सबैखाले समस्याको समाधान वैज्ञानिक समाजवाद हो : नेता बास्तोला

सबैखाले समस्याको समाधान वैज्ञानिक समाजवाद हो : नेता बास्तोला

गोरखा : नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले सरकारसँग नेकपाले ३ बुँदे सहमति बाहेक भित्री रुपमा अन्य कुनै सहमति नगरेको बताउँदै उक्त सहमति कार्यान्वयनको चरणमा रहेको बताएका छन् । आइतबार नेपाल पत्रकार महासङ्घ गोरखा शाखामा आयोजीत पत्रकार सम्मेलनमा बोल्दै नेता बास्तोलाले भने ‘सहमति अनुसार सरकार पार्टीमाथिको प्रतिबन्ध फुकुवा गर्नुका साथै राजबन्दी रिहा गर्ने र झुट्टा मुद्दा खारेज गर्ने तयारीमा छ ।’

नेकपा नेता बास्तोलाले अहिलेको राजनीतिक अस्थिरता, आर्थिक संकट, बेरोजगारीको समस्या सहित जनजिविकासँग प्रत्यक्ष प्रभाव पार्ने लगायतका समस्याको जड अहिलेको संसदीय व्यवस्था नै भएको र यहि संसदीय व्यवस्थाले यी समस्याहरूको समाधान गर्न नसक्ने बताए । साथै उनले बाहिर भ्रम फैलाए जस्तो आफूहरू यसै संसदीय व्यवस्थामा सहभागी नहुने बताए । सबैखाले समस्या समाधानका लागि आफूहरूले भनेको वैज्ञानिक समाजवादी व्यवस्था नै ल्याउन जरुरी भएको नेता बास्तोलाले बताए ।

नेता बास्तोलाले आफूहरू शान्तिपूर्ण राजनीतिमा रहँदा नै सरकारले प्रतिबन्ध लगाएको र नेकपाले कुनै युद्ध सुरु नगरेको कारण हतियारको प्रश्न अनावश्क भएको बताए । यस्तै नेता बास्तोलाले वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्ने विषयमा निर्णय गर्ने जिम्मा जनतालाई दिनुपर्ने समेत बताए । उनले नेकपा राजनीतिक पार्टीहरूबीच छलफल गरी सहमति अनुसार वैज्ञानिक समाजवाद कि संसदीय व्यवस्था भन्ने विषयमा आफूहरू जनमत संग्रहमा जान तयार रहेको बताए ।

गोरखा जेलको अवलोकन तथा बन्दीहरुसँग भेटघाट

यसैबीच नेकपा सचिवालय सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ सहितको टोलीले गोरखा कारागारको अवलोकन गर्नुका साथै बन्दीहरू र सुरक्षाकर्मीहरूसँग भेटघाट गरेको छ । टोलीमा नेकपाकी केन्द्रीय सदस्य तथा गण्डक व्युरो इन्चार्ज उमा भुजेल, नेकपाका गोरखा इन्चार्ज कपिल भट्ट र पुर्व सांसद माया चेपाङ थिए ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :