नेकपा नेता वीरजङ्ग १९ महिनापछि रिहा, महासचिव विप्लवद्वारा स्वागत

नेकपा नेता वीरजङ्ग १९ महिनापछि रिहा, महासचिव विप्लवद्वारा स्वागत

काठमाडौँ : सरकारले लामो समयदेखि हिरासत र कारागारमा बन्दी बनाएर राखेका नेकपा केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग १९ महिनापछि शुक्रबार धरौटीमा कारागारमुक्त भएका छन् । नेता वीरजङ्गलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले कपिलवस्तुको सिबगढीस्थित आफ्नै घरमा स्वागत गरेका छन् ।

नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन मध्यपश्चिम कमान्ड इन्चार्जसमेत रहेका वीरजङ्गलाई सरकारले २०७६ असोज २९ गते दाङको राजपुर गाउँपालिका–४ बाट गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि उनलाई देशका विभिन्न ठाउँमा घुमाएर पछिल्लो चरणमा चितवन कारागारमा राखिएको थियो ।

सरकारले गत फागुन २१ गते नेकपासँग गरेको सहमतिअनुसार नेकपाका नेताहरूलाई जेल र हिरासतबाट मुक्त गरी झूट्टा मुद्दा खारेज गर्नुपर्ने थियो तर सरकारले सहमति कार्यान्वयन गर्न ढिलाइ गरेपछि नेकपा नेता वीरजङ्ग धरौटी बुझाएर कारागार मुक्त भएका हुन् । नेकपाका केन्द्रीय सदस्य वीरजङ्गलाई सरकारले विभिन्न झूट्टा मुद्दा लगाउँदै र हिरासत र जेल घुमाउँदै चितवन पुर्याएको थियो ।

गत असाेज २९ गते दाङको राजपुर गाउँपालिका–४ बाट प्रहरीले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमान्ड इन्चार्ज वीरजङ्ग, राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाँठा ‘सुवास’, ब्युरो सदस्यहरू सविन, युवा सङ्गठनका केन्द्रीय अध्यक्ष पाटन, बेपत्ता योद्धा परिवार समाजका अध्यक्ष सुन्दर, रुकुम इन्चार्ज चन्द्र बुढा, रोल्पा इन्चार्ज प्रयास, दाङ इन्चार्ज विक्रम, सल्यान इन्चार्ज विश्व, दाङ सेक्रेटरी प्रदिपसहित २१ जनालाई गिरफ्तार गरेको थियो ।

नेपाल सरकार र नेकपाबीच ३ बुँदे सहमति भएको दुई महिनासम्म पनि मुद्दा फिर्ता प्रक्रिया र बन्दी छोड्ने बारे राज्यले ध्यान नदिएपछि नेकपा पक्ष असन्तुष्ट बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :