गर्न घन्टौँ लाइनमा बस्नुपर्ने र अक्सिजन नपाएर निसास्सिएर छटपटाउनु पर्ने अवस्था नजिकै आइपुग्दा समेत, कर्पोरेट पुँजीपतिहरूलाई मात्र फाइदा हुने भ्युटावर र मन्दिर उद्घाटन गर्दै समय व्यतीत गर्ने शासकीय रबैयालाई प्रसय दिने कस्तो लोकतन्त्र, कस्तो लोकतान्त्रिक आचरण अनि कस्तो समाजवाद उन्मुख राजनीतिक प्रणाली ?

कोभिड –१९ को महामारीले मुख्यतः चारवटा कुरालाई राम्रोसँग उजागर गरिदियो । पहिलो कस्तो खालको सैद्धान्तिक राजनीतिक प्रणालीले समाज, अर्थतन्त्र र संकटलाई उचित दिशा दिन सक्छ । दोस्रो कस्तो खालको शासन प्रणाली प्रभावकारी हुन्छ । तेस्रो कस्तो विकास मोडेल यस्ता संकटलाई सम्बोधन गर्न सफल हुन्छ । चौथो कस्तो लोकतन्त्र दिगो हुन सक्छ ।

मानवीय संकटको बेला कुनै बनिबनाउ विचारको निरपेक्ष आग्रह या स्तुतिगायनले मात्र मानवीय संकटबाट पार पाउन मुस्किल हुन्छ । यहाँ कतिपय संसदीय लोकतन्त्रका पक्षमा वकालत गरिरहेका प्राज्ञिक बौद्धिक व्यक्तित्वहरूले समेत लोकतन्त्रका सुन्दर पक्षहरूको भरपुर ब्याख्या गर्ने यस प्रणालीका कमजोर पक्षको आलोचना गर्न पनि नहिच्किचाउने तर निष्कर्ष दिँदा संसदीय लोकतन्त्रलाई निर्बिकल्प प्रणालीको रुपमा प्रस्तुत गर्ने प्राज्ञिकहरू र यसैमा आफ्नो जीवन देख्ने विभिन्न राजनीतिक पार्टी र तिनका नेताहरूलाई कोरोना महाव्याधिले सबक सिकाउँदै लगेको पनि छ । प्रणालीको कुरै नगर्ने सिङ्गो प्रणालीको दोषलाई कुनै व्यक्तिको टाउकोमा थुपार्ने, जनपक्षीय प्रस्ताव गर्दा एकदलीय कम्युनिस्ट अधिनायकवादको ट्याग लगाइदिने, आर्थिक असमानता र विभेदका कुरा गर्दा राजनैतिक स्वतन्त्रता र लोकतन्त्रको चिरहरण भएको र हुने व्याख्या गर्ने । अराजकता अस्थिरताले निम्त्याउने अभावलाई स्वतन्त्रतामा लगेर जोड्ने कुपमन्डुकतावादी चिन्तन प्रणाली र लोकतन्त्रको छहारीमा बसेर जनतालाई अधिनायकत्व थोपर्ने राजनैतिक प्रणालीले नै लोकबाट ञलोकतन्त्र झलाई अलग्याएको छ ।

पुँजीवादी लोकतन्त्र कि समाजवादी लोकतन्त्र भनेर बहस गर्दा बनिबनाउ सिमा रेखामा कैद भएर आग्रही तर्क प्रस्तुत गर्ने कुराले मात्र पनि विकल्पको बहसलाई सङ्कुचित बनाउन सक्छ । आजको मानव जीवनलाई मानवतावादी लोकतन्त्र चाहिएको छ । मानवतावादको पक्षपाती वैज्ञानिक समाजवादी राजनैतिक प्रणाली नै आज पनि सर्वत्तोकृष्ट प्रणाली हो । हो, यस प्रणालीमा पनि लोकतन्त्रको बहुआयामिक विकास गर्न र लोकतान्त्रिक पद्धति लागु गर्ने कुरामा विगत कालको भन्दा आजको पुस्ताले कयौँ गुणा बढी मेहनत र सङ्घर्ष गर्नुपर्ने बाटो निर्विकल्प छ । बनिबनउ विचार, तर्क र प्रस्तावहरूमा मात्र अल्झिरहने कुराले मात्र पनि गतिशील समाजलाई नवीनता प्रदान गर्न सक्दैन ।

जनजीवनका हरेक आदत र घर्षणलाई ज्ञानले हुडल्न र पुराना विभेदकारी संरचनाको सिर्जनशील ध्वंस गरेर तीनको ठाउँमा नयाँ आर्थिक सामाजिक संरचना स्थापित गर्न आजका समाजवादी अभियन्ताहरू र पार्टीहरूले पनि सिङ्गो मानवजातीलाई प्रज्वलित बनाउने गरी नयाँ अवधारणमा सबैलाई विश्वस्त बनाउन मेहनत गर्नै पर्छ ।

नवउदारवादी संसदीय लोकतन्त्र, जहाँ उपचार गर्ने अस्पताल, बालबालिकाले पढ्ने शिक्षालय जस्ता आधारभूत विषय समेत पुँजीपतिहरूलाई सुम्पि दिएर नाफा घाटाको व्यापार बनाउने रमिते व्यवस्था र नागरिकहरू रोग, भोग र शोकले छट्पटिरहँदा सक्छौ पैसा तिरेर उपचार गर, किनेर खाउ, सक्दैनौँ चुप लागेर बस भनेर नागरिक आवाजलाई अध्यारो सुरुङ्गमा थुन्न प्रयास गर्ने राजनैतिक प्रणाली र व्यवस्थालाई कसरी लोकतन्त्र भन्न सकिन्छ । यो त मानिसहरूको बीचमा सधैँ विभेद बढाउदै लग्ने, लोकतन्त्रको नक्कली गीत गाएर नागरिकहरूलाई लठ्याएर आफू मोटाइरहने दलाल पुँजीवादी व्यवस्था हो ।

त्यसैले अब एक पटक पार्टी र व्यक्ति होइन व्यवस्था र प्रणाली चुन्ने अधिकार जनतालाई प्रदान गरौँ लोकबाट अलग्गीसकेको लोकतन्त्रलाई लोकसँगै जोडौँ ।

१७ वैशाख, २०७८

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :