एकीकृत जनक्रान्ति र अगामी कार्यभार

nayan
इन्द्रबहादुर परियार “नयन”

नेपाली कम्युनिस्ट आन्दोलनको आरोहअवरोहको विकास क्रममा २०५२ सालमा जब नेकपा (माओवादी) को आगमन भयो र सचेत तथा योजनाबद्ध तरिकाले महान् जनयुद्धको शङ्खघोष भयो त्यो जनयुद्ध लखन थापा, भीमदत्त पन्त, कामी बूढा र झापाली समूहले चलाएको सशस्त्र क्रान्तिको निरन्तरता र उत्कर्ष थियो । सामन्ती राजतन्त्र र संसदीय व्यवस्थाले जर्जर बनेको अर्धसामन्ती र अर्धऔपनिवेशिक राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक, भौगोलिक विशेषता रहेको परिवेशमा दीर्घकालीन जनयुद्धको कार्यदिशा वस्तुवादी र वैज्ञानिक थियो ।

जसको कारण सामन्ती राजतन्त्र र संसदीय व्यवस्था ८० प्रतिशत ग्रामीण क्षेत्रबाट बढारिन पुग्यो । ती भेगहरूमा नयाँ जनवादी सत्ताअन्तर्गतका अङ्गप्रत्यङ्ग जनसरकार, जनअदालत, जनकम्युन, जनशिक्षा, जनप्रशासन, जनमिलिसिया आदि सञ्चालनमा थिए । जनराज्यको मेरुदण्डका रूपमा बलियो जनमुक्ति सेनाका डिभिजनहरू खडा भएका थिए । राजतन्त्रको अन्त्यसम्म आउँदा दीर्घकालीन जनयुद्धको कार्यदिशा एउटा अचुक अस्त्र बन्यो । 

जब माओवादी १२ बुँदे सहमति हुँदै बृहत् शान्ति सम्झौतामार्फत संसद्वादीहरूसँग सहकार्य गर्न आइपुग्यो संविधानसभा, लोकतान्त्रिक गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षताको मुद्दा अङ्गकार ग¥यो तब माओवादीभित्रको महाविवाद (पेचिलो अन्तसङ्घर्ष) पार्टीबाहिर पोखिन थाल्यो । झन् नेतृत्वले जनयुद्धका उपलब्धि एकपछि अर्को परित्याग गर्दै जनसेनासमेत विघटन गरेपछि माओवादी विभाजन हुन पुग्यो । यो अवस्था भनेको मियो भाँचिएपछिको अवस्था हो । अहिले माओवादी धारा विभिन्न रूप र रङमा देख्न सकिन्छ । बाबुराम भट्टराइको नयाँ शक्ति मालेमावादी विज्ञानलाई पूर्ण रूपमा परित्याग गरी विर्सजनवादमा पतन भएको छ । पुष्पकमल दाहालको माओवादी केन्द्र (माके) मालेमावादको खोल ओढ्दै दलाल संसद्वादको पुच्छर बनी आत्मसमर्पणमा लिप्त भएको छ । विचरा मोहन वैद्यको पार्टीको नाम क्रान्तिकारी माओवादी राखे पनि न दलाल संसद्वाद, न त वैज्ञानिक समाजवादको अवस्थामा छ । कमरेड विप्लवले नेतृत्व गरेको नेकपा (माओवादी) अपूरो र अधुरो रहेको माओवादी आन्दोलन तथा नयाँ जनवादी क्रान्ति पूरा गर्न नयाँ शिराबाट उठ्दैछ ।

यही बामेसराइका क्रममा हामी राष्ट्रियताका पक्षमा एकीकृत जनअभियान, एकीकृत जनक्रान्तिका लागि सुदृढ जनसङ्गठन मूल नारा लिएर केही महिनापहिले किसानको खेत, मजदुरको उद्योग, शिक्षक, विद्यार्थीको कलेज, युवाको खेल, जनताको घर, के गाउँ के सहर सबै ठाउँ पुगेका थियौँ । ती ठाउँ र गाउँ हाम्रा लागि नयाँ थिएनन् । महान् जनयुद्धको अवधिमा पुगेको, बसेको, खेलेको, स्वाभिमानी श्रमिक जनतासँग हातेमालो गर्दै लुकामारी गरेका लालबस्तीहरूमा पुगेका थियौँ । त्यहाँ पुग्दा र भेट्दाको अनुभूति जनताका लागि हामी र हाम्रा लागि जनता बिरानो भएछांँ । यस्तो मान्नु र ठान्नु स्वाभाविक नै थियो ।

ती निमुखा जनतासँग १०÷१२ वर्षपछिको शान्तिको भ्रान्तिलाई छिचोल्दै भेट गर्दैछौँ । १२ वर्षमा खोला फर्कन्छ भने जस्तै हामी माओवादीहरू पनि ढिलै भए पनि एकीकृत जनक्रान्तिको कोसेली लिएर पुनः क्रान्तिकारी जनतामाझ आएका छौँ । हामी फेरि व्यक्तिगत मामला र स्वार्थलाई बन्धकी राखेर जनतातिरै फर्किएका छौँ । ननासिएका, नमासिएका र नबिग्रिएका हामी माओवादी लालबस्ती सम्झी पुनः आएका छौँ । यो गाउँ, समाज र देश दलाल पुँजीवादी वर्गबाट मुक्त नगरेसम्म नफर्कने गरी आयौँ भनिरहँदा जनतामा हर्षाश्रु पैदा भएको थियो । आँसु १०÷१२ वर्षको विछोडको पीडा थियो भने हाँसो १०÷१२ वर्षपछिको मिलनको खुसी थियो ।

चुनावी आँखाबाट हेर्दा चुनावमा भाग लिने बेलामा फुट्नु कमजोर हुनु नै हो । तर माओवादी कथित दोस्रो संविधानसभाको निर्वाचनअघि फुट्यो । मानिसहरूले, शुभचिन्तक तथा समर्थकहरूले फुटेको मात्र देखे तर के कारणले फुटे भनेर बुझ्न चाहेनन् वा सकेनन् । किनभने कुनै पनि घटनाको कारण नभई कार्य हुँदैन । आगो नबली धुवाँ देखिँदैन । पानी नपरी भिजिँदैन भनेजस्तै माओवादी पनि नबिग्री त्यसै फुटेको होइन । फुट्नुमा ऐतिहासिक कारणहरू छन् ।
लोकतान्त्रिक गणतन्त्र र संसदीय प्रणाली, जनमुक्ति सेनाको विघटन र विसर्जन, सामन्ती तथा जमिनदारलाई जमिन फिर्ता, सुकुमबासीको उठीबास, विकृतिपूर्ण आचरण र चरित्र माओवादी विभाजनका मूल कारणहरू थिए ।

नेकपा (माओवादी) ले आफ्नो स्थापना कालदेखि नै नेपालमा सामन्ती राजतन्त्र र संसदीय व्यवस्थालाई ध्वंस गर्दै जनवादी गणतन्त्र र वैज्ञानिक समाजवाद स्थापना गर्ने भनेको थियो । त्यसअनुरूप महान् जनयुद्धको जग र बलमा भएको १९ दिने ऐतिहासिक जनआन्दोलनबाट सामन्ती राजतन्त्रको अन्त्य भइसक्यो । संसद्वादीहरूसँग १२ बुँदे सहमतिका आधारमा हाल संसदीय प्रणाली, मूल्य मान्यतासहितको लोकतान्त्रिक गणतन्त्र सञ्चालनमा छ । तर जनयुद्धकालीन र शान्तिकालीन माओवादीको घोषित नीति र लक्ष्य यसलाई मान्ने थिएन । तैपनि सामन्ती राजतन्त्र अन्त्य गर्न दलाल संसद्वादीहरूलाई नजिक्याउनुपर्ने भएर सच्चा कम्युनिस्टको नारा लोकतान्त्रिक गणतन्त्र र संसदीय व्यवस्था नहुँदानहँुदै पनि संसद्वादी पुँजीवादीहरूको मुद्दा नेकपा (माओवादी) ले उठाइदिनुप¥यो ।

members_of_the_comunist_party_of_china
त्यस क्रममा यो विषयलाई लिएर नेकपा (माआवादी) भित्र धेरै पेचिलो बहस भएको थियो । लोकतान्त्रिक गणतन्त्रको मुद्दा कार्यनीति हो वा रणनीति ? यसको स्थापनापछि हामी जनवादी गणतन्त्रतिर अघि बढ्छौँ वा यसैमा रहिरहन्छौँ ? भनेर गहन छलफल भएकै थियो । त्यस क्रममा तत्कालीन नेतृत्वले संसद्वादी पार्टीहरूसँग सहमतिपत्रमा जे लेखिए पनि हामी जनवादी व्यवस्थातिर नै अगाडि बढ्ने हो । यो लोकतान्त्रिक गणतन्त्रको मुद्दा राजतन्त्र अन्त्य नहुँदासम्मका लागि हो भनेको थियो ।

लोकतान्त्रिक गणतन्त्र स्थापनापछि संसद्वादी पार्टीहरू यसैलाई टिकाउन चाहन्छन् । यसैमा रमाउन चाहन्छन् । यो यथास्थितिवादी संसद्वादीहरूको विशेषता र चरित्र नै हो । तर हामी माओवादी अग्रगामी र क्रान्तिकारी हुनुको नाताले जनवादी गणतन्त्रको दिशामा अघि बढ्ने हो भनेकै कारण एकमतका साथ पार्टीले २०६४ साल चैत २८ गते ऐतिहासिक संविधानसभाको निर्वाचनमा भाग लिएको हो । उक्त निर्वाचनमा माओवादी पार्टीले संसद्वादी भएर होइन, संसद्वादीको विकल्प बनेर भाग लिएको हो । त्यसकारण माओवादीले अत्यधिक मत पाएको थियो । तर विडम्बना ! नेतृत्वमा रहेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुरामले सिङ्गो माओवादी आन्दोलन र शक्तिलाई दलाल संसदीय व्यवस्थामा पतन गराउने षड्यन्त्र गरेपछि क्रान्तिकारी माओवादी नेता र कार्यकर्ताहरूले सङ्गठित रूपमा विद्रोह गरी पार्टीलाई पुनर्सङ्गठित गर्नुपरेको हो ।

यो कार्य दुई चरणमा पूरा भएको छ ः पहिलो मोहन वैद्यको नेतृत्वमा नेकपा–माओवादी गठन गरेर र दोस्रो विप्लवको नेतृत्वमा नेकपा (माओवादी) बनाएर । अब यस पार्टीलाई वर्गसङ्घर्ष अर्थात् व्यवहारबाट खार्न जरुरी छ । तसर्थ यो विभाजन वा फुट होइन । केवल माओवादी आन्दोलनलाई बचाउने प्रयास हो ।
बुझ्नेहरूले यसलाई फुट वा विभाजन जे भनेर बुझे पनि माओवादी क्रान्तिकारी धारालाई अगाडि बढाउन चालिएको साहसिक कदम भएकाले यसलाई सही मान्नैपर्छ । यो तरिका माओवादी आन्दोलनलाई तुहाउने र विर्सजित गराउने, श्रमजीवि जनता र देशभक्त नागरिकहरूलाई धोका दिने र अपमान गर्ने, दलाल संसदीय व्यवस्थाको गुलामी गर्ने कथित माओवादीहरूलाई कमजोर बनाउने र क्रान्तिकारी एवम् आम श्रमजीवी तथा देशभक्त शक्तिहरूलाई बलियो बनाउने कदम हो ।

नेपाली जनता, नेपाल राष्ट्र र माओवादीको विरोधी पक्ष संसदीय व्यवस्था, त्यसको हिमायती काङ्ग्रेस, एमाले भनेका संसदीय राजनीतिक फोहोरी खेलका बाघ नै हुन् भने माओवादी पनि जनयुद्धका क्रममा बाघ बनेको थियो । तर विडम्बना ! प्रचण्ड र बाबुरामले महान् जनयुद्ध परित्याग गरेर संसदीय व्यवस्थामा जब डुबुल्की मार्न आए बिचरा ती बिरालामा परिणत भए । उनीहरूको यो हविगत क्रान्तिकारीहरूले पार्टी विभाजन गरेर भएको होइन, माओवादी मूल्यमान्यता, आदर्श, महान् सहिद तथा बेपत्ता योद्धाहरूको सपनालाई लत्याएर आपैmँले “संसदीय व्यवस्था खसीको टाउको झुन्ड्याएर कुकुरको मासु व्यापार गर्ने थलो हो” भनेको प्रतिक्रियावादी व्यवस्थामै त्वम् शरणम् गर्न पुगेपछि संसद्वादी काङ्ग्रेस, एमालेहरू हावी भएका हुन् । इतिहासका यी सबै सकारात्मक र नकारात्मक अनुभवहरुबाट पाठ सिक्दै एकीकृत जनक्रान्तिको माध्यमबाट नेपालमा क्रान्तिको बाँकी कार्यभार पूरा गर्न नेकपा (माओवादी) अग्रसर र प्रतिबद्ध छ ।

प्रतिक्रिया दिनुहोस्

हाम्रो संवाददाताबारे :