क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौँ : विषम

क्रान्तिमा धोका भए फाँसी चढ्न तयार छौँ : विषम

काठमाडौँ : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य सन्तोष बुढा मगर ‘विषम’ ले अहिले आफुहरुले नेतृत्व गरेको क्रान्तिमा धोका भए फाँसी चढ्न तयार भएको उद्घोष गरेका छन्। जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपाल र राज्यद्वारा बेपत्ता योद्धा परिवार समाज नेपाल, केन्द्रीय समितिद्वारा दाङको घोराहीमा आयोजित संयुक्त अन्तरक्रिया कार्यक्रममा उनले बताएका हुन् ।

अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेता विषमले प्रचण्ड बाबुरामले क्रान्तिलाई बेचेर खाएको भन्दै आफुहरु इमानदारीताका साथ क्रान्तिमा अघि बढेको बताए। नेपाली क्रान्तिको नयाँ मोडेल प्रक्षेपण गरेको बताउँदै उनले नेपाली जनताले शासन सत्ता फेरिएको महसुस गर्न नपाएको उद्घोष गरे । उनले सहिद बेपत्ता परिवारको समस्या राज्यसत्ताबाटै हल हुने प्रयास गर्ने यदि समस्याको हल नभए राज्यसत्ता परिवर्तन गर्न सबै एकताबद्ध हुनुपर्नेमा जोड दिए। उनले भने, ‘अहिलेको वार्ता आत्मसमर्पण वा केपीसँग मिल्न गएको होइन, हामी थाकेका पनि छैनौँ र गलेका पनि छैनौ ।’

प्रमुख अतिथि विषमले अहिले सत्तामा देखिएको संकट केपी-प्रचण्डको असफलता नभएर विश्वमा असफलसिद्ध संसदीय व्यवस्थाको असफलता भएको जिकिर गरे । उनले यही सत्तामा अनेकौँ अवसरहरु आएको तर आफुहरु पद, प्रतिष्ठा र पैसाका लागि बिक्री नभएकाे अब एकपटक इमानदारीताका साथ एकीकृत जनक्रान्ति सम्पन्न गरि वैज्ञानिक समाजवादको सुनौलो बिहानी ल्याएरै छोड्ने उद्घोष समेत गरे ।

कार्यक्रममा आधारपत्र प्रस्तुत गर्दै जनक्रान्तिका महान् सहिद परिवार संगठन नेपालका केन्द्रीय अध्यक्ष साबित्रा दुरा ‘आस्था’ ले सहिद परिवार बेपत्ता योद्धाहरुप्रति राज्य जिम्मेवार नभएको बताइन् । उनले सहिद परिवार बेपत्ता परिवारप्रति राज्य जिम्मेवार नभए नेपालमा अर्को आन्दोलनको आधिबेहरी सृजना गर्ने उद्घोष गरिन् ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा राप्ती ब्युरो इन्चार्ज केशबहादुर बाठामगर ‘सुवास’ ले महान् जनयुद्धको इतिहासलाई मर्न नदिने बताए । उनले भने, ‘जे जति उपलब्धि भए त्यसको रक्षा गर्दै बाँकी क्रान्तिका कार्यभार पूरा गर्ने महान् अभियानमा छौँ ।’

बेपत्ता योद्धा परिवार समाज नेपालका केन्द्रीय अध्यक्ष रामबहादुर थापा ‘सुन्दर’ को अध्यक्षतामा भएको कार्यक्रममा जनक्रान्तिका सहिद परिवार संगठन नेपालका पूर्व केन्द्रीय सदस्य असिना, सहिद परिवार संगठन नेपाल विशेष कमिटी सदस्य सुन्दर वली, नेपाली कांग्रेस जिल्ला पार्टी सचिवालय सदस्य टेकबहादुर वली, नेकपा माओवादी केन्द्र ५ नं. प्रदेश सचिवालय सदस्य नुमाकान्त न्यौपाने, राप्रपा केन्द्रीय कार्यसम्पादन सदस्य मिना स्वर्णकार, नेकपा मालेका जिल्ला सचिव नेत्र पाण्डे, नागरिक समाज दाङका अध्यक्ष केबी मसाल, नेपाल पत्रकार महासंघ दाङ सचिव भुपेन्द्र वली, जनजागरण नेपालका केन्द्रीय सदस्य मंगल चौधरी, युगबोध पत्रिकाका सदस्य गोबिन्द खड्का, जनपत्रकार संगठन नेपाल दाङका संयोजक हेमन्त प्रकाश वली, बार एशोसियसनका प्रतिनिधि तथा अधिवक्ता ओम भक्त डांगी, मानवअधिकार सञ्जालका संयोजक केशव शर्मा, नेकपा (क्रान्तिकारी माओवादी) दाङ जिल्ला इन्चार्ज एवम् केन्द्रीय सदस्य समीर केसी थिए भने महान् जनयुद्धका घाइते योद्धा असलले आफ्नो मन्तव्य राखेका थिए।

रैबहादुर बस्नेत ‘घर्ती’ को स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण जनक्रान्तिका सहिद परिवार संगठन नेपालका केन्द्रीय अध्यक्ष खुमा सुवेदीले गरेकी थिइन् । कार्यक्रममा रैबहादुर बस्नेत ‘घर्ती’ को संयोजकत्वमा ९ सदस्यीय जनक्रान्तिका सहिद परिवार संगठन नेपाल राप्ती ब्युरो समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :