सुदुरपश्चिम विश्व विद्यालयलाई चेतावनी

अम्बिका चन्द / काठमाडौं, साउन १५ : अखिल (क्रान्तिकारी)ले कञ्चनपुरको महेन्द्रनगरमा रहेको सुदुरपश्चिमाञ्चल विश्व विद्यालयलाई शैक्षिक सुधारका विभिन्न मागसहित ज्ञापनपत्र बुझाएको छ । सुदुरपश्चिमकै शैक्षिक धरोधर मानिने उक्त विश्व विद्यालयको शैक्षिक, भौतिक, आर्थिक र नीतिगत विषयहरुलाई ज्ञापनपत्रमा समावेश गरिएको छ । अखिल (क्रान्तिकारी)ले ज्ञापन पत्रमा विद्यालयको पठन–पाठन नियमित गर्नुपर्ने, सन्दर्भ सामग्रीहरु थप गर्दै ई–पुस्ताकालयको व्यवस्था गर्नुपर्ने, संकायअनुसार पुस्तक, प्रयोगात्मक सामाग्री, खानेपानी र सवारी साधन पार्किङको व्यवस्था गर्नुपर्ने, परीक्षाफल समय सिमाभित्र प्रकाशित गर्नुपर्ने उल्लेख गरेको छ । यस्तै शैक्षिक क्यालेण्डर निर्माण गर्नुपर्ने, दोहोरो प्राध्यापन गर्ने प्राध्यापकलाई कार्वाही गर्नुपर्ने, विद्यालयका सम्पूर्ण गतिविधि वेभसाइडमा राख्नुपर्ने,विश्व विद्यालय सभाबाहेक सबै निर्णयहहरु विश्व विद्यालयको केन्द्रीय कार्यालयबाट गर्नुपर्ने, क्याम्पस प्रमुख र विभागीय प्रमुखको नियुक्ति तत्काल गर्नुपर्ने, प्रशासनिक र लेखा प्रणाली सफ्टवयर प्रणालीमा सञ्चालन गर्नुपर्नेलगायतका माग अखिल (क्रान्तिकारी)ले पहिलो चरणमा सम्बोधन गरिनुपर्ने बताएको छ ।

विश्व विद्यालयमा हुने नियुक्ति राजनीतिक भागबन्डाको आधारमा नभई वरिष्ठता, दक्षता,कार्यकुशलताको आधारमा गरिनुपर्ने, स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउनु पर्ने, पाठ्यक्रम र अनुसन्धान निर्देशक तत्काल नियुक्ति गरिनु पर्ने, प्रश्नपत्र नेपाली एवं अंगे्रजी दुई भाषामा तयार पार्नुपर्ने, कर्मचारीको व्यवस्थापन गर्नुपर्नेलगायतका माग दोश्रो चरणका सम्बोधन गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

ज्ञापनपत्रमा पहिलो चरणका माग १५ दिनभित्र र दोश्रो चरणका ३० दिनभित्र सम्वोधन नगरे कडा संघर्षका कार्यक्रम घोषणा गरिने उल्लेख छ । आइतबार विश्व विद्यालयलाई बुझाइएको ज्ञापनपत्रमा क्रान्तिकारीका केन्द्रीय सदस्य वीरेन्द्र शाह र कञ्चनपुर जिल्ला अध्यक्ष गौरव धामीले संयुक्त हस्ताक्षर गरेका छन् ।

२०७४ साउन १५ गते  ९ :३४ मा प्रकाशित

 
प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :