नेकपा नेता माइला लामा जेलमुक्त

सरकारले सहमति पालना नगरेपछि आफ्नै पहलमा धरौटी तिरेर रिहा

काठमाडौँ : सरकारले लामो समयदेखि हिरासत र कारागारमा बन्दी बनाएर राखेका नेकपाका नेता माइला लामा झन्डै दुई वर्षपछि बिहीबार धरौटीमा कारागारमुक्त भएका छन् । नेकपा नेता लामालाई सङ्खुवासभा अदालतले २५ हजार धरौटीमा रिहा गरेको हो ।

नेकपाका केन्द्रीय सदस्य तथा तत्कालीन उपत्यका ब्युरो इन्चार्ज रहेका लामालाई सरकारले २०७६ साल साउन ४ गते काठमाडौँको काँडाघारीबाट गिरफ्तार गरेको थियो । गिरफ्तारीपछि उनलाई जाउलाखेल प्रहरी हिरासतमा राखिएको थियो भने बम विस्फोटको मुद्दा लगाई अदालतले नख्खु जेल चलान गरेको थियो । नख्खुबाट रिहा भएलगत्तै उनलाई अर्को मुद्दामा धरान लगिएको थियो भने धरानबाट अदालतले साधारण तारेखमा रिहा गरेपछि फेरि अर्को मुद्दा लगाई सङ्खुवासभा लगिएको थियो ।

सरकारले गत फागुन २१ गते नेकपासँग गरेको सहमतिअनुसार नेकपाका नेताहरूलाई जेल र हिरासतबाट मुक्त गरी झूट्टा मुद्दा खारेज गर्नुपर्ने थियो तर सरकारले सहमति कार्यान्वयन गर्न ढिलाइ गरेपछि नेकपा नेता लामा २५ हजार धरौटी बुझाएर कारागार मुक्त भएका हुन् । नेकपाका केन्द्रीय सदस्य लामालाई सरकारले विभिन्न झूट्टा मुद्दा लगाउँदै र हिरासत र जेल घुमाउँदै सङ्खुवासभा पुर्याएको थियो ।

लामा नेकपाको सांस्कृतिक मोर्चा अखिल नेपाल जनसांस्कृतिक महासङ्घका अध्यक्ष तथा लोकप्रिय जनवादी गीतकार/सङ्गीतकार पनि हुन् । लामा जनयुद्धका गम्भीर घाइते योद्धा पनि हुन् ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :