देशभरी सुकुमबासी बस्ती उठाउने षड्यन्त्र / बर्दियामा तनाव

काठमाडौं / साउन १४ : बर्दियाको मधुवन नपा–५, रत्नबजारमा बसोबास गरिरहेका सुकुमबासी बस्ती उठाउने षड्यन्त्र भएको छ । स्थानीय निर्वाचनमा आएको परिणामका आधारमा माओवादी केन्द्र र काँग्रे भित्र अन्तरविरोध खडा गरी उक्त षड्यन्त्र भएको पाइएको छ । स्थानीय निर्वाचनमा मधुवन नपामा माओवादी केन्द्रका कृष्ण केसीका नामले चिनिने गणेश बहादुर क्षेत्रीले मेयर जितेका छन् भने उपमेयर पनि माओवादी केन्द्रले नै जितेको छ । तर वडा नं. ५ मा प्यानलनै काँग्रेसले जितेको छ । त्यही विषयलाई लिएर उक्त स्थानमा अन्तरविरोध खडा गरी त्यहाँको टाँगिया बस्ती (सुकुम्बासी बस्ती) उठाउने षड्यन्त्र भएको स्रोतले बताएको छ । उक्त सुकुम्बासी बस्तीमा साना ठूला गरी लगभग २०/२५ वटा पसलसमेत रहेका छन् ।

बिहीबार विजुलीको पोल गाड्ने भन्दै बैठक बोलाई उक्त स्थानमा बसोबास गरिरहेका सुकुम्वासी जनताहरुलाई थाहै नदिई १७ नं. रत्नबजारको ५ नं. वडाको बस्ती उठाउने र उक्त स्थानमा नपाकोे वडा कार्यालय बनाउने भन्ने निर्णय गरिएको रहेछ । माओवादी केन्द्रका मेयरले नै उक्त बस्ती उठाउन ३५ दिने अल्टिमेटम जारी गर्दै चिट्ठी काटेको जनाइएको छ । सोही सूचनाको आधारमा नेकपाका बर्दिया इन्चार्ज देवकला अधिकारी, राष्ट्रिय जनस्वयंसेवकका भेरी व्यूरो संयोजक नविन रानासहित पार्टीका प्रतिनिधिहरु उक्त स्थानमा गई बस्तीका जनतासहित टिकाराम थारुको नेतृत्वमा शुक्रबार नपामा ज्ञापन पत्र बुझाइएको छ ।

‘काँग्रेस र माकेको अन्तरविरोध खडा गरी नाटकीय ढंगले उक्त बस्तीका बासिन्दालाई विस्थापित गर्ने जुन निर्णय गरिएको छ, त्यो घोर अमानवीय साथै दलाल संसदीय सत्ताको नाङ्गो चरित्र चरितार्थ भएको छ । यसका विरुद्ध सबै जनता प्रतिकारमा उत्रनुपर्ने बेला आएको छ । दलालहरुले आफ्नो स्वार्थ पुरा गर्न निहत्था जनताप्रति गरेको यस्तो खालको व्यवहार किमार्थ मान्य हुने छैन’ ज्ञापनपत्रमा भनिएको छ । उक्त निर्णय तुरुन्त खारेज गरियोस् नत्र कडा भन्दा कडा प्रतिवादमा उत्रिने चेतावनीसहित ज्ञापन पत्र बुझाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :