चैत २४ र अबको आन्दोलन

चैत २४ र अबको आन्दोलन

कुनै दिनको विशेष महत्व रहने गरेको हुन्छ । त्यस्ता दिनलाई ऐतिहासिक भन्ने पनि गरिन्छ । नेपालको राजनैतिक इतिहासमा ती दिनहरु मध्येको एक दिन हो चैत २४ गते । सामन्तवाद, सबै खाले पुँजीवादका विरुद्ध हुँदा खाने नेपालीले विद्रोह बोलेको दिनको प्रतिक हो चैत २४ गते । त्यसैले यस दिनको छुट्टै महत्व, विशेषता र वर्गीयपक्षधरता छ । खासमा भन्ने हो भने यस दिनले नयाँ जनवादी, वैज्ञानिक समाजवादी राज्यसत्ता स्थापनाको वैचारिक आधारको प्रतिनिधित्व गर्दछ । त्यसैले नेपालमा आफूलाई लोकतान्त्रिक समाजवाद, जनताको बहुदलीय जनवाद, ‘नयाँ जनवाद’ वा समाजवादका पक्षधरहरुले यस दिनलाई सम्झिदैनन् । बरु हेयको दृष्टिकोणले हेर्दछन् । यस दिनलाई न्युनिकरण गर्न प्रयत्नरत छन् ।

लेखक : गुणराज लोहनी

अहिले नेपालमा भएको पुँजीवादी संसदीय फोहोरी राजनीतिले जनतामा देखिएको निराशा र विद्यमान राज्यसत्ताका विरुद्धको आक्रोसलाई न्यनिकरण गर्न र त्यसको विकल्प उही पुँजीवादी व्यवस्था नै रहेको भ्रम सिर्जना गरेर आफ्नो उल्लु सोझ्याउन सबै पुँजीवादी संसदवादीहरुले ‘लोकतन्त्र’ धरापमा परेको हुइयाको ध्वनीप्रतिध्वनी उराली राखेका छन् । नेपालमा संसदीय पुँजीवादी व्यवस्थाको स्थायित्व केवल चुनावमा स्पष्ट बहुमत ल्याएको पार्टी र त्यसका नेताहरुले सरकार चलाएमा देशमा समृद्धि आउँछ, नेपाली सबै सुखी रहन्छन् भनी डङ्का पिटाएकाहरु पछिल्लोक्रममा उनीहरुले अर्को राग गाउन थालेका छन् कि बुढाहरुले सरकार चलाएकाले अहिले समयस्या आएको हो । यो व्यवस्था त ठीक छ, यसैबाट जनता र देशका समस्याहरु समाधान गर्न सकिन्छ ।

लगभग दुईतिहाई मत ल्याएर सरकार बनाएको तत्कालिन सरकारी नेकपा यसबीचमा सरकार चलाउन असफल त भयो नै साथै कम्युनिस्ट नामको पार्टी नै औपचारिकरुपमा ३ टुक्रा हुन पुग्यो । र, सरकार र संसदभित्र फोहोरी संसदीय खेलको पुनरागमन भएको छ । देशभित्र विदेशी शक्तिहरुको कुटनीतिक मल्लयुद्ध नै भैराखेको छ । दक्षिण, पश्चिम र उत्तरका शक्तिहरु नेपालमा मैदान मारिराखेका छन् । यहाँका पुराना र नयाँ संसदवादीहरु सतरञ्जका गोटी बनिराखेका छन् । यी तथ्यहरुबाट नेपालको राजनीति जुन परिस्थितिबाट गुज्रिरहेको छ, त्यसले आगामी दिनहरु देश र जनताकालागि अप्रिय मात्र नभएर अस्तित्व डगमगाउनु पर्ने दृश्यहरुको पटाक्षेप हुँदैछ भन्न अप्ठ्यारो मान्नु पर्दैन ।

यो अवस्थामा २४ गतेको स्मरण गर्दैगर्दा नेपाली जनता र देशको पक्षमा गठन भएका पार्टी र नेताहरुले अर्को चैत २४ गतेको तयारी गर्नुपर्दछ भन्ने शिक्षा लिनु पर्दछ । किन भने चैत २४ गतेहरु विगतमा धेरै पटक फरकफरक परिवेश र परिस्थितिमा आएका छन् र नेपाली समाजरुपान्तरण नयाँनयाँ भूमिका निभाएका छन् ।

२०३६ सालको चैत २४ गतेले पञ्चायती व्यवस्थालाई ठूलो चुनौति दिएको थियो, जसकाकारण राजामहाराजाहरु ‘सुधारिएको पञ्चायती व्यवस्था कि बहुदल’को पक्षमा जनमतसंग्रह घोषणा गर्न बाध्य भएका थिए । तर पञ्चायती व्यवस्था विरुद्धको आन्दोलनको नेतृत्व गरेका भनेका आफूलाई खाँटी प्रजातन्त्रवादी भनाउने नेपाली काँग्रेस र त्यसका मुख्य नेता बीपी कोइरालाले पञ्चायती संरचना अन्तर्गत नै भएको जनमत संग्रहलाई स्वीकारेकाकारण परिणाम पञ्चायतकै पक्षमा गएको थियो । यो परिघटनालाई अहिलेको सन्दर्भमा झनै शिक्षाकोरुपमा लिन जरुरी छ । ठीक त्यसैगरी, २०४६ सालको चैत २४ गतेले पञ्चायतलाई कहिल्यै नबौरिने गरी इतिहासको पानामा सीमित गरिएको थियो । तत्कालिन काँग्रेस-वाममोर्चाको आन्दोलन गोचक्करमा फसेपछि क्रान्तिकारी कम्युनिस्टहरुको सहभागितामा बनेको संयुक्त राष्ट्रिय जनआन्दोलनले चैत २४ गतेका दिन नेपाल बन्द घोषणा गर्दा उपत्यकाका भक्तपुर र ललितपुरका जनताले घरेलु हतियार बोकेर राजधानीका सडकहरु भरिदिएका थिए, त्यसले मात्र कफ्र्यु तोडेको थियो । सेना र पुलिसको घेरामा सुरक्षित रहेका शासकहरुले आन्दोलन तुहाउन काङ-वाम मोर्चालाई रातारात बोलाएर “पार्टीहरुमाथिको प्रतिबन्ध” हटाएर २ सयदेखिको शाही शासन बचाएका थिए । त्यसैले भन्न सकिन्छ एकदलीय पञ्चायती व्यवस्थाको काल चैत २४ बनेको थियो ।

“कम्युनिस्टहरु आफ्ना दृष्टिकोण र उद्देश्यहरुलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । उनीहरु खुल्लमखुल्ला के घोषणा गर्दछन् भने सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक भताभुङ्ग गरेर मात्र उनीहरुको उद्देश्य पूर्ति हुन सक्दछ । साम्यवादी क्रान्तिको डरले शासकवर्गहरु थर्कमान होउन् । सर्वहारावर्गले यसमा आफ्ना हथकडीसिवाय अरु केही गुमाउनु पर्दैन । बरु समस्त संसार नै उनीहरुले प्राप्त गर्न सक्दछन् ।”

२४ गतेको सन्दर्भ उल्लेख गर्दा घटनाक्रमहरुलाई पनि पछ्याउनु पर्दछ । २०४६मा संसदीय व्यवस्थाको पुनस्थापना भएपछिको पहिलो चुनावमा नेपाली काँग्रेसले अत्याधिक बहुमत ल्याएको थियो । त्यसपछि बनेको सरकारको नेतृत्व गिरिजाप्रसाद कोइरालाले गरेका थिए । भुईँ न भाँडामा भएको गिरिजा सरकारले नेपाली जनतामाथि दमन गर्यो । सयौं सरकारी कर्मचारीलाई आस्थाको आधारमा निष्काशन गर्यो । टकनपुर सम्झौताको खाता तयार पार्यो । महंगी बढायो, रोड पर्मिट खोलिदिएर भारतीयहरुलाई हुल्यो र नेपाली कामदारलाई विस्थापन गर्यो । लाउडा जस्ता भ्रष्टाचारका काण्ड घटायो । यसरी राष्ट्रियता, जनतन्त्र र जनजीविका संकटपूर्ण बन्दै गएपछि तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (एकताकेन्द्र) ले २०४८ साल चैत २४ गतेका दिन शान्तिपूर्णरुपमा नेपाल बन्दको घोषणा गरेको थियो । उक्त बन्दकाक्रममा गिरिजा सरकारले भीषण दमन गर्यो । उक्त दमनमा पुलिसले हानेको गोली लागि नाबालक अनिश शाक्यलगायतकाको हत्या भएको थियो । उक्त सरकारका गृहमन्त्री शेरबहादुर देउवाले गोलीको आँखा हुँदैन भन्दै पुँजीवादीहरु कतिको जनघाती हुन्छन् र कथित प्रजातन्त्रले शोषित पीडित वर्ग, जाति ,क्षेत्र, लिङ्ग र समुदायमाथि कसरी अधिनायकत्व थोपर्छ भन्ने उदाहरण पेश गरेका थिए । संसदीय व्यवस्थाको पुनस्थापना पश्चात पहिलो पटक नेपाली जनताले संसदीय पुँजीवादी व्यवस्थाका विरुद्ध विद्रोह बोलेको दिन हो त्यो । त्यसदिनदेखि नै गिरिजा सरकारको दिनगन्ति शुरु भएको थियो भने, कुनै पनि जलप लगाएको वा नामको संसदीय व्यवस्थाले जनता र राष्ट्रको हित गर्न सक्दैन भन्ने पुष्टि गरिदिएको थियो । यसैक्रममा २०५१ साल साउनमा गिरिजाले आफ्नो पार्टीको बहुमतको सरकार विघटन गरी मध्यावधि चुनावको घोषणा गरेका थिए ।

त्यो समयदेखि २०५९ साल जेठ ८ गते जुन दिन शेरबहादुर देउवाले बहुमतको सरकार रहँदारहँदै पनि संसद विघटन गरेका थिए-सम्मका १२ वर्षमा संसदीय पुँजीवादी व्यवस्था असफल मात्र होइन कि यो राष्ट्रघाती, जनघाती व्यवस्था हो भन्ने पुष्टि भएको थियो । यहि अवधिमा नेपालका क्रान्तिकारीहरुले पूँजीवादी संसदीय व्यवस्थाको विरुद्ध सशस्त्र युद्धको तयारी र घोषणा पनि गरेका थिए । २०४८ साल चैत २४ गते शान्तिपूर्ण तरिकाले जनआन्दोलन गर्दा राज्यले बन्दूकको भाषा बोलेपछि बन्दूकका विरुद्ध बन्दूकले मात्र प्रतिवाद गर्छ भनि शिक्षा दिने चैत २४ गते हो ।

एकातिर संसदीय पुँजीवादी व्यवस्थाप्रति जनताको वितृष्णा, अर्कोतिर योजनाबद्ध शुरु गरिएको जनयुद्धले सफलता प्राप्त गर्दै गएपछि जनवादी र सामन्तवादी व्यवस्थाहरु आमनेसामने भैरहेका बेलामा संसदीय पार्टीहरुसँग भारतीय शासकहरुको योजना र निर्देशनमा राजतन्त्र विरुद्ध जानु पर्ने विकल्प मात्र रहन पुग्यो । फलस्वरुप २०६२ साल मंसीर ८ गते नयाँ दिल्लीमा संसदीय पार्टीहरु र तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) का बीचमा १२ बुँदे समझदारी भयो । सडकमा रगताम्मै चिल्लो तालु लिएर रत्नपार्कमा नारा लगाउँदा पनि गिजिराहरुको जुलुसमा १२ बुँदे पछि जनताको सागर ओर्लिन थालेको थियो । त्यहीक्रममा तत्कालिन नेकपा (माओवादी) ले सहर र सडक जनमुक्ति सेनालाई कब्जा गर्ने निर्देशन २०६२ साल चैत २४ गतेका दिन गरेको थियो । त्यसपछि नेपालको राजनैतिक आन्दोलनमा विचित्रको दृश्यहरु देखा पर्न थाले । दिनभरी नेपालका मुख्य शहर र सडकहरुमा लाखौंलाख जनताले कब्जा गर्न थाले । सरकारी कार्यालयहरुमा राखिएका बोर्डहरुबाट श्री ५ को सरकार मेटाएर नेपाल सरकार लेख्न थाले । उनीहरुलाई सुरक्षा जनमुक्ति सेनाले दिन थाल्यो । साथै सामन्ती राजतन्त्रका सुरक्षा निकायका अखडाहरुमाथिको जनमुक्ति सेनाको हमलालाई तीब्र पारिएको थियो । जीवनभर शान्तिपूर्ण आन्दोलनको माला जपेर जनतालाई लुट्न पल्किएका संसदवादीहरु सशस्त्र शक्तिमाथि निर्भर हुन पुगेका थिए । त्यसैले २०६२ सालको चैत २४ गतेले अर्को उचाईको इतिहास रचेको थियो ।

यसरी इतिहासलाई नियाल्ने हो भने प्रत्येक चैत २४ गतेले नयाँ इतिहास रचेको छ । उसले नेपाली जनता र राष्ट्रका पक्षमा विद्रोह बोलेको छ । नेपाली समाजलाई अग्रगमनतिर डोर्याएको छ । तर पनि अहिलेसम्मका सबै चैत २४ गतेहरु धोखाधडीमा परेका छन् । उनीहरुले जनताको पूर्ण मुक्तिको विगुल फुक्न सकेका छैनन् । हुन त यसको दोष २४ गतेलाई जाँदैन । दोष २४ गतेलाई सही विचार र योजना दिन नसक्ने, इतिहासको आवश्यकतालाई बोध नगर्ने, अन्तिम विजयका समयमा नेतृत्वले गर्नुपर्ने सम्भावित त्याग र वलिदानको कोटा चुकाउन हिक्मत नगर्नेहरुको हो ।

यो चैत २४ मनाइ रहँदा मलाई लागेको कुरा के हो भने, अहिले नयाँ कलेबरमा संसदीय पुँजीवादले सास फेरिराखेको छ । व्यावहारतः यो मुर्छित अवस्थामा छ । नयाँ र पुराना संसदवादीहरुले यसलाई ज्युँदोजाग्दो देखिराखेका छन् । उनीहरुले कृत्रिम स्वास भरिराखेका छन् । तर चिकित्सा विज्ञानको भाषामा कोमामा छ, अर्थात मेडिकली डेथ छ । त्यसैले अहिलेका सच्चा क्रान्तिकारीहरुले यो यथार्थलाई गहिरो गरी मनन् गर्न जरुरी छ ।

वैज्ञानिक हिक्स पिटरका अनुसार पदार्थको अस्तित्वमा जसरी ब्रह्माण्डमा हुने कुनै पनि साना वा ठूला घटनाले भीमकायदेखि सुक्ष्म बस्तुसम्मलाई प्रभाव पार्दछ, ठीक त्यसैगरी नेपाल वा विश्वमा घटेका कुनै पनि राजनैतिक, सामाजिक परिघटनाले राजनैतिक जीवलाई प्रभाव पार्दछ । यहाँ उल्लेख गर्न खोजिएको कुरा के मात्र हो भने दिनप्रतिदिन घटिरहेका घटनाहरुले नेपालको राजनीतिलाई जटिल बनाइराखेको छ । आफूलाई समाजवादी भन्नेहरुले जनतामा भ्रमहरु छरेका छन् । लोकतान्त्रिक समाजवादी, जबज समाजवादी, एककाइसौंको जनवादको विकास गरेका समाजवादी, सामन्तवादी समाजवादीहरुले यही व्यवस्था ठीक छ मान्छे मात्र राम्रो भए हुन्छ भन्ने कुतर्क गरिराखेका छन् । केपी ओलीका पछिल्ला कदमहरुलाई लिएर उनीहरुले ‘लोकतन्त्र धराप’मा परेको भनेका छन् । उनीहरु केपी ओलीको कदमबाट भन्दा पनि क्रान्तिकारी एकताबद्ध भएर वैज्ञानिक समाजवादकालागि आन्दोलन गर्छन कि भन्नेमा सचेत छन् । त्यसैले सबैखाले पुँजीवादीहरुले अहिले एउटै स्वरले चिच्याएका छन् ।

वास्तवमा चैत २४ हरुको सन्देश भनेको नेपालका सबै क्रान्तिकारीहरु एक भएर माक्र्स-एंगेल्स ले कम्युनिस्ट घोषणा पत्रको अन्तिम हरफमा-“कम्युनिस्टहरु आफ्ना दृष्टिकोण र उद्देश्यहरुलाई लुकाउनु घृणास्पद कार्य ठान्दछन् । उनीहरु खुल्लमखुल्ला के घोषणा गर्दछन् भने सम्पूर्ण वर्तमान सामाजिक व्यवस्थालाई बलपूर्वक भताभुङ्ग गरेर मात्र उनीहरुको उद्देश्य पूर्ति हुन सक्दछ । साम्यवादी क्रान्तिको डरले शासकवर्गहरु थर्कमान होउन् । सर्वहारावर्गले यसमा आफ्ना हथकडीसिवाय अरु केही गुमाउनु पर्दैन । बरु समस्त संसार नै उनीहरुले प्राप्त गर्न सक्दछन् ।” लेखिए जस्तै स्पष्ट, दृढ र भरोसामन्द हुनु पर्दछ । नेपाली समाजले अर्को तर नयाँ उचाइको चैत २४ को प्रतिक्षा गरिराखेको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :