नेता–कार्यकर्ताको सैद्धान्तिक जग बलियो बनाउछौं : रणवीर

काठमाडौं / साउन १६ : नेकपाका नेता भरत बम ‘रणवीर’ ले आफ्ना नेता तथा कार्यकर्ताहरुको सैद्धान्तिक जग मजबुत बनाउन र उनीहरुमा कम्युनिस्ट विश्वदृष्टिकोण निर्माण गर्नको लागि स्कुलिङ्ग सञ्चालन गर्ने बताउनु भएको छ । नेकपाको स्कुलिङ्ग विभागका सदस्यसमेत रहेका नेता रणवीरले चुनाव खारेजी अभियानमा जाँदा आफ्नो पार्टीलाई स्कुलिङ्गको आवश्यकता महशुस भएको बताउनु भयो ।

आइतबार सम्पन्न स्कुलिङ्ग विभागको बैठकका निर्णयहरु जानकारी दिदै रणवीरले माक्र्सवादका आधारभूत सिद्धान्त दर्शन, राजनैतिक अर्थशास्त्र, वैज्ञानिक समाजवाद, विज्ञान तथा प्रविधि र सौन्दर्यशास्त्र नेताकार्यकर्ताहरुलाई पढाइने बताउनु भयो । यस्तै आठौं महाधिवेशनमा संश्लेषित विचारमा विकास गर्न खोजेको विषय नेताकार्यकर्ताहरुलाई पढाइनेछ । कम्युनिस्ट पार्टीभित्र निकै महत्वपूर्ण मानिने स्कुलिङ्ग विभागले विभिन्न तहको पाठ्यक्रम तयार पारिसकेको जनाएको छ ।

पहिलो चरणमा एउटा केन्द्रित प्रशिक्षक प्रशिक्षण सम्पन्न गरेपछि देशव्यापी संचालन गरिनेछ । प्रारम्भिक, माध्यमिक र उच्च गरी तीन तहको स्कुलिङ्गमा देशभरीका अगुवा कार्यकर्ता सहभागी हुनेछन् । नेकपाले पार्टी स्थायी समितिका सदस्य हेमन्तप्रकाश ओली सुदर्शन प्रमुख रहेको विभाग गठन गरेको छ ।

२०७४ साउन १६ गते  ५ : ४६ मा प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :