धानमा रोग लागेपछि किसान चिन्तित

काठमाडौं / साउन १४ : भर्खरै रोपेको धानमा विभिन्न रोग देखिन थालेपछि बागलुङको गलकोट क्षेत्रका किसान चिन्तित भएका छन् ।
धान रोपेर झार गोड्ने समय हुनै लाग्दा धानको फेद कुहिने, पातमा धब्बा बस्नेलगायतका समस्या देखिन थालेपछि किसान चिन्तित भएका हुन् । अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित भएका थिए । उत्पादन बढ्नेमा ढुक्क भएका किसान एकाएक रोग देखिन थालेपछि अहिले निराश भएका छन् ।

‘समयमै वर्षात भएका कारण यसवर्ष समयमै रोपाइँ गरेर उम्किएका थियौँ’ स्थानीय किसान रमा न्यौपानेले भन्नुभयो, ‘यस वर्ष त धान उत्पादन पनि बढ्ने भो भनेर निकै आशावादी भएका थियौं ।’ त्यस क्षेत्रमा गतवर्ष पनि धानमा विभिन्न रोग देखा परेको थियो ।
‘भर्खर रोपाइँ गरेर सकेका थियौं’ न्यौपानेले भन्नुभयो, ‘रोपाइँ सकेको केही हप्ता पनि बित्न नपाउँदै धानमा रोग, कीरा लागेर सखाप पार्न आटिसेको छ ।’

रोगलाई समयमै नियन्त्रणमा लिन सके उत्पादनमा त्यति ठूलो गिरावट नआउने कृषि सेवा केन्द्रका प्रमुख डिएन दाहालले बताउनुभयो । ‘समयमै रोगको पहिचान भएको छ, जसकारण रोग नियन्त्रणमा लिन निकै सजिलो छ’ दाहालले भन्नुभयोे, ‘रोग नियन्त्रणका लागि सेवा केन्द्र लागिपरेको छ ।’ रोग लगेको क्षेत्रमा साफ तथा बेबिस्टिन नामक विषादीको प्रयोग गर्न किसानलाई सुझाव दिनुभएको छ ।

प्रकोपग्रस्त क्षेत्रको धान उत्पादनमा १० देखि १५ प्रतिशतको बिचमा गिरावट आउनसक्ने उहाँको भनाइ छ । उक्त रोगको प्रकोष माटो, हावा तथा पानीको माध्यमबाट सर्नेगर्दछ । गलकाट क्षेत्रमा विगत वर्षदेखिनै यस प्रकारका समस्या देखा परेको सेवा केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :