अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको भेला सम्पन्न

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको भेला सम्पन्न

दाङ:  अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङको तेस्रो जिल्ला भेला घोराहीमा सम्पन्न भएको छ ।
‘दलाल संसदीय व्यवस्थाको अन्त्य र वैज्ञानिक समाजवाद स्थापनाको लागि हाम्रो आन्दोलन! श्रमिकहरुको पुर्ण समानताको लागि तेस्रो दाङ जिल्ला भेला!!’ भन्ने मूल नाराका साथ भेला सम्पन्न भएको हो ।
भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोका सदस्य सबिन पोख्रेलले मजदुर आन्दोलनको चरित्र बदलिएको अवस्थामा मजदुर र मालिक बिचको अन्तरविरोध पनि बदलिएको बताए ।


 उनले मजदुरलाई २४ घण्टा काममा व्यस्त बनाइदिने र मजदुरहरुमाथिको दमन र उत्पीडनका विरुद्ध विद्रोह गर्नबाट रोक्ने पुँजीवादी नयाँ चरित्र भएको ठहर गरे ।
प्रमुख अतिथि पोख्रेलले पुँजीवादले मानवीय श्रमशक्तिलाई न्यूनीकरण प्रविधिको व्यापक प्रयोग गर्दै संसारका बहुसंख्यक मान्छेलाई बेरोजगार बनाइरहेको उल्लेख गरे ।

आफ्नो पार्टी र नेपाल सरकार बिच भएको वार्ताको प्रसंग जोड्दै उनले घोर प्रतिक्रियावादी तत्वले ३ बुँदे सहमतिलाई सेबोटेज गर्न चाहेको जिकिर गरे । उनले भने,-‘वार्तालाई सबै शक्तिले अनुमोदन गरे तर केही प्रतिक्रियावादी तत्वहरु आत्तिए ।’
अहिले प्रचण्डहरु इमान्दार निष्ठावान नेता कार्यकर्ताहरुलाई वार्ताको भ्रम छर्दै अल्मल्याउन खोजेको भन्दै उनले थपे, -‘प्रचण्डहरु नाङ्गै हिडेका मान्छेहरुले हामीलाई कपडा लगाउन सिकाउँछन् !’  ‘न चौकी हानेको न ब्यारेक कब्जा गरेको त्यसो भए हतियारको कुरा कहाँबाट आयो ?’ उनले प्रश्न गरे।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि नेकपा दाङ जिल्ला इन्चार्ज प्रदिप वलीले दलाल व्यवस्थाका विरुद्ध मजदुरहरु संगठित भइ एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवाद स्थापना गर्न अपिल गरे ।

शुभकामना मन्तव्य राख्दै नेकपा दाङ जिल्ला सेक्रेटरी गणेश चौधरीले समाजवादी राज्यव्यवस्थामा गाँस, बाँस, कपास, शिक्षा, स्वास्थ्य रोजगार राज्यले ग्यारेन्टी गर्ने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ राप्ती ब्युरो संयोजक डिल्ली वलीले मजदुरमाथि राज्यले गरेको दमन, उत्पीडन र थिचोमिचोका विरुद्ध संगठनले कडा संघर्ष गर्ने उद्घोष गरे । उनले राज्यले कलकारखानामा मान्छेलाई बेचिरहेको आरोप  लगाए ।

शुभकामना मन्तव्य राख्दै विशिष्ट अतिथि नेकपा नारायणी ब्युरो सदस्य विकाश वलीले दाङमा मजदुरहरुका हक अधिकार स्थापित गर्न भेलाले जुझारु समिति निर्माण गर्न शुभकामना दिए ।
कार्यक्रममा दाङ जिल्ला सदस्य जनक, महान, मगर मुक्ति मोर्चा दाङका संयोजक सेबेन्द्र, जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वली, अखिल नेपाल शिक्षक संगठन दाङका अध्यक्ष डिल्ली डिसी, अखिल (क्रन्तिकारी) दाङका अध्यक्ष अमर खड्का, युवा संगठन घोराही नगर अध्यक्ष पदम, दलित मुक्ति मोर्चा दाङ जिल्ला सह-सचिव पञ्चराम नेपालीको आतिथ्यता रहेको थियो ।

अभ्यासको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको अध्यक्षता अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ दाङ जिल्ला संयोजक सन्जय वलीले गरेका थिए भने सन्चालन दिनेश नेपालीले गरेका थिए ।

तेस्रो जिल्ला भेलाले सन्जय वलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । जसको उपाध्यक्षमा दिनेश नेपाली, सचिवमा अभ्यास, सहसचिवमा प्रेम परियार र कोषाध्यक्षमा राम बहादुर विक रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :